
कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनुभएको थियो । म शशांकसँग रहे पनि अन्तिम समयमा उहाँहरूसँग जोडिन पुगेको हो । शशांकलाई पार्टी सभापति बनाउनुपर्छ भन्ने विचार राख्थें । तर, शशांक आफू नलड्ने भनेर १४ औं महाधिवेशनमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुभयो । म पनि पौडेल नै सभापतिका लागि उपयुक्त हुनुहुन्छ भनेर लागेको थिएँ । तर हाम्रो समूहभित्र सहमति निर्माण गर्न नसकेपछि पौडेल जस्तो वरिष्ठ नेता आफ्नै समूहमा एक भन्दा बढी उम्मेदवार हुँदा चुनाव लड्न हुँदैन जस्तो लाग्यो । त्यही सुझाव पनि दिएँ ।
हाम्रो समूहबाट शेखरजी र प्रकाशमान सिंहजी उम्मेदवार हुने स्थितिमा शेखरजी र गगनजीको टीमसँग पुगेँ । शेखर र गगनलाई तपाईंहरूको सम्बन्ध कस्तो हो, टुंगो लगाउनुस् भन्दै आएको छु । सम्बन्धमा विश्वास वा अविश्वास के हो, जानकारी दिनुहोला भन्दै आएको छु । हामीले जति सहज वा असहज फिल गरे पनि आफ्नो सोच बनाएर अघि बढ्ने हो । यसैले शेखर र गगनबीचको सम्बन्ध हाम्रो भूमिकाभन्दा बाहिर छ । उहाँहरूले जे गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । उहाँहरू एकसाथ हुनु भए एउटा परिस्थिति होला । एक साथ नभए पनि जुनसुकै परिस्थितिका लागि तयार भएको छु । मेरो आफ्नै छविचाहिँ स्वतन्त्र निर्णय गर्ने मान्छे हो भन्ने छ । पार्टीभित्रको समूह र उपसमूहको राजनीतिमा म कता उभिउँला, कुनै महत्त्वाकांक्षा लिएर अगाडि जाउँला भन्ने विषय टुंगो लागेको छैन । उहाँहरूको सम्बन्ध जोड्ने र बिगार्ने दुवै भूमिकामा म छैन ।
संस्थापनमा पनि सकस
१५ औं महाधिवेशनमा संस्थापनइतरको उम्मेदवार को हुन्छ थाहा छैन । शेरबहादुर देउवा अन्तिम कार्यकालमा हुनुहुन्छ । विधानअनुसार उहाँ फेरि सभापति बन्न मिल्दैन । संस्थापनबाट पनि अर्को उम्मेदवार हुने हो, तर को भन्ने टुंगो लागिसकेको छैन । इतरबाट पनि को उम्मेदवार बन्ने हो टुंगो छैन ।
यसैले आगामी महाधिवेशनमा संस्थापन र इतर समूह भन्ने रहला वा नरहला भन्नेमा संशय छ । हाम्रो सभापतिको शैली हेर्दा उहाँले जसलाई पनि सघाउन सक्नुहुन्छ । त्यो निर्णय आजको दिनमा प्रस्ट छैन । सकेसम्म आफ्नै समूहमा सदैव रहेको मान्छे खोजी गर्नुहोला । त्यस्तो मान्छे चुनाव जित्ने खालको परिस्थिति भएन भने देउवाजीको सहयोग जसलाई पनि प्राप्त हुन सक्छ । सभापति लड्न चाहनेहरू आजका दिनमा आफैं प्रतिस्पर्धामा छन् ।
सार्वजनिक रूपमा पार्टी सभापतिको प्रतिरक्षा नगरे पनि कोठाका बैठकमा उहाँलाई खुशी पार्न हरेकको प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सभापतिसँग विशेष सम्बन्ध राख्ने स्वार्थद्वारा प्रेरित छ । जुनसुकै पक्षका हुन्, उहाँको विशेष सहयोग जुटाउन सकें भने सभापति बन्न सजिलो हुन्छ भनेर लागेको भान हुन्छ । सोही कारण भित्री बैठकमा उहाँसँग सद्भावपूर्ण सम्बन्ध विकसित गर्ने प्रतिस्पर्धामा नेताहरू छन् । कांग्रेसका सबै पक्ष र उप-पक्षसम्मै यस्तो प्रतिस्पर्धा छ ।
