
नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि सस्तो दरमा 'डाटा रोमिङ सेवा' सञ्चालनमा ल्याएको छ ।
विभिन्न मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार सस्तो दर रेटमा सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार उक्त महसुल दरमा भारी कटौती भएकोले थप सस्तो दर रेटमा सेवा सञ्चालन गरिएको हो ।
यस अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरूले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आबद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा प्राप्त गर्नेछन् ।
जस अनुसार टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विट्जरल्यान्ड, यूएई, युके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।
रोमिङ सेवा र यसको महसुल दर बारेमा थप जानकारीका लागि https://www.ntc.net.np/services/international-roaming मा हेर्न सकिने कम्पनीले जनाएको छ ।
डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्नुपर्ने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
उनका अनुसार पोस्टपेड तथा प्रिपेड ग्राहकहरूले नेपालमै रहँदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरूले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।
परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरूका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने कम्पनीको विश्वास छ ।