०१ असार २०८३, सोमबार
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

इलाम– २ मा जनमत परीक्षण र वैशाख १५ पछिको राजनीतिक परिदृश्य

चैत २५, २०८०
काठमाडौं
इलाम– २ मा जनमत परीक्षण र वैशाख १५ पछिको राजनीतिक परिदृश्य

प्रतिनिधि सभाको रिक्त एक सीट पदपूर्तिका लागि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनलाई जनमत परीक्षणको रूपमा पनि चासो र व्यग्रताका साथ हेरिएको छ । २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनको डेढ वर्षपछि हुन गइरहेको निर्वाचनले स्वाभाविकरूपमा जनमत परीक्षण गर्नेछ । उपनिर्वाचनका लागि इलाम– २ मा ८ स्वतन्त्रसहित २० जनाले शनिबार उम्मेदवारी दिएका छन् । 

बहुपक्षीय प्रतिस्पर्धा हुने ठानिएको इलाम– २ को चुनावलाई चार कोणबाट विश्लेषण भइरहेका छन् । लामो समयदेखि चुनाव जित्दै आएका स्व. सुवास नेम्वाङको विरासत जोगाउनका लागि उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको एमालेमा चुनाव जित्ने मनोविज्ञान देखिन्छ । ‘चकलेटी उम्मेदवार’ सुहाङले उम्मेदवारी मनोनयनअगावै चुनावी अभियान थालिसकेका थिए ।

‘सुवास नेम्वाङ ब्रान्ड’ नरहेपछि अब त्यो क्षेत्र आफ्नो पकडमा आउने नेपाली कांग्रेसको विश्लेषण छ । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम– २ मा ३२ वर्षपछि कांग्रेसले जित्ने प्रक्षेपण सुनाएका थिए । यसअघिको निर्वाचनमा नेम्वाङसँग झिनो मतान्तरले पराजित भएकाले आफूप्रति मतदाताको सहानुभूति रहेको कांग्रेस उम्मेदवार डम्बर खड्काको बुझाइ छ । लामो रस्साकस्सीपछि खड्काले टिकट फुत्काउन सफल भएका थिए । 

२०७९ मंसिरको चुनावमा परम्परागत दललाई चक्मा दिएर उदाएको तथा वैशाख १० को उपनिर्वाचनमा चितवन र तनहुँमा ‘सुनामी’ ल्याएको रास्वपाले कोशी पूर्वमा गत वर्षको जस्तो जनआकर्षण ओइरिने अपेक्षा गरेको छ । रास्वपा टोलीले पटक–पटक इलाम गएर परिस्थिति मूल्यांकन गरेको थियो । आफूलाई ‘अकबरे उम्मेदवार’ भन्दै मिलन लिम्बू रास्वपाको उम्मेदवार बन्नु अघिदेखि नै फिल्डमा खटिएका थिए । इलाममा प्रख्यात रहेको अकबरे खुर्सानीको विम्ब उनले प्रयोग गरेका छन् । तीनै अकबरेलाई भित्र्याउन सभापति रवि लामिछाने दलबलसहित इलाम पुगेका थिए । 

इलामको निर्वाचनमा चर्चाका अर्का उम्मेदवार हुन्– पहिचान पक्षधर । प्रदेश १ को नाम ‘कोशी’ राख्दादेखि नै जातीय पहिचानका पक्षधरहरू आन्दोलनमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि स्व. सुवास नेम्वाङसम्मलाई पहिचान पक्षधरले कोशी प्रदेशका विभिन्न जिल्लामा आक्रमण प्रयास गरेका थिए । धरानका स्वतन्त्र मेयर हर्क साम्पाङको समेत स्वतन्त्र उम्मेवारप्रति सहानुभूति देखिएकाले पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि त्यहाँ चर्चा बटुल्ने देखिन्छ । 

यस अतिरिक्त इलाममा सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी, राप्रपादेखि सीके राउत नेतृत्वको जनमत पार्टीसम्मका उम्मेदवार छन् । केन्द्रमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले उम्मेदवार उठाएन । उम्मेदवार नउठाएका कारण माओवादीका मतदाता छरिने आशंका छ । आधिकारिक रूपमा भने माओवादीले एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

दलहरूको ‘पाइन’ नाप्ने अवसर

राष्ट्रिय राजनीतिमा तीनवटा दल इलामको चुनावको नतिजा आफ्नो पक्षमा पारेर सन्देश दिन चाहन्छन् । प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसले इलाम– २ को नतिजा आफ्नो पक्षमा पारेर अहिले पनि जनमतमा पहिलो दलको रूपमा आफ्नो प्रभाव देखाउन चाहिरहेको छ । फागुन २१ पछि प्रतिपक्षमा पुगेका कांग्रेसले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । कांग्रेसका लागि इलामको चुनाव एक्लै लड्न सक्षम छौ भनेर नेता कार्यकर्तालाई आत्मविश्वास भर्ने अवसर पनि हो । तर, पहिचान पक्षधर र नयाँ दलको चेपुवामा परेको कांग्रेसले इलाममा के एजेन्डा बोकेर परम्परागत मतदातालाई आकर्षित गर्छ त्यो अझै प्रस्ट भइसकेको छैन । 

