
इजरायली रक्षा बलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य निशानाहरूमा प्रहार गरेको सीएनएनले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यम मेहर न्यूजका अनुसार तेहरानमा धेरै ठूला विस्फोटहरू सुनिएका थिए ।
यसअघि इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको थियो । अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ ।
इरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक नष्ट (इन्टरसेप्ट) गरिएको छ। आक्रमणपछि सुरक्षित आश्रयस्थलमा जान भनिएका इजरायली नागरिकहरूलाई अहिले बाहिर निस्कन अनुमति दिइएको छ।
इरानी सेना (आईआरजीसी)ले इजरायलमा गरिएको क्षेप्यास्त्र प्रहारलाई चेतावनी प्रहारको रूपमा वर्णन गरेको छ । कुनै पनि इजरायली प्रतिक्रियाले अझ विनाशकारी र व्यापक प्रतिशोध लिने आइआरजीसीले चेतावनी दिएको छ ।
इरानले इजरायलमा क्षेप्यास्त्र प्रहारहरू जारी राख्ने इरादा नराखेको अलजजीराले जनाएको छ । तर, कारबाही गरे प्रतिकार गर्ने कडा चेतावनी दिएको छ ।
इजरायलले लेबनानमा आफ्नो आक्रमण रोक्नुपर्ने इरानको अडान छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन कलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई इरानमा प्रतिशोधात्मक आक्रमण शुरू नगर्न भनेका थिए । ट्रम्पले नेतान्याहूलाई क्षेत्रमा पहिले नै बढ्दो तनाव नबढाउन चेतावनी दिएको समाचारमा उल्लेख छ ।