२६ असार २०८३, शुक्रबार

महर्षि धनञ्जयको सामाजिक देन

कात्तिक २०, २०७४
महर्षि धनञ्जयको सामाजिक देन
वैदिक ऋषिमुनिहरूमा महर्षि धनञ्जय पनि बिर्सनै नसकिने नाम हो । यसो त उनी वैदिक मन्त्रद्रष्टा ऋषिमण्डलीको समूहमा पर्दैैैनन् । उनको नाममा कुनै पनि छुट्टै वैदिक सूक्त वा मन्त्र देखिएको छैन तर उनको जीवनगाथा भने वेद र वेदान्तले पूर्णतः आप्लावित देखिएको छ । यस अर्थमा भन्नुपर्दा उनी वेद र वेदान्तको खोजीमा गएका छैनन् तर वेद र वेदान्त आफैं भने उनलाई खोज्दै आएका छन् ।kamal rijal

पौराणिक ग्रन्थहरूमा राजर्षिको नामले समेत पुकारिने गरेका धनञ्जय महर्षि विश्वामित्रका छोरा मानिन्छन् । विश्वामित्रका धृति, मेनुका, जया आदि तीन रानी रहेका छन् (रत्नाकर देवकोटा, जुम्ला राज्यको ऐतिहासिक विवेचना) ।
यसबाहेक उल्लिखित तीनवटा रानीमध्ये उनी कुन चाहिँ रानीतर्फका सन्तान हुन् भन्ने कुरो कतै उल्लेख भएको पाइँदैन, न त धनञ्जयकै सन्तानबारे नै कतै केही भनिएको भेटिन्छ । तर उनी विश्वामित्रका छोरा हुन् भन्नेमा भने कतै शङ्का छैन । मत्स्यपुराण, ब्रह्माण्डपुराण, विष्णुपुराण आदिमा यसबारे सटीक विश्लेषण भेटिन्छ (श्रीहरि रूपाखेती, नेपाली थरगोत्र प्रवर कोष) ।

महाभारतको अनुशासनपर्वमा उल्लेख भएअनुसार वर्तमान वैवस्वत मन्वन्तरको सप्तऋषिमा पर्ने महर्षि विश्वामित्रका १०० भाइ छोरामध्ये जेठा मधुच्छन्दा मानिएका छन् । यसो त उनी जन्मजात जेठा भने होइनन् । उनीभन्दा अघिका ५० भाइ बाबु विश्वामित्रको आज्ञाले म्लेच्छ भएर गएपछि उनी जेठा हुन पुगेका हुन् । ऋग्वेदाचार्य मधुच्छन्दाका प्रशस्तै वैदिक सूक्त तथा मन्त्रहरू छन्, जुन ज्ञान र विज्ञानको हिसाबले विशिष्टम धरोहर मानिन्छन् । मधुच्छन्दाका भाइ धनञ्जय विद्या र बुद्धिमा उनकै समकक्षी अझ कतिपय मामिलामा उनीभन्दा पनि अगाडि देखिएका छन् ।

वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार विश्वामित्रका मधुच्छन्दा लगायत एकसेएक वैदिक मन्त्रद्रष्टा पुत्रहरू देखिएका छन् । यीमध्ये उमेरको हिसाबले कति धनञ्जयभन्दा जेठा रहेका छन् भने कति कान्छा रहेका छन् । तथापि बाबु विश्वामित्रको सर्वाधिक प्रिय र विश्वासपात्र बन्ने अवसर भने महर्षि धनञ्जयले नै पाएका छन् । परहित र परोपकार त धनञ्जयको मूलभूत विशेषता नै मानिएको छ । सम्भवतः उनको यही गुणबाट प्रभावित भएर नै हुनुपर्छ बुवा विश्वामित्रले उनलाई गोत्रप्रवर्तकको समेत हैसियत प्रदान गरेका छन् जबकि एउटा सिङ्गै मण्डलको द्रष्टा ऋषि मानिएका उनी आफैंलाई र जेठा छोरा मधुच्छन्दा जस्ता अखिल विश्वब्रह्माण्डको रहस्य पत्ता लगाउने वैज्ञानिक ऋषिलाई प्रवरभित्र सीमित राखेका छन् ।

