२८ जेठ २०८३, बिहीबार
सुन तस्करी

अवैध सुनको धन्दा गर्ने गिरोह प्रहरीको फन्दामा [भिडियोसहित]

बैशाख १४, २०८१
काठमाडौं
अवैध सुनको धन्दा गर्ने गिरोह प्रहरीको फन्दामा [भिडियोसहित]

काठमाडौंमा बसेर अवैध सुन कारोबार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १ करोड ४३ लाख नगद र डेढ किलोभन्दा बढी सुन बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सुन कारोबार गरिरहेका ७ जनाको गिरोहलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । गोप्य सूचनाका आधारमा दुईवटा अप्रेशन चलाएको प्रहरीले काठमाडौं महानगरपालिका– २४ दुछेंननी टोलमा अफिस नै खडा गरेर अवैध सुन कारोबार हुँदै आएको फेला पारेको थियो ।

null

इन्द्रचोकनजिकै रहेको दुछेंननी टोलमा उनीहरूले गोप्य कोठामा सुन बेच्दै गरेको भेटिएको थियो । यस गिरोहका नाइके हुन्, दार्चुला टाटेका गणेश दत्त बडु । बडु तिनै व्यक्ति हुन्, जो ७ वर्षअघि ८८ किलो सुन प्रकरणमा पनि पक्राउ परेका थिए ।

उनीसहित अन्य व्यापारीले सो अवैध सुनमा लगानी गरेको खुलेको थियो । बडु काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका साहु थिए । रसुवागढी नाकाबाट तस्करी भएर आउने सुनमा उनीहरूले लगानी गरेर बिक्री समेत गर्ने गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

तत्कालीन अवस्थामा ४३ करोड मूल्य बराबरको ८८ किलो सुन अवैधरूपमा काठमाडौं ल्याएको मुद्दामा सफाइ पाएर बडु फुत्किन सफल भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको थियो । 

null

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार बडुले आफू सो समयमा ३ लाख धरौटीमा छुटेको बयान दिएका छन् । 

बडु त्यस्ता बाबु हुन्, जसले पढ्ने उमेरमा आफ्नो २१ वर्षीय छोरालाई समेत अवैध धन्दामा संलग्न गराएका छन् । उनका छोरा आयुष बडु पनि सक्रिय रूपमा अवैध सुनको कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ । 

यस गिरोहमा हालसम्म ३ भारतीय र ४ नेपाली नागरिकको संलग्नता खुलेको छ । पहिलो अपरेसनमा प्रहरी टोलीले नाइके ४७ वर्षीय गणेशदत्त बडुसहित झापा बिर्तामोडका दिनेश खरेल, सुन खरिद गर्न भारतबाट नेपाल छिरेका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टेलाई पक्राउ गरेको थियो ।

null

उनीहरूको साथबाट करिब एक केजी सुन र एक करोड २६ लाख नगद बरामद भएको छ । दोस्रो अपरेसनमा ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार नगदसहित झापाका भट्टराज खरेल र बडुका पुत्र आयुष बडुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

गणेश दत्त बडुको ससुराली झापा हो । खरेल दाजुभाइ गणेश बडुका साडुभाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले उक्त सुन रसुवागढी नाका हुँदै चीनबाट नेपाल भित्र्याएको खुलेको छ । प्रहरीले यस प्रकरणमा बडुको वीच्याटको कुराकानी अनुसन्धान गर्दा यो गिरोह अझ ठूलो हुनसक्ने प्रहरीको आशंका छ । त्यस्तै, भारतलाई गन्तव्य बनाएर चलाएको यस अवैध धन्दामा पक्राउ परेका तीन भारतीय सुनको खास लगानीकर्ता हुन् कि परिचालित हुन् भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हेरौं भिडियोः 


 

salt training

कमेन्ट गर्नुहोस्