०३ असार २०८३, बुधबार

अमेरिकाको १४ सहरमा सन्दीपदेखि भरतमणिसम्मले हँसाए

फागुन १५, २०८०
काठमाडौं
अमेरिकाको १४ सहरमा सन्दीपदेखि भरतमणिसम्मले हँसाए

फ्लाइ नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा सम्पन्न कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् । 

विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा भव्य प्रस्तुति दिएका थिए । 

उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्यूयोर्कमा प्रस्तुति दिएका थिए । यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा वाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा आफ्नो धमाकेदार प्रस्तुति दिएका हुन् । 

हिउँका कारण प्राय: आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा सम्पन्न कार्यक्रममा अमेरिकन सरकारको तर्फबाट सम्मान समेत प्राप्त गरेको संयोजक अधिकारीले जानकारी दिए । उनका अनुसार जनवरी २० न्यूयोर्क, फेब्रुअरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान गरिएको थियो । ‘अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हँसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रुपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवतः यो नै पहिलो हो’, संयोजक अधिकारीले भने ।

उनले नेपालमा सोचे जस्तै अमेरिकामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिँदै चुनौतीका रुपमा स्वीकार गरेको कार्यक्रम अवसरमा बद्लिन सफल भएकोमा हर्ष विभोर रहेको बताए । 

कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रमले परदेशलाई घरदेशसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले पूरा गरेको छ ।’ 

उनले आउँदो समयमा फ्लाइ नेपामार्फत यस्तै मनोरञ्जनात्मक कार्यक्रम गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्