शशांक कोइराला अघिल्लोपटक सभापतिमा उठ्नुभएको छैन । यसकै आधारमा मात्र उहाँलाई सभापतिको धाप रहला भन्ने विशेष कारण देखिएको छैन । शशांक कोइराला लड्न चाहनुहुन्छ वा चाहनुहुन्न भन्ने विषयमा अहिले नै बोल्नु हतारो हुन्छ । अघिल्लोपटक अन्तिमसम्म उहाँ लड्नुपर्छ भन्ने ठाउँमा म उभिएको हो । उहाँ र उहाँको सचिवालयमा काम गर्नेहरू शशांक सभापतिको उम्मेदवार बन्नु हुँदैन भनेर लागेपछि म अन्तिममा असमञ्जसमा परेको हुँ । एकातिर असमञ्जस थियो भने अर्कातिर विना तयारी महामन्त्रीमा चुनाव लड्दा पराजित भएँ । अहिले नै भन्दा पनि महाधिवेशनको मुखमा यसैगरी कोही पनि असमञ्जसको स्थितिमा पुग्नुहुँदैन भन्ने मान्यता राख्छु । यस्तोमा चनाखो हुनुपर्छ भन्ने विश्वास मेरो छ ।
संसदीय दलको नेता परिवर्तनको चर्चा
संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास भए/नभएको बारे मसँग सूचना छैन । आजको दिनमा देउवालाई परास्त गर्नेसम्मको संख्या संसदीय दलमा कसैसँग देखिँदैन । कोही बली चढ्छ भने चढिहालोस् भनेर लाग्ने मान्छेहरू पनि छन् । संख्या नपुग्दा अर्को उम्मेदवार, पुग्दा म उम्मेदवार भन्ने मान्यता ठीक होइन । यस्तो राजनीति कसैले गर्नुहुँदैन ।
पुस्तान्तरणको बहस
कांग्रेसमा पुस्तान्तरण भन्ने नारा नै बाँकी छैन । आफूले खोजेको पदका लागि आफ्नो पुस्तामा आउनुपर्ने, तर अरू पदमा जुनसुकै पुस्ताको मान्छे भए पनि हुन्छ भन्ने कुरा व्यवहारमै देखिसकेकाले पुस्तान्तरणको नारामा ठूलो तागत छ भन्ने लाग्दैन । अस्ति राष्ट्रिय सभा चुनावमा पनि यस्तै देखियो ।
दोस्रो पुस्ता भनेको नितान्त उमेर मात्रै होइन । हाम्रो सभापति अलि पाको नै भएको देखिनुहुन्छ । उमेरले गलाएको देखिन्छ । उमेरका कारणले मात्रै म जवान छु, मैले पाउनुपर्छ भन्ने कसैको सोच हो भने उहाँहरूले नै जान्नुहोला । नारा दिएर वा सोच मात्रै राखेर पनि हुँदैन ।
पुरानो दल कांग्रेसप्रति विकर्षण
पछिल्लो समय नयाँ दलप्रति आकर्षणभन्दा पनि हामीप्रतिको विकर्षण बढी देखिन थालेको छ । कांग्रेस, एमाले, माओवादीप्रति देशभर तथा जसपा र लोसपाप्रति मधेशमा निराशाका कारणले राष्ट्रिय स्वतन्त्र पार्टीले सफलता प्राप्त गरेको हो भन्ने मलाई लाग्छ । उहाँहरूलाई हिजो भरोसाको मत प्राप्त भएन । उहाँहरूले अहिलेसम्म गरेको गतिविधिबाट हामीप्रतिको निराशालाई उहाँहरूप्रतिको भरोसामा बदल्न सकेको भने देखिँदैन । उहाँहरूको मज्जाको, घच्चिको पार्टी पनि बन्न सक्नुहोला, या पानीको फोका जसरी फुकेर पनि जानुहोला, उहाँहरूको ‘रेलेभेन्स’ यस अर्थमा छ कि हामीप्रति निराशाको घण्टी पनि बजिरहेको छ ।
यसैले उहाँहरूको उदय हामी कांग्रेसलाई एउटा अलर्ट हो । होश गर्नुस्, हाम्रो भरोसा टुटेको छ, जित्नेगरी पार्टीलाई अघि बढाउनुपर्छ भन्ने सन्देशका रूपमा यसलाई ग्रहण गर्नुपर्छ । रास्वपा के हुन्छ, उनीहरूकै नेताको चिन्ता हो । हाम्रो चिन्ताको विषय हामीप्रतिको निराशाबाट बजेको घण्टीलाई फेरि नेपालमा ठूलो आवाजमा नबज्ने बनाउने हो । हामीले जनताको भरोसा प्राप्त गर्न सक्यौं भने मात्रै हाम्राविरुद्ध घण्टी बज्दैन । २०७४ को चुनावमा हामीले २३ सीट मात्रै जित्यौं । हामी निकै कमजोर देखियौं । २०७९ मा आउँदा झन् हामीलाई ०७४ मा भोट हालेका हरेक ५ जनामध्ये १ जनाले भोट दिएनन् ।