जे होस्, महर्षि धनञ्जय गोत्रप्रवर्तक ऋषिमा पर्छन् । उल्लिखित विभिन्न पौराणिक ग्रन्थहरूले उनलाई यही रूपमा प्रस्ट्याउने काम गरेका छन् । हाल धनञ्जय ऋषिका बारेमा व्यापक खोज अनुसन्धान गर्दै आएका ऋषिकल्प साधक रोहिबहादुर बस्नेतका अनुसार धनञ्जय गोत्रीय थरपरिवारको संख्या ३५ वटा छन् । उनका अनुसार धमला, रिजाल, गुरागाईं, भण्डारी, हुमागाईं, खुलाल बस्नेत, खुलाल बुढाथोकी, खुलालका कार्की, खुलाल खड्का, खुलाल अधिकारी, खुलाल थापा, खुलाल भण्डारी (क्षेत्री) खुलाल, खुलाल कुँवर, खुलाल बूढा थापा, खुलाल खत्री, भुसाल, मरासिनी, गैरिपिप्ली, गौरागाईं, कुुकुरकाटे, ओखरेल, घोडासैनी, डुम्रे, ढाँट, पँगेनी, बखरेल, बसेल अर्थात् बस्याल, रिमाल (दैलेखी) पकुवाल, पलेटा पाँडे, रोकाहार, भुडाल, सुकुडाल, जोशी (एकथरी) आदि थरपरिवार धनञ्जय गोत्रका मानिएका छन् ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि धनञ्जय व्यासको समेत अवतार मानिएका छन् । प्रत्येक मन्वन्तरमा ७१ वटा द्वापरयुग बित्ने गर्छ भने प्रत्येक द्वापर युगमा भगवानले एकएकवटा व्यासको अवतार लिने गर्छन् । यसअनुसार वर्तमान सातौं वैवस्वत मन्वन्तरमा हालसम्म २८ वटा द्वापरयुग भइसकेकाले व्यास पनि २८ वटा नै भइसकेका छन् । यीमध्ये हालका अर्थात् २८ औं व्यास परासर पुत्र कृष्णद्वैपायन हुन्, जसको जन्म हालको दमौलीनजिक मादी र सेती नदीको सङ्गममा भएको मानिन्छ भने महर्षि धनञ्जय १६ औं व्यासको अवतार मानिएका छन् ।Dhananjaya

इतिहासविद्हरूका अनुसार महर्षि धनञ्जय नेपालको भूमिपुत्र समेत देखिएका छन् । यसैपनि पावन नदी कोशी प्रस्रवण क्षेत्रलाई कर्मथलो बनाउँदै ल्याएका उनका बुवा विश्वामित्र नेपालकै विभूति मानिएका छन् । यसो त विश्वामित्र जस्तो वसुधैव कुटुम्बकम् अर्थात् विश्वभाइचारामा विश्वास गर्ने ऋषिमुनिहरूलाई कुनै भूगोलको सीमारेखाभित्र सीमित गर्न खोज्नु उनीहरूप्रतिको अन्याय नै हो । तैपनि जसले जुन स्थानलाई विशेष कर्मथलो बनाएका छन् त्यसप्रति स्नेह र सद्भाव बढी हुन्छ भन्ने कुरालाई बिर्सन हुँदैन ।

बुवा विश्वामित्र नेपालका हुन् भने उनका छोरा धनञ्जय त वंशजकै नाताले पनि नेपाली हुने नै भए । पौराणिक ग्रन्थहरूका अनुसार उनको हालका कर्णाली प्रदेशभित्र पनि विभिन्न क्षेत्रहरूमा विशेष उपस्थिति देखिन्छ ।

सुरतबहादुर शाहको सङ्कलनमा प्रकाशित ‘वैद्यनाथ क्षेत्र अछाम विद्वानहरूको दृष्टिमा’ नामक पुस्तकमा उल्लेख भएअनुसार महर्षि धनञ्जयको बसोबास हालको अछाम जिल्लामा पर्ने श्रीकोट भन्ने स्थानमा रहेको मानिएको छ ।

अहिले पनि अछाम जिल्लाको धमाली भन्ने स्थानमा अधिकतम मात्रामा धनञ्जय गोत्रीय धमला, खुलाल कुँवर, खुलाल बूढाथापा र भण्डारी आदिको वासस्थान पाइनुले पनि यसलाई थप पुष्टि गरेको छ ।

एककिसिमले सरस्वतीको कृपाप्रसाद नै पाएका धनञ्जयको व्याकरणशास्त्रमा समेत विशेष दखल देखिन्छ । मत्स्यपुराण १९८ अध्यायमा उल्लेख भएअनुसार शालङ्कायन तथा याज्ञवल्क्य आदि विशिष्ट वैदिक विद्वानहरू त यसै पनि उनका आफ्नै भाइ नै हुन् । व्याकरणशास्त्रका धुरन्धर विद्वान् महामुनि पाणिनीसमेत उनकै कुल गोत्रभित्रका पर्छन् ।
विद्वानहरूका अनुसार पाणिनिको जन्म शालातुर भन्ने स्थानमा भएको देखिन्छ । यो स्थान हाल पाकिस्तानमा पर्छ, जो शालातुरबाट अपभ्रंश भई हलातुर तथा हलाहुर हुँदै हाल लाहोर हुन पुगेको छ । उक्त शालातुर भन्ने स्थान महर्षि शालाङ्कायनको नामबाट कायम हुन आएको मानिन्छ ।
ज्ञानी, ध्यानी, शान्ति, सद्भाव आदि सबै किसिमका सात्त्विक गुण र विशेषताका बेजोड सङ्गम नै मानिएका महर्षि धनञ्जय तत्त्वज्ञानी र धर्मशास्त्रविद् समेत रहेका देखिन्छन् ।
‘धर्मप्रदीप’ जस्तो बेजोड आध्यात्मिक ग्रन्थ समेत उनकै रचना मानिएको छ । वस्तुतः हाल हामीमाझ महर्षि धनञ्जयको भौतिक शरीर छैन तर उनको आध्यात्मिक स्वरूप भने यिनै गोत्रीय परिवारमा समन्वित भई ‘सेवा हि परमोधर्म’ भन्ने पवित्र भावनालाई विश्वको विभिन्न कुनामा पु–याउने काम गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्