
नवल खड्काको फिल्म ‘काँडेतार’को राजधानीमा प्रिमियर गरिएको छ ।
मंगलबार बेलुकी गरिएको प्रिमियरमा नेतादेखि फिल्मकर्मीले राष्ट्रिय भावनामा आधारित फिल्म हेरेका छन् ।
प्रिमियरमा फिल्म हेरेपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’
नवल खड्काको निर्देशनमा तयार फिल्मले नेपालको सीमा स्तम्भमाथि भारतले गर्ने खेलबाडको कथालाई पेस गर्छ ।
नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।
निर्देशक तथा अभिनेता नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए ।
फिल्ममा नवलका साथमा गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलिधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा लगायतको अभिनय छ ।
सामना फिल्मस प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणी थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् ।
फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मलाई बन्दे प्रसाद र तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
