
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीवारबाट राजधानीमा शुरू भएको छ । बिहीबार सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको सातौं संस्करणको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा उपस्थित सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने बताइन् । फिल्मले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिनेमा उनले जोड दिइन् । साथै, विश्वभरका फिल्म मेकरका लागि नेपाल महत्वपूर्ण स्थान रहेको बताउँदै शर्माले भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले फिल्म छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो । त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ ।’
‘नेपालको गौरवशाली इतिहास, सांस्कृतिक सम्पदाको अखण्ड विरासत, चलचित्रका लागि महत्वपूर्ण कथा वस्तु पनि हुन् ।’ नेपाल फिल्मका लागि आवश्यक कथाका हिसाबले पनि सम्पन्न रहेको जनाउँदै उनले भनिन्, ‘मानवको दुःखको कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । जहाँ अनेक कथा भेटिन्छन् ।’ नेपाली संस्कृतिको सम्वद्र्धन, संरक्षण र प्रचारका लागि फिल्मले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा मन्त्री शर्माले जोड दिइन् ।

त्यस्तै उद्घाटन कार्यक्रममा निर्देशक एवं अभिनेता नीर शाहले वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने बताए । उनले भने, ‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्य्राइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभूति हुन थालेको छ । तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्रले आफ्नो अभियानलाई सही दिशा तिर तीब्रता दिन सफलता हासिल गर्दै गएको पनि छ ।’ नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको पनि उनले बताए ।
नेपाली फिल्म क्षेत्रको उत्थानका लागि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहने शाहले जिकिर गरे । ‘निफले सातौं संस्करणसम्म आफ्नो यात्रा तय गरिसक्दा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ ।’ निफको निरन्तरताले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानका बारेमा बताउँदै उनले भने, ‘नेपाली चलचित्रकर्मले प्राप्त गरेको दुरगामी अर्थ राख्ने संस्था बनेको छ । अन्यथा छ दर्जन देशहरूबाट एकसेएक राम्रा फिल्महरू, सिनेमा क्षेत्रलाई माथि उठाउन विभिन्न कालखण्डमा योगदान पुर्याउने अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता यहाँ हुँदैन थियो ।’ साथै विदेशी फिल्मबाट प्रभावित फिल्म बनाउनुभन्दा यहिँका दन्त्यकथामा आधारित रहेर विश्व मष्तिष्कमा बस्ने गरी पाँच मिनेटको छोटो फिल्म बनाउनु सिने क्षेत्र र देशको लागि फाइदाजनक रहेको बताए ।
शाहले सरकारले निफलाई प्राथमिकतामा राख्न गरेको आग्रहलाई समर्थन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्ता कार्यक्रम नियमित गर्न निकै कठिन रहेको बताए । सरकारका तर्फबाट कलाक्षेत्रले उचित सम्मान नपाएको बताउँदै केसीले भने, ‘भन्नको लागि कला संस्कृति र कलाकारलाई देशको गहना भनिए पनि नेपाली फिल्म क्षेत्र अवहेलित छ भनेर दुःखका साथ भन्नुपर्छ ।’
बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् ।

बिहीवार उद्घाटनसँगै आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री ‘मिसन इम्पोसिबल’सँगै नेपाली फिचर फिल्म ‘डेसान’ पनि देखाइएको छ । चैत्र ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छायाँ सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्यूएफएक्स हलमा हेर्न सकिन्छ भने फिल्म सम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछन् । शुक्रवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच राष्ट्रिय सभागृहमा सिनेमा संवाद हुँदैछ ।