०२ असार २०८३, मंगलबार

उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारीपत्रमा हस्ताक्षर

असार १, २०८३
काठमाडौं
उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारीपत्रमा हस्ताक्षर

मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन् । 

वायुसेवा सञ्चालक संघ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो । यस्तै, एरोनटिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

सहमतिअनुसार उड्डयन क्षेत्रको मानव स्रोत विकास, नेतृत्व प्रवर्द्धन, सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ । 

साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेसाकर्मीको क्षमता विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनमा सहकार्य हुने समझदारीपत्रसम्बन्धी सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

उड्डयन क्षेत्रमा ‘सेफ्टी कल्चर’ को विकास, डिजिटलाइजेसन, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्तालगायत उदियमान प्रविधिको प्रयोग विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञान र अनुभव साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ । 

त्यस्तै, उड्डयन क्षेत्रसँग सम्बन्धित सेमिनार, सम्मेलन र कार्यशालाको आयोजना गर्ने विषय सम्झौतामा समेटिएको वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजङ्ग पाण्डेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्