२९ जेठ २०८३, शुक्रबार
एमाले-माओवादी तेस्रो मेलको जनपरीक्षण

इलाम– २ को चुनाव : मिसन ०८४ को पहिलो परीक्षण !

चैत २८, २०८०
काठमाडौं
इलाम– २ को चुनाव : मिसन ०८४ को पहिलो परीक्षण !

नयाँ सत्ता समीकरण बनेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको सम्बन्ध कति समयसम्म कायम रहला भन्ने आमजिज्ञासा व्यक्त हुन थालेको छ ।

कम्तीमा मार्क्सवादी विचारधारा मान्ने भएकाले कम्युनिस्ट पार्टीहरूबीच रसायन मिल्छ भन्ने अड्कलबाजी पनि छ । तर, बनिसकेको नेकपा विघटन तथा २०७९ को चुनावी परिणामपछिको समीकरण समेत भत्काएर माओवादी कांग्रेससँगको समीकरणमा गएको विगतका कारण धेरैले यो समीकरण लामो जाँदैन भन्ने अनुमान गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हुँदा कुरा मिलेकै देखिन्छ । जब छुट्टिन्छन्, उनीहरूबीचको आरोप–प्रत्यारोप उत्कर्षमै पुग्छ । ओली–प्रचण्डबीचको टकराव यति टाढासम्म पुग्छ कि कम्युनिस्टहरू तीन पुस्तासम्म मिल्न सक्दैनन् । तर, मिल्दा सहजै र सरल तरिकाबाट अब वामपन्थी एक हुन्छन् भन्ने खालको व्यवहार देखाउने गर्छन् ।

पछिल्लोपटक इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले राष्ट्रिय राजनीति गर्माएको छ, जहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र ‘पहिचानवादी’को चौपक्षीय चर्चा छ ।

अघिल्लोपटक थोरै मतान्तरले पराजित नेपाली कांग्रेसको चर्चा उत्तिकै छ । संविधान सभाका सभामुख सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनको माहोलमा केही पात्रहरूबारे चर्चा भए पनि राष्ट्रिय राजनीतिक अर्थ लाग्ने समीकरण भएका छन् । 

केन्द्रीय सत्ता समीकरणसँगै नेकपा (माओवादी केन्द्र)ले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ । २०७९ को चुनावमा माओवादीले गठबन्धनका तर्फबाट कांग्रेसका डम्बरबहादुर खड्कालाई समर्थन गरेको थियो । 

थोरै मतले पराजित खड्का अहिले पनि कांग्रेसबाट चुनावी मैदानमा छन् । अहिले माओवादीको समर्थन केन्द्रीय सत्ता समीकरण अनुसार एमालेलाई छ । अझै अर्को रोचक पक्ष यसअघि चुनावमा भाग नलिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत नेम्वाङलाई समर्थन गरेको छ । 

पुरानो गठबन्धन भत्किएपछि नयाँ समीकरणलाई ‘वामपन्थी एकता’को संज्ञा दिइयो । तर, वैचारिकी दृष्टिकोणबाट रास्वपालगायत अन्य दलहरूको समेत सहभागिता रहेकाले वामपन्थी एकता भन्न सकिन्न । पुरानो गठबन्धन भत्किएपछि एमाले र माओवादीका दोस्रो तहका नेताहरूले कालन्तरमा पार्टी एकतासम्म जानेगरी सत्ता फेरबदल भएको बताउँदै आएका छन् । 

कम्तीमा वाम तालमेललाई जनताले २०७४ जसरी अनुमोदन गरेका थिए, सोही मत एमाले–माओवादीसँग छ/छैन भन्ने मापन इलाम– २ को उपचुनावले गर्नेछ । 

इलामको उपचुनावले २०८४ को चुनावमा पनि वाम तालमेल हुन्छ भन्ने संकेत गरेको छ । माओवादीले एमालेका उम्मेदवारलाई सहजै समर्थन जनाउनु त्यसको उदाहरण बन्न सक्छ । उता सत्ता समीकरणको तेस्रो शक्ति रास्वपाले मित्रवत प्रतिस्पर्धाका लागि एकल उम्मेदवार अघि सार्नुलाई पनि २०८४ को पूर्वानुमानका रूपमा हेर्न सकिन्छ । 

