
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गरे ।
कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पु¥याउनका लागि २४सै घण्टा बजार खुला गरिएको बताए । “ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षामा कहीँकतै कमी हुनेछैन । प्रहरी प्रशासनसँगै यस क्षेत्रलाई सुरक्षित बनाउने दायित्व नागरिकको पनि उत्तिकै हो । हामी सबै मिलेर यसलाई निरन्तरता दिनुपर्छ”, उनले भने ।
गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताए ।
काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित सङ्केत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए । उनका अनुसार पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।