
नेपालको राजनीतिमा युवा पुस्ताको उदय र सत्ता समीकरणमा आएको ठूलो उलटफेरपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने भारत भ्रमणलाई भारतीय मूलधारका सञ्चार माध्यमहरूले निकै राजनीतिक महत्त्वका साथ कभर गरेका छन्।
भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को विशेष निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेका लागि दिल्लीले रेड कार्पेट बिछ्याएको निष्कर्षसहित भारतीय कूटनीतिक पत्रकारहरूले विभिन्न समाचार तथा टिप्पणीहरू सम्प्रेषण गरेका हुन् ।
प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले लामिछानेको भ्रमणलाई नेपालको बदलिँदो भूराजनीति र युवा पुस्ताको उदयसँग जोडेर विस्तृत विश्लेषण छापेको छ ।
पत्रिकाले नेपालका परम्परागत राजनीतिक दलहरूप्रति जनताको व्यापक वितृष्णा बढिरहेका बेला भारतले नयाँ उदीयमान शक्ति रास्वपासँग सिधै 'पार्टी-टू-पार्टी' सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख गरेको छ।
काठमाडौँमा नयाँ राजनीतिक समीकरण बनेपछि नयाँ दिल्लीले नेपालको नयाँ राजनीतिक नेतृत्वसँग कूटनीतिक सम्बन्धको नयाँ सुरुवात (रिसेट) गर्न खोजेको अर्थमा समेत पत्रिकाले यसलाई व्याख्या गरेको छ।
भ्रमणको सन्दर्भ पारेर हिन्दुस्तान टाइम्सले लामिछाने आफैँले लेखेको नेपाल-भारत विकास साझेदारी सम्बन्धी एक विशेष कूटनीतिक लेखसमेत छापेको थियो ।
यसैगरी भारतको अग्रणी सञ्चार समूह इन्डिया टुडे र यसको हिन्दी च्यानल आजतकले रवि लामिछानेको भ्रमण र भाजपा मुख्यालयमा भएका रणनीतिक छलफलहरूको भित्री विवरण प्रस्तुत गरेका छन्।
इन्डिया टुडेको रिपोर्ट अनुसार भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र लामिछानेबीचको भेटवार्ता केवल शिष्टाचारमा मात्र सीमित थिएन। रास्वपा प्रतिनिधिमण्डलले विश्वकै सबैभन्दा ठूलो दल भाजपाको तल्लो तह अर्थात् बूथ स्तरसम्मको साङ्गठनिक ढाँचा, डिजिटल सदस्यता प्रणाली र सुशासनका एजेन्डाबारे निकै चासो राखेको र भाजपाले आफ्नो साङ्गठनिक 'ब्लुप्रिन्ट' नेपालको टोलीसँग साझा गरेको कुरालाई उक्त सञ्चार माध्यमले हाइलाइट गरेको छ।
भारतको अग्रणी समाचार एजेन्सी एएनआई र द पायोनियरले रविको दिल्ली व्यस्ततालाई उच्च प्राथमिकता दिँदै भारतीय उच्च नेतृत्वसँग भएका भेटवार्ताहरूलाई तस्बिर र भिडियोसहित निरन्तर फलो गरेका छन्।
नयाँ दिल्लीमा लामिछानेले एकैदिन भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेको समाचारलाई उनीहरूले विशेष महत्त्वका साथ सम्प्रेषण गरे।
गृहमन्त्री अमित शाहसँगको भेटमा सीमा सुरक्षा, सीमापार आपराधिक गतिविधि नियन्त्रण र द्विपक्षीय सुरक्षा चासोका विषयमा छलफल भएको तथा विदेशमन्त्री जयशंकरसँग नेपाल-भारत विकास साझेदारी, आर्थिक सहयोग र जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित रहेर संवाद भएको कुरा एएनआईको कभरेजमा उल्लेख छ।
हिन्दी भाषाका ठूला राष्ट्रिय दैनिकहरू दैनिक भास्कर, अमर उजाला र दैनिक जागरणले भने रविको राजनीतिक व्यस्तताका साथै उनको भ्रमणको सांस्कृतिक पक्षलाई बढी जोड दिएका छन् । यी हिन्दी मिडियाहरूले रविलाई नेपालको सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेर छोटो समयमै सत्ताको निर्णायक शक्ति (किंगमेकर) बन्न सफल भएका प्रभावशाली युवा नेताका रूपमा भारतीय पाठकमाझ चिनाएका छन्।
भारतीय मिडिया र त्यहाँका दक्षिण एसियाली मामिलाका विज्ञहरूले विगतमा नेपालका पुराना र स्थापित नेताहरू भारत भ्रमणमा आउँदाको तुलनामा यसपटक नयाँ दिल्लीको संस्थापन पक्ष र सत्तारूढ दलले रास्वपाका सभापति रविलाई असाधारण महत्त्व दिएको विश्लेषण गरेका छन्।