२०७९ को स्थानीय, प्रदेश र संघीय चुनावमा एकाध ठाउँबाहेक एक्लै चुनावमा उत्रेको एमालेले समानुपातिकमा लोकप्रिय मत पायो । चुनाव सकिएसँगै पुरानो गठबन्धन भत्काउन सफल एमाले डेढ महिनापछि फेरि एक्लियो । त्यसबीचमा एमालेले आफ्नो सम्पूर्ण शक्तिलाई गाउँ केन्द्रित गर्न ‘मिसन ग्रासरूट’ अभियान सञ्चालन गर्‍यो । गत मंसिरमा ‘समृद्धिका लागि संकल्प यात्रा’ पूरा गर्‍यो । त्यसक्रममा एमालेले एउटै नारा दिइरह्यो, ‘राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन मिसन– २०८४’ ।

सतहीरूपमा बुझ्दा ‘मिसन– २०८४’ चुनावमा बहुमत लिने मात्रै हो भन्ने बुझाइ आमरूपमा देखिन्छ । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनु भनेको प्रगतिशील शक्तिलाई निर्णायक तहमा विकास गरेर जाने भन्ने बुझाइ कमैमा छ । त्यसको मापन कहाँबाट हुन्छ भन्ने विषय मात्रै चुनावी परिणामले देखाउने हो । मिसन– २०८४ भनेको चुनाव मात्र होइन भन्ने बुझ्नुपर्छ ।

यतिखेर एमाले र माओवादीबीच इलाममा भएको तालमेलले दुईवटा अर्थ राख्छ । एउटा केन्द्रमा सत्ता समीकरण गरिसकेपछि माओवादीले नैतिकता र इमान्दारिता देखाउने अवसर । दोस्रो, २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने एमालेको लक्ष्यको पहिलो परीक्षण । कम्तीमा वाम तालमेललाई जनताले २०७४ जसरी अनुमोदन गरेका थिए, सोही मत एमाले–माओवादीसँग छ/छैन भन्ने मापन इलाम– २ को उपचुनावले गर्नेछ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन एमालेले मिसन– २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन अभियान जारी राखेको छ । यसका लागि राष्ट्रिय शक्ति मजबुत बनाउन जरुरी छ । सत्ता समीकरणमा एमालेले आफ्ना धेरै मागलाई अघि सारेको छैन । एमालेको यो शैलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नका लागि शक्ति सञ्चयको एक साधनका रूपमा काम गरेको देखिन्छ ।

गत वर्ष माओवादी, कांग्रेसहितको गठबन्धनमा फर्किएपछि एक वर्ष एमाले राष्ट्रिय शक्ति हुँदाहुँदै पनि लगभग रित्तो हात लिएर बसेको थियो । नेकपा विभाजन, गठबन्धनबाट एक्लिएको अनुभवबाट पाठ सिकेर पछिल्लो समीकरणलाई टिकाई राख्ने जिम्मेवारी एमालेको हो । मिसन– २०८४ सफल पार्न पनि कम्तीमा समीकरणभित्र रहेका वामपन्थी शक्तिलाई गोलबद्ध गरी अभिभावकीय भूमिका निभाउनु जरुरी छ ।

माओवादीदेखि विप्लवको नेकपाले समेत इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्न मोर्चा कस्नुले राजनीतिक अर्थ राख्छ । यो सहकार्यलाई अझ सबल बनाउन जरुरी छ । वामपन्थीहरूको कम्तीमा रसायन मिल्ने भएकाले मत ‘ट्रान्सफर’ हुन्छ भन्ने व्यवहारमा देखाउन इलाम– २ पहिलो परीक्षण केन्द्र हो । एमाले उम्मेदवारले इलाम– २ मा प्राप्त गर्ने मतले वामपन्थीहरूको भविष्य र ध्रुवीकरणको सम्भावनाको प्रस्ट रेखा कोरिदिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्