१२ साउन २०८३, मंगलबार
स्वरोजगारबाटै सफलता

वैदेशिक रोजगारीबाट फर्किएका ईश्वरी गँड्यौला पालेरै सफलः वार्षिक १० लाख आम्दानी

फागुन २६, २०८०
बुटवल
वैदेशिक रोजगारीबाट फर्किएका ईश्वरी गँड्यौला पालेरै सफलः वार्षिक १० लाख आम्दानी

रुपन्देहीका ईश्वरी भण्डारी रोजगारी खोज्दै झण्डै डेढ दशक भारतदेखि खाडी मुलुकसम्म गए । आफ्नो उर्जावान समय त्यहीँ बिताए । जति दुःख गरेपनि राम्रो कमाइ नभएपछि देशमै केही गर्ने सोचले सात वर्षअघि स्वदेश फर्किए । तिलोत्तमा–२ का ईश्वरीले स्वदेश फर्किपछि खुद्रा किराना व्यवसायको सप्लायर्स शुरू गरे । त्यहीँ बेला विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी आयो । यसले उनलाई आर्थिक रुपमा उठ्नै नसक्ने गरी थला पार्यो । व्यवसायले थलिएका उनले महामारीकै बेला आफैँ कृषि उद्यम गर्नुपर्छ भन्ने सोच बनाए । गुगल सर्च गरे, युट्युमा हेरे, अध्ययन गरे, सीप सिके, तालिम लिए । 

अनि शुरू गरे गँड्यौला पालेर मल उत्पादन गर्ने कृषि उद्यम । ग्रीन जोन एग्रो फर्म स्थापना गरी उनले शुरू गरेको गँड्यौला उत्पादन र त्यसकोे मल बिक्री गर्न उनलाई अहिले भ्याइ–नभ्याइ छ । चार वर्षअघि शुरू गरेको गँड्यौला व्यवसायबाट उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । 

ईश्वरीलाई मल र गँड्यौला किन्न खोज्नेबाट दैनिक दर्जनौं ‘फोन कल’ आउँछ । उनले गँड्यौला प्रतिकेजी एक हजार र त्यसबाट उत्पादित मल प्रतिकेजी ४० रुपैयाँमा अहिले बिक्री गर्दै आइरहेका छन् । गँड्यौला खेती गर्ने देशका औलामा गरिने पात्रमध्ये पर्ने उनी अहिले आफ्नो क्षेत्रमा प्रख्यात छन् । आफू गँड्यौला पालन र बिक्रीमा रमाएको उनी बताउँछन् । अहिले ईश्वरीको सिको गर्दै धेरैले उनकोबाट गँड्यौला लगेर खेती गर्न थोलेका छन् । 

‘शुरूमा धेरैको यस प्रकारको मलप्रति खासै रुचि थिएन । यसले गर्दा माग पनि कम थियो,’ उनी भन्छन्, ‘अहिले पुर्याउन नसकेर बाहिरबाट समेत मगाएर बिक्री गर्नुपर्ने अवस्था छ । गँड्यौलाबाट उत्पादित मलमा बोटबिरुवामा चाहिने सबै तत्व पाइने हुँदा थोरै प्रयोग गर्न पनि हुन्छ ।’ 

गँड्यौलाको मल विश्वव्यापी रुपमा उपयुक्त मल मानिन्छ । नेपालका शहरहरूमा थालिएको कौशीखेती, फूलखेती र नर्सरी, साना किसानहरूलाई रुचाएको उनको भनाइ छ । ‘यसको माग अहिले दिनप्रतिदिन बढ्दो छ,’ उनले भने ।

रासायनिक मल प्रयोग गर्ने किसानहरू अहिले तरकारी खेतीका लागि नयाँ प्रयोगको रुपमा गँड्यौला मल हाल्न थालेका छन् । ‘बाटोमा हिँड्दा गँड्यौला देख्दा घिनाउने शहरी क्षेत्रका मानिस अहिले घरमै गँड्यौलाबाट तयार मल लिन हौसिएर आउँछन,’ ईश्वरीले खुसी हुँदै भने ।  

अहिले आफूले गँड्यौला प्रतिवर्ष तीन सय केजी र मल तीन हजार केजी बिक्री गर्दै आइरहेको उनी बताउँछन् । उनको फर्ममा अमेरिकन हाइब्रिड आइसोनिया फेटिका नामको गँड्यौला छन् । फेटिका जातको गँड्यौलाले राम्रो मल बनाउने बुझेपछि त्यहीँ ल्याएको उनले बताए । ‘इमेल–इन्टरनेटमा अध्ययन गरेपछि चितवन गएर त्यहाँको गँड्यौला खेती हेरेँ । त्यहीँबाट बीऊ लिएर आएँ,’ ईश्वरी भन्छन्, ‘बीऊ राम्रो परेछ । अब नेपालीहरू रासायनिक मलको प्रयोग घटाउँदै यस्ता जैविक मलप्रति आकर्षित हुनुपर्छ ।’

