
सन् १९७८ मा म जम्मा १५ वर्षकी थिएँ, जब लुइस जोय ब्राउनको जन्मले संसारको ध्यान खिचेको थियो ।
ब्राउन एक टेस्टट्युब बेबी थिइन्, अर्थात् आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिबाट जन्मिएको संसारकै पहिलो मानव । ब्राउन अहिले ४५ वर्ष पुगेकी छिन् र स्वस्थ छिन् ।
१५ वर्षको उमेरमा मेरो लागि रजश्वला चक्र नयाँ थियो तर कुनै एक दिन मेरो गर्भ पनि मानव सृष्टिको केन्द्रमा हुनेछ भन्ने विश्वास गर्न थालिसकेकी थिएँ । मेरो लागि त्यो विश्वास लामो समयसम्म एउटा अद्भुत सपनाको रूपमा रहिरह्यो ।
त्यसको दुई दशकपछिको कुनै एक दिन कागजको गाउनले मात्र ढाकिएको मेरो शरीर 'ओब-गाइन'को परीक्षण कोठामा डराएर बसिरहेको थियो । त्यतिबेलासम्म म किन गर्भवती हुन सकिनँ भनेर कसैले बताउन सकेको थिएन । त्यसैले म आफ्नो दुई दशकअघिको विश्वासलाई आईभीएफमार्फत पूर्ण बनाउने तयारी गरिरहेको थिएँ ।
मलाई थाहा थिएन कि मेरा लागि यो आईभीएफ निराशाजनक, फलहीन र महंगो हुनेछ । न त मलाई प्रजनन प्रक्रियाको यो सहायक पद्धतिको अँध्यारो पाटोबारे नै केही थाहा थियो । मलाई यो व्यवसाय एक अत्यधिक 'फाइदाजनक' रहेको र यसले कतिपय कानून र नियमविपरीत काम गर्छ भन्ने पनि थाहा थिएन ।
मेरो शरीरमा विभिन्न हर्मोनहरू 'पम्प' गरिएको कैयौं वर्ष भइसकेको थियो । म र मेरो श्रीमानले बच्चा जन्मेको खुसी पाउनुभन्दा अगाडि नै ५० हजार डलर खर्चिसकेका थियौं ।
आईभीएफ क्लिनिकका वेबसाइटहरू, सामाजिक सञ्जालमा मुस्कुराएका आमाबाबु र उनीहरूको नयाँ बच्चाका तस्वीरहरू हेर्दाहेर्दै म ४० वर्षको उमेरमा आईभीएफबाट टाढा भएँ ।
आईभीएफबाट बच्चा नभएपछि टुटेको मेरो मन, फुलेको शरीर, ममाथि प्रयोग गरिएका सिरिन्जहरूले भरिएको कन्टेनर र कहिल्यै बच्चाको रूप लिन नसकेको तर आँखामा धुमिलो चित्र भएको कालो/सेतो रंगको भ्रुणको आकार लिएर म फर्कें ।
मैले अर्को दशक आईभीएफबारे अनुसन्धान गर्न, यसबारे लेख्न र विश्वभरका महिला तथा पुरुषहरूलाई चिन्नमा बिताएँ, जसलाई आईभीएफ पद्धतिले धोका दिएको थियो । अचम्म मान्नुपर्दैन, ज-जसले यसबाट कष्ट भोगे उनीहरू सार्वजनिकरूपमा आफ्नो अनुभव साझा गर्न सकिरहेका छैनन् ।
उनीहरूलाई त्यो अनुभवले थप कष्ट दिन सक्छ । कतिपयको मुद्दा अदालतमा चलिरहेको या फैसला भइसकेको हुनाले पनि उनीहरू सार्वजनिक रूपमा बोल्न सक्दैनन् ।
मैले पहिलोपटक आईभीएफ परामर्श लिइरहेका बेला अमेरिकाको जोन्सन सिटी, टेनिसीको सेन्टर फर एप्लाइड रिप्रोडक्टिभ साइन्सका निर्देशक डा. साम थ्याचरले आईभीएफको नकारात्मक पक्षबारे लेखेका थिए ।
पहिलो टेस्ट ट्युब बेबी ब्राउनको जन्म भएको २१ वर्षपछि ती डाक्टरले आईभीएफ उद्योगमा देखिएको आत्म-नियमनको अभाव र बिरामीको हेरचाहभन्दा पनि नाफालाई दिइएको प्राथमिकताबारे चिन्ताको आवाज उठाएका थिए ।
आफ्नो लेखमा उनले १९८० को मध्यसम्म सञ्चालित यस्ता 'सहायक प्रजनन प्रविधि' कार्यक्रममध्ये आधाभन्दा बढी सफल नभएको उल्लेख गरेका थिए । तर ती सबैले अस्वाभाविक रूपमा पैसा कमाएको उनले आफ्नो लेखमा प्रमाणसहित प्रकाशित गरेका थिए ।
सन् २००९ मा आफ्नो मृत्यु हुनुअघि डा. थ्याचरले यस्ता क्लिनिकहरूले अस्वस्थ प्रतिस्पर्धा गर्न बिरामीको तथ्यांक हेरफेर गर्ने मात्र होइन, नाफाका लागि चिकित्सा क्षेत्रमै प्रयोगमा नआउने विभिन्न प्रविधिहरूको पनि विज्ञापन गरेको खुलासा गरेका थिए ।