त्यो मतदाता र थप मतदाता ल्याउन रास्वपा के हुन्छ, एमाले के हुन्छ, माओवादी के हुन्छ र अरू पार्टी के हुन्छन् भन्ने कुराको चिन्ता गर्नुपरेन । हामीले भोट फिर्ता ल्याउन सकेनौं भने जसले हाम्रो भोट लगे पनि हामी आफ्नो उपादेयता गुमाउँदै जानेछौं । यसकारण कांग्रेसले आफ्नो उपादेयता कायम गर्न, पुनःस्थापित गर्न, बीपी कोइरालाको पार्टी, हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी, ८० वर्ष पुरानो पार्टी कांग्रेस कांग्रेसजस्तो बन्नुपर्छ । यस्तो बन्दा हामीले चिन्ता नै गर्नुपर्दैन ।
गत चुनावमा हामीले ७ प्रतिशत मत गुमायौं । यो देशैभर भयो । हाम्रै सबैभन्दा बढी मत काटिन पुगेको छ । एमालेले ६ प्रतिशत मत गुमायो, त्यसमध्ये ३ प्रतिशत माधव नेपालसँग रह्यो । हामीले गुमाएको ७ र एमालेले गुमाएको ३ प्रतिशत मत जोड्दा रास्वपाले पाएको साढे १०/११ प्रतिशत भोट देखिन्छ । माओवादी, जसपा र लोसपाले गुमाएको मत हेर्दाखेरि अरु उदय भएका दल र राप्रपाको विस्तारित मत देखिन्छ । तर, सबैले भन्दा हामीले बढी गुमायौं ।
सदनको गतिरोध
सरकारको बारेमा सबैभन्दा ठूलो उत्तरदायी पार्टी एमाले हो । प्रधानमन्त्रीको रूपमा प्रचण्डजीको पनि जिम्मेवारी छ । यस्तोमा प्रधानमन्त्री र ओलीजी सरकारमा प्रमुख जिम्मेवार हुनुहुन्छ । संसद्को गतिविधिमा चित्त नबुझेका विषयमा पनि उहाँहरू बढी उत्तरदायी बन्नुपर्छ । कसलाई उपप्रधानमन्त्री बनाउने र कसलाई मन्त्री बनाउने भन्ने पनि उहाँहरूकै कुरा हो । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको विषय सार्वजनिक रूपमा आएको छ ।
उहाँको संलग्नता रहेको प्रशस्त प्रमाण आएका छन् । यसैले शंका गर्नुपर्ने, छानबिन गर्नुपर्ने प्रशस्त कारण छन् । त्यो कारणमा हाम्रो सिधा चासो रास्वपासँग भन्दा पनि समग्र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र अहिलेको समीकरणको मूल पार्टीको नेतृत्व केपी शर्मा ओलीसँग हुनुपर्ने हो । यसबाट पन्छिन हुँदैन भन्ने रूपमा हामी प्रस्तुत हुनुपर्थ्यो । यी जिम्मेवार हुन्, तर हाम्रो भूमिकाले प्रस्ट रूपमा यिनीहरू जिम्मेवार छैनन् कि भन्ने पनि कताकता देखाएको छ ।
म आफू संसद्मा छैन । पार्टीले सघनरूपमा छलफल गरेर यो निर्णयसम्म पुगेको भए एउटा कुरा, नत्र मलाई सदनमा कांग्रेसजस्तो पार्टीले हरेक पार्टीसँग सम्बन्धमा खलबल नआउने गरी आधार बनाइराख्नुपर्छ भन्ने लाग्छ । कांग्रेस जस्तो ठूलो र पुरानो पार्टीले संसद्मा २१ सिट भएको पार्टीसँग कुनै–कुनै बेला सहकार्य रहन सक्छ भन्ने कुरा ध्यानमा राखेर व्यवहार गर्नु उचित हुन्छ । कसैसँग तिक्ततापूर्ण सम्बन्ध विकास गर्नु हुँदैन ।
हाम्रो सभापतिको लाइन ठीक छ । प्रधानमन्त्रीलाई धोकेबाज भन्नुभयो । प्रचण्डले धोका दिएको विषय दुनियाँले स्वीकारेको छ । त्यसैले हामीलाई धोका दिने प्रचण्डको जिम्मेवारी र उत्तरदायित्वमा यी सबै काम भएको छ भन्ने वातावरण बनाएर जानुपर्थ्यो । हरेक दिन संसद्मा रवि लामिछानेको सहकारी प्रकरणमा भएको संलग्नताको विषय उठाउने, जसमा घटना गम्भीर छ, हामीलाई आशंका छ, जनतामा पनि अविश्वास भएकाले रास्वपा सभापतिले आफूलाई प्रमाणित गर्न सक्नुपर्छ, तर यसको जिम्मेवारी रवि लामिछानेले होइन, प्रचण्ड र ओलीले लिनुपर्छ भन्ने हिसाबले प्रस्तुत भएको भए ठीक हुन्थ्यो भन्ने मेरो कुरा हो ।
(कांग्रेस नेता एवं पूर्वमन्त्री रिजालसँग लोकान्तरका लागि रमेश सापकोटाले गरेको कुराकानीको दोस्रो तथा अन्तिम भाग)
पढ्नुहोस्, यो पनि :
‘ओली–प्रचण्ड सम्बन्धको रसायन कमजोर छ, कांग्रेस–एमाले मिल्नुपर्छ’