२५ जेठ २०८३, सोमबार

एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ

बैशाख ९, २०८१
काठमाडौं
एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ
फाइल तस्वीर ।

बेनी–म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ क्लबको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा शुरू भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।

धार्मिक पर्यटकीय सम्भावनायुक्त देवी भगवती मन्दिरमा बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्बुलेन्स किन्ने उद्देश्यले आयोजित महायज्ञको शनिवार मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका छन् । महायज्ञको उद्घाटन गर्दै अध्यक्ष रोकाले सामाजिक एकता, सदभाव फैलाउन र धार्मिक महिमाको संरक्षण तथा धार्मिक पर्यटन विकास गर्न महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मंगला गाउँपालिका–२ का अध्यक्ष धनबहादुर खाती क्षेत्री, मङ्गला माविका प्रधानाध्यापक गमबहादुर केसी, राप्रपाका नेता विनोद भट्टचन, मूल समारोह समितिका सहकोषाध्यक्ष नीरज खड्का, प्रचार प्रसार उपसमिति संयोजक चक्रलाल पाण्डे (राजु)लगायतले महायज्ञबाट स्कलन हुने रकमले बहुउदेश्यीय भवन र एम्बुलेन्स खरिद गरिने भएकाले महोत्सवमा सक्दो सहयोग गर्न आह्वान गरेका छन् । 

महायज्ञ उद्घाटनको अवसरमा बावियाचौरमा शान्ति कलशयात्रा गरिएको थियो ।  विभिन्न आमा समूह तथा सङ्घसंस्थाको उपस्थितिमा कलशयात्रा गरी बाबियाचौर बजार परिक्रमा गरिएको थियो । महायज्ञमा  पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ । महायज्ञमा दैनिक पूजापाठ, ग्रह शान्ति व्रतबन्ध, विवाह, ब्रतसाङेता, सन्ध्या महाआरती, लाखवत्ती, कलश, मूलकर्ता भूमिदान र तुलादनको व्यवस्था छ । 

महायज्ञमा राष्ट्रियस्तरका कलाकारद्वारा भजनकीर्तन, पशुपति, देवघाट तथा बनरासमा देखिने जस्तै महाआरतीका साथै देवलीला झाँकी र सन्देशमूलक नाटकसमेत प्रस्तुत गरिने मूल समारोह समितिका संयोजक नवीन अधिकारीले जानकारी दिए । महायज्ञको पहिलो दिन मङ्गला–२ बाबियाचौर निवासी स्व नगेन्द्रबहादुर अधिकारीको स्मृतिमा उनका छोराछोरी, ज्वाँइलगायत सपरिवारको तर्फबाट रु दुई लाख एक हजार एक सय ११ सहयोग प्राप्त भएको मूल समितिका सहकोषाध्यक्ष नीरज खड्काले जानकारी दिए । -रासस

salt training

कमेन्ट गर्नुहोस्