२९ जेठ २०८३, शुक्रबार
सरकारी स्वास्थ्य संस्थामा गोलमाल

मनमोहन कार्डियो सेन्टरमा चरम अनियमितता, नि:शुल्क औषधिबाट लाखौं झ्वाम !

चैत ४, २०८०
काठमाडौं
मनमोहन कार्डियो सेन्टरमा चरम अनियमितता, नि:शुल्क औषधिबाट लाखौं झ्वाम !

त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिनअन्तर्गत सञ्चालित मनमोहन कार्डियो-थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीमा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ ।

गत असार २३ गते सोही अस्पतालकी नर्सिङ सह–नियन्त्रक विमला न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले फार्मेसीमा काम गर्ने कर्मचारीहरूले चलखेल गरेर नि:शुल्क र कतिपय अवस्थामा स:शुल्क उपचार गराइरहेका बिरामीले फिर्ता गरेको औषधि फार्मेसीमा अनाधिकृतरूपमा दर्ता गराएर पैसा असुल्ने गरेको पत्ता लगाएको हो ।

छानबिन समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, 'नि:शुल्क कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग गर्ने फारममा नर्सले माग गरेको संख्या अनुसार फार्मेसीबाट बिलिङ हुनुपर्नेमा कतिपय माग परिणामभन्दा जारी भएको परिणाम धेरै देखिएको छ ।'

उक्त प्रतिवेदनमा नि:शुल्क कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग फारममा अन्त्यमा फिर्ता भएको औषधिको परिणाम समेत खुलाउनुपर्ने विधि सबै बिरामीको हकमा पालना नभएको पाइएको उल्लेख छ ।

null

'बिरामीलाई डाक्टरले सिफारिश गरेअनुसारको मात्रा र औषधि चलाइएको अवधिका आधारमा खपत हुनुपर्ने औषधिको परिणाम गणनासँग फार्मेसीबाट जारी भएको औषधिको परिणाम कतिपय बिरामीको हकमा बराबर देखिएको छैन,' प्रतिवेदनमा उल्लेख छ ।

बढी परिणाममा नि:शुल्क औषधि जारी गरिदिने, उपचार सकिएपछि अनावश्यक औषधि र मेडिकल किट बिरामीले फिर्ता गर्नुपर्ने र सोही फिर्ता गरिएको औषधिलाई सशुल्क उपचार गराइरहेका पुराना बिरामीहरूको बिलसँग भिडाएर रकम फिर्ता गर्ने र फिर्ता रकम कर्मचारीहरूले आफ्नो गोजीमा राख्ने गरेका हुन् ।

उक्त समितिले अघिल्लो आर्थिक वर्षको जेठ १५ गतेसम्मको बिक्री तथा औषधि फिर्ताको अभिलेख कम्प्युटर सफ्टवेयरबाट डाउनलोड गरी अध्ययन गरेको थियो ।

प्रतिवेदनअनुसार फार्मेसीका कर्मचारी कृष्ण पन्तले ५ लाख ९० हजार भन्दा बढी भ्रष्टाचार गरेका छन् । त्यहाँ नि:शुल्क उपचार गराइरहेका बिरामीहरूले फिर्ता गरेको औषधि र सामानहरूलाई सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर उनले उक्त रकम आफ्नो गोजीमा हालेका थिए ।

null

सोही प्रक्रियामार्फत जुना स्थापितले ३ लाख ७१ हजार भन्दा बढी भ्रष्टाचार गरेको प्रतिवेदनमा उल्लेख छ ।

null

राजेश शाह कानूले २ लाख १० हजार २५८ भ्रष्टाचार गरेको प्रतिवेदनमा देखिन्छ ।

त्यहाँ नि:शुल्क उपचार गराइरहेका बिरामीहरूले फिर्ता गरेको औषधि र सामानहरूलाई सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर उनले उक्त रकम आफ्नो गोजीमा हालेका थिए ।

null

null

सुवास नामको युजरनेमबाट ५५ हजार ३ सय ५७ रुपैयाँ अनाधिकृत रूपमा बिलिङ र रिफन्ड गरिएको समितिको छानबिनमा देखिएको छ ।

