
‘दिनपछि रात’ बोलको सन्देशमूलक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुभाष केसीको स्वर रहेको गीतको करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरूलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ । उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडियोले दिन खोजेको छ ।
गायक केसीले अहिलेका युवाहरूलाई लक्षित गरेर भिडियो तयार पारेको बताए । ‘समस्या आइपर्दा कहिलेकाँही हामी के गर्ने के गर्ने छुट्याउन सक्दैनौँ । अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौँ । यो समस्या विशेषतः युवाहरूमा बढी देखिने गर्दछ । उनीहरुलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ । त्यसैले अहिलेका युवाहरूलाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो’ केसीले भने ।
मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको उनले बताए ।
सार्वजनिक गीतको भिडियोमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी लगायतले अभिनय गरेका छन् ।
गीतमा शब्द गणेश सुवेदीको हो । सन्दीप कार्कीको संगीत तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोलाई महेश केसीले निर्देशन एवं सम्पादन गरेका हुन् । विजेश महर्जन भिडियोका छायांकार हुन् ।
भिडियो सुभाष केसीको युटयुब च्यानल ‘इम्पेरिओ एजुकेसन’मार्फत सार्वजनिक भएको छ । उनले दुई वर्ष अगाडि ‘चम चम’ बोलको गीत निकालेका थिए ।