२०८४ सालमा एक्लै बहुमत प्राप्त गरेर ‘भरपर्दो राष्ट्रिय शक्ति’ बन्ने महत्त्वाकांक्षा बोकेको नेकपा एमालेका लागि इलामको चुनाव प्रतिष्ठाको विषय बन्न पुगेको छ । आफूले जित्दै आएको सिट गुम्यो भने २०८४ सालमा बहुमत ल्याउने नारा हावादारी हुने एमालेले बुझेको छ । नेम्वाङको विरासत रहेको सो क्षेत्रमा सुहाङलाई साहनुभूतिको भोट आउने अपेक्षा एमालेको छ । पुरानो भोट जोगाएर माओवादीको भोट थप्दा सहज चुनाव जितिन्छ भन्ने एमालेको बुझाइ देखिन्छ । झरेको कपाल फेरि पलाउन थालेकाले २० वर्ष अरू कसैले आस नगरे हुन्छ भनी अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी ओलीको आत्मविश्वास बढाउन या घटाउन इलामको चुनाव एउटा परिघटना बन्ने छ । 

एकल बहुमतको सरकार बनाएर प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा बोकेका रवि लामिछानेका लागि इलामको चुनाव परीक्षणको अर्को अवसर हो । (रास्वपा नभनेर रवि किन भनिएको हो भने, रास्वपाले पार्टीको स्वरूप ग्रहण गर्दैछ । अहिलेसम्म संसद्मा रास्वपाको २१ सिट रविको व्यक्तिगत लोकप्रियता या ख्यातिका कारण हो) 

पुरानै दलसँग टाँसिएर शत्तामा आशक्ति देखाएको आरोप विगतमा उनको प्रशंसा गर्नेहरूले नै लगाउन थालेका छन् । रविमाथि सहकारी ठगीको संघीन आरोप लागिरहेको समयमा इलामको चुनावमार्फत प्रकट हुने जनताको अभिमत पनि विचारणीय पक्ष हुनेछ । सहकारी ठगीमा संलग्न रहेको भनेर संसद्मा रविविरुद्ध कांग्रेस आक्रामक भइरहेको समयमा रास्वपाले इलामको चुनाव जित्यो भने राजनीति रोमाञ्चक क्षणमा प्रवेश गर्नेछ । 

इलामको चुनावको केन्द्रमा रास्वपा छ भन्दा फरक नपर्ला किनकि बझाङमा रास्वपाको उम्मेदवार छैन र चुनावको उमंग पनि । प्रदेशको रिक्त स्थानमा चुनाव हुँदा पनि आम मानिसलाई त्यता कुनै चासो छैन । 

चुनावको सन्देश र राजनीतिक परिदृश्य

इलाममा एमालेलाई हराउँदै रास्वपाले चुनाव जित्यो भने रविप्रति ओलीको व्यवहार कस्तो होला आम मानिसलाई अहिले सर्वाधिक चासोको विषय यही बनेको छ । दुवै नेताको दाबीलाई मान्ने हो भने ‘मिसन २०८४’मा एक अर्कोलाई बहुमत पुर्‍याउन बाधक यी दुई नेता हुन् । आजका मितिसम्म कांग्रेसले मिसन– २०८४ को नारा दिएको छैन, एकल बहुमत ल्याउने हाँक एमाले र रास्वपाले मात्र गरिरहेका छन् । 

विद्यमान राजनीतिक शक्ति सन्तुलन र अहिलेको निर्वाचन प्रणालीका कारण कुनै दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिँदैन । २०७४ सालमा जस्तो वामपन्थी गठबन्धन नै बने पनि मुस्किल छ । यदि कसैले ल्याएछ भने राजनीतिमा वास्तविक उथलपुथल त्यो बेला हुनेछ, फागुन २१ मा एउटा दललाई छाडेर अर्कोसँग सत्ता सहकार्य गरेकोलाई खास उथलपुथल भन्न मिल्दैन ।  

आजको दिनमा अचम्मको कुरा आगामी आम निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी ठानिएको रविलाई केपी ओलीले किन यति धेरै माया गरिरहेका छन् ? के उनको माया सक्कली हो ? वैशाख १५ को चुनावमा एमालेमाथि रास्वपा हावी भयो भने पनि ओलीले रविको प्रतिरक्षा त्यसैगरी गर्लान् ? अहिले कांग्रेसले संसदीय छानबिन माग गर्दा ओलीले छानबिन आवश्यक नभएको भनिरहेका छन् ।

दोहोरो पासपोर्टदेखि सहकारी ठगीको आरोप लाग्दा ओलीले रविको प्रतिरक्षा गरेका छन्, त्यो कहिलेसम्म हो भन्ने एमालेका नेताले समेत बुझेका छैनन् । एमालेलाई पराजित गरेर रास्वपा हावी भएमा सम्भवतः रविले ओलीको मायामा कमी महसुस गर्नेछन् । त्यसको असर अहिलेको सत्ता समीकरणमा समेत नपर्ला भन्न सकिँदैन । 

salt training

कमेन्ट गर्नुहोस्