
प्रमुख (मेयर) बालेन शाहले निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिका आउन देशैभरिका अशक्त र गरिब नागरिकलाई आह्वान गरेका छन् ।
उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा महानगरले निःशुल्क उपचार गरिदिने उद्घोष गरेका हुन् ।
मेयर शाहले अहिले काठमाडौं महानगरसँग ४३ अस्पतालका ३२३ बेड रहेको जानकारी दिँदै त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने जानकारी दिएका छन् ।
‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट बिपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ,’ सम्पर्कका लागि नम्बर दिँदै उनले फेसबूकमा लेखेका छन्, ‘तपाईंको टोल, छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’