ईश्वरीका अनुसार कार्तिकदेखि फागुन अन्तिमको जाडो मौसम गड्यौलाले फूल पार्ने समय हो । गर्मी लागेपछि अण्डा फुटेर गँड्यौला उत्पादन हुन्छन् । उनले १५ वडा ब्याडबाट एकपटकमा एकसाथ ६–७ किलो गँड्यौलाका बच्चा उत्पादन गर्छन् । उनका अनुसार एउटा ब्याडमा सवा लाख रुपैयाँ लगानी हुन्छ । उनले फर्ममा झण्डै २० लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन् । एउटा ब्याड तयार गर्दा घामपानीले हानी नगर्ने गरी तीन फिट चौडा र १२ फिट लामो प्लास्टिक ‘टनेल’ले बनाउनुपर्छ । त्यसमा गाई–भैँसीको गोबर र झारपात राखिन्छ । त्यति गरेपछि एक ब्याडमा १२ किलो गँड्यौला छाड्ने गरेको उनले बताए । ‘गँड्यौलाले घामको प्रकाश र उज्यालो रुचाउँदैन । घाम र उज्यालोबाट बचाउन  माथिबाट जुटको बोरा वा परालले ढाक्नुपर्छ । गर्मी मौसममा दिनमा तीनपटक पानी छर्केर चिसो बनाइराख्नुपर्छ । जाडोमा तीन दिनमा एकपटक पानी राख्दा फरक पर्दैन,’ उनले भने । 

ईश्वरीका अनुसार चिसो नभएसम्म गँड्यौला भित्र पस्दैन । गोबर नखाएसम्म मल बनाउन नसक्ने उनले बताए । मात्रा मिलाएर पानी छर्किन र गड्यौलाभित्र पसे–नपसेको हेर्नुपर्ने हुन्छ ।  ‘शुरूमा नर्सरीमा मल चाहिने भएकाले सिकेँ, उनले भने, ‘पछि माग बढ्न थालेपछि उत्पादन गरेर बिक्री शुरू गरेको हुँ, अहिले त कौशीखेती गर्नेको पहिलो रोजाइमा यो मल परेको छ ।’

हात नगनाउने, फोहोर नहुने, यसमा नाइट्रोजन, फोस्फोरस, सल्फर साथै हरेक माइक्रो न्युट्रियन्ट उपलब्ध हुने भएकाले बिरुवा हुर्कन र फल्न यो मल राम्रो मानिएको ईश्वरीको भनाइ छ । उनले ७५ दिनमा तयार हुने मललाई प्याकेजिङ गरेर बिक्री गर्ने गरेका छन् । ‘बिरुवा लिन आउने हरेक ग्राहकले मल किन्छन्,’ उनी भन्छन्,  ‘गँड्यौला र त्यसबाट बन्ने मलबारे अध्ययन र अवलोकनका लागि पनि उत्तिकै आइरहन्छन् ।’ उनले गँड्यौलासँगै सयपत्री फूल र तरकारी खेती पनि शुरू गरेका छन् । गएको तिहारमा उनले आफैँले उत्पादन गरेका सयपत्री फूल सबैभन्दा बढी बिक्री गर्न सफल भएका थिए । ‘अरू वस्तु पालेजस्तो गँड्यौला पाल्न धेरै दुःख र समस्या पनि छैन । थोरै मेहेनतबाट कमाइ राम्रो गर्न सकिन्छ । धेरैभन्दा धेरै किसानलाई गँड्यौला खेतीतर्फ आकर्षित गरेको पनि छ,’ उनी थप्छन् । गँड्यौलाको प्रयोगबाट माटो खुकुलो हुनुका साथै चिस्यान पनि रहिरहने भएकाले सुख्खा ठाउँका किसानलाई व्यावसायिक खेती गर्न सघाउने पनि जानकारहरू बताउँछन् ।  

ईश्वरी मुलुकलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राख्छन् । अध्ययन, सीप र दक्षता भएका युवाहरू देशमा केही नभएको भन्दै विदेश जान हतारिएको देख्दा आफूलाई दिक्क लाग्ने गरेको उनको भनाइ छ । ‘अब देश बनाउन पढेलेखेका व्यक्ति र सीप भएका व्यक्तिले स्वदेशमै केही गरेर देखाउनुपर्छ । काम सानो ठूलो भन्ने हुँदैन । मुलुकमा उत्पादन भएको जनशक्तिले स्वदेशमै काम गर्ने वातावरण बनेमात्र मुलुक आत्मनिर्भर र समृद्ध बन्छ,’ दार्शनिक पारामा उनले भने ।

नेपाल कृषिप्रधान देशका रुपमा चिनिन्छ । तर सम्पूर्ण जग्गा जमिन बाझो बन्दै गएकोप्रति ईश्वरी चिन्ता व्यक्त गर्छन् । ‘काम गर्नेहरू  विदेशतिर भौतारिरहेका छन्, अनि कसरी बन्छ मुलुक ?’, उनी प्रश्न गर्छन् । आफ्ना उत्पादनलाई प्रयोगकर्तासम्म पुर्याउन नसक्नु नेपाली उत्पादकर्ताको कमजोरी रहेको उनी स्वीकार्छन् । यसमा सुधार गर्नुपर्नेमा उनको जोड छ । 

salt training

कमेन्ट गर्नुहोस्