
बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो ।
गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।
माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात भएको थियो ।
सुधारको लय समातेको निर्यात पनि बढ्न सकेको छैन । गत वर्ष माघसम्म ९३ अर्ब ४३ करोड रुपियाँको वस्तु निर्यात भएकोमा यस वर्ष माघसम्म ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपियाँको मात्र निर्यात भएको देखिन्छ । गोरखापत्रमा खबर छ ।