उनले यामबहादुर थापा, सूर्यप्रसाद पण्डित, मनिकुमार श्रेष्ठलगायतका बिरामीहरूले फिर्ता गरेको नसा फुलाउने सामान (पीटीसीए इन्फ्लेसन डिभाइस) रिफन्ड गरेर फार्मेसीबाट पैसा असुलेका थिए ।

null

त्यस्तै फार्मेसीमै काम गर्ने सन्दीप यादवले २० हजार २ सय ६४ रूपैयाँ भ्रष्टाचार गरेका छन् । उनले मुटु रोगमै प्रयोग हुने मास्टर ब्लोवर र इन्डोस्कोपिक स्टेपलरलाई अनाधिकृत रूपमा फिर्ता गरेर फार्मेसीबाट रिफन्ड लिएका थिए ।

null

उनले नि:शुल्क उपचार गराइरहेका विष्णुप्रसाद श्रेष्ठ, ज्ञानुमाया कुँवर, टीकाकुमारी श्रेष्ठ, पुष्पराज सापकोटा लगायतका बिरामीले फिर्ता गरेका उल्लेखित सामानहरूलाई सशुल्क उपचार गराएका बिरामीको पुरानो बिलसँग भिडाएर रकम हिनामिना गरेका हुन् ।

छानबिन समितिकै प्रतिवेदनमा अर्की कर्मचारी सजिना कुशीले पनि सोही प्रक्रियामार्फत ५२ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको उल्लेख छ ।

समितिले जम्मा ४६ जना बिरामीको स्याम्पल लिएको थियो । ४६ जना बिरामीले फिर्ता गरेको औषधि र सामान अनधिकृत रिफन्ड गरेर कर्मचारीहरूले १३ लाखभन्दा बढी भ्रष्टाचार गरेका हुन् ।

लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै ३ लाख ७१ हजारभन्दा बढी रकममा मुछिएकी स्थापितले आफूले भ्रष्टाचार नगरेको दाबी गरिन् ।

तर, छानबिन समितिले त तपाईंलाई दोषी देखाएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, 'त्यो कसरी दोषी देखाइयो थाहा भएन, तर मैले भ्रष्टाचार गरेर पैसा लिएकी छैन ।'

स्थापित अहिले टिचिङ अस्पतालको 'बीपी आई केयर'को फार्मेसीमा सरुवा भएकी छन् ।

दैनिक सयौं बिरामी आउने उक्त अस्पतालमा गत आर्थिक वर्षमै ८ करोडभन्दा बढी भ्रष्टाचार भएको एक कर्मचारीको दाबी छ ।

'४६ जना बिरामीबाट मात्र १३/१४ लाख भ्रष्टाचार भएको देखिन्छ,' ती कर्मचारीले भने, 'हामीले दिनमै सयौं बिरामी हेर्नुपर्छ । भ्रष्टाचारको रकम करोडौंमा देखिन्छ । अझ धेरै भ्रष्टाचार त कोभिडकालमा भएको थियो । अहिलेसम्म छानबिन भएको थिएन ।'

यति ठूलो मात्रामा भ्रष्टाचार हुँदा समेत त्यहाँको प्रशासनले कुनै कारबाही गरेको छैन । निर्देशकसम्मैको मिलेमतो रहेको अस्पताल स्रोतको दाबी छ ।

स्रोत भन्छ, 'यो मात्र होइन, अन्य धेरै भ्रष्टाचारहरू भएका छन्, तर दोषी पत्ता लगाए पनि कारबाही हुँदैन । तलदेखि माथिसम्म सेटिङ छ ।'

दोषी देखिएकालाई किन कारबाही गरिएको छैन ? भन्ने लोकान्तरको प्रश्नमा अस्पतालका कार्यकारी निर्देशक रत्नमणि गजुरेलले माथिबाट कुनै निर्देशन नआएको बताए ।

'हामीभन्दा माथिल्लो निकायले पनि छानबिन गरिरहेको छ । माथिबाट कुनै निर्देशन आएको छैन,' उनले भने ।

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले छानबिन प्रतिवेदनमा दोषी देखिएकालाई कारबाही गर्ने जिम्मेवारी सम्बन्धित निकायकै रहेको बताए ।

'दोषी देखिएपछि कारवाही गर्ने हो,' उनले लोकान्तरसँग भने, 'माथिको निर्देशन कुरिरहनु पर्दैन ।'

salt training

कमेन्ट गर्नुहोस्