डा. थ्याचरसँगै अन्य खोजकर्ता र लेखकहरूले त्यसपछि आईभीएफको अँध्यारो पाटोबारे लेखेर क्लिनिकहरूले बाँड्ने गरेको झुटो सपनाबारे उजागर गर्न थाले ।
आईभीएफ प्रक्रियाका आविष्कारकमध्ये बेलायतको युजेनिक्स सोसाइटीका सक्रिय सदस्य रहेका नोबेल पुरस्कार विजेता रोबर्ट जी एडवर्डसले एकपटक लेखेका थिए, 'यो आमाबाबुले आफ्नो सन्तानमाथि गरेको पाप हो, यो प्रक्रियामार्फत जन्म भएका बच्चाहरू आनुवंशिक रोगको भारी बोक्नेछन् । हामी यस्तो संसारमा प्रवेश गरेका छौं, जहाँ हामीले आफ्ना बच्चाहरूको गुणस्तरलाई विचार गर्नुपर्छ ।'
एडवर्डस र आईभीएफका अर्का सह-आविष्कारक प्याट्रिक स्टेप्टोले सन् १९६९ र १९७८ को बीचमा इङ्गल्यान्डको ओल्डहाममा सयौं महिलाहरूमा यो प्रविधि प्रयोग गरेका थिए । 'ओल्डहाम इभनिङ क्रोनिकल'ले ४ सय ९५ पटक असफल भएको आईभीएफ चक्र पार गर्ने २ सय ८२ महिलाहरूको कथा लेख्न खोजिरहेको छ ।
तीमध्ये एक महिला सान्ड्रा क्रासले आईभीएफको असफल प्रयोगबारे गुनासो गर्दै लेखेकी छन्, 'सयौं आईभीएफ चक्र पार गर्दा मैले मेरो पाठेघर गुमाउनु पर्यो । मेरो शरीरको मासिक चक्र बिग्रियो र मलाई यसले छिट्टै बुढ्यौली उपहार दियो ।'
यस उद्योगले समातेको नाफाको प्राथमिकता र स्वतन्त्र निरीक्षणको कमीले धेरै प्रश्न र चिन्ता खडा गरिरहन्छ । यसै वर्षको शुरूमा क्लिभल्यान्ड र सन फ्रान्सिस्कोमा रहेका दुई क्लिनिकमा प्रयोग गरिएका उपकरणहरू खराब रहेको समाचार आएका थिए । ती उपकरणहरूले जमेको भ्रूणलाई थप खतरामा पारेका थिए ।
अमेरिका र युरोपमा रहेका यस्ता धेरै क्लिनिक पैसा कमाउनका लागि मात्र खोलिएको र त्यसले मानवको स्वास्थ्यमा गम्भीर असर गर्ने खालको अभ्यास गरिरहेको धेरैको अनुमान छ ।
एनबीसी न्यूजले यस्ता क्लिनिकहरूमाथि कानूनी कारबाहीको प्रक्रिया शुरू नभएसम्म त्यहाँ हुने गम्भीर प्रकारका समस्याहरू खुलासा हुन नसक्ने समाचार प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।
एनबीसी आफ्नो रिपोर्टिङका क्रममा आईभीएफ र सम्बन्धित काम गर्ने ४ सयभन्दा बढी प्रयोगशालालाई मान्यता दिएको अमेरिकी प्याथोलोजिस्ट कलेजमा पुगेको थियो ।
एआरटी(एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी) सञ्चालन गरिरहेका यस्ता प्रयोगशालाहरूमा दुई वर्षमा एकपटक मात्र निरीक्षण गरिने तथ्य उक्त रिपोर्टिङका क्रममा पत्ता लागेको थियो ।
कलेज अफ अमेरिकन प्याथोलोजिस्टका एक प्रवक्ताले एनबीसीलाई भनेका थिए, 'उपकरणको खराबीका कारण हजारौं भ्रूणहरू बच्चा बनेर जन्म लिन नसक्ने सम्भावनाबारे जनतालाई सचेत नगराएसम्म यस्ता क्लिनिक आफैंले केही पनि गर्दैनन् ।'
दुर्भाग्यवश यस्तो उद्योगले आत्म-नियमन मानेको छैन । यस्ता क्लिनिकहरूलाई उत्तरदायी बनाउनुको साट्टो अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनले एउटा अप्रिय बयान जारी गर्दै क्लिनिकहरूको गैर-जिम्मेवारीलाई 'प्रजनन तन्तु खराब भएको' भनेर पन्छाउने काम गर्यो ।
अहिले विश्वव्यापी रूपमा आईभीएफ उद्योगको बजार १५ बिलियन डलरभन्दा बढी छ । धेरै क्लिनिकले आईभीएफ र डिम्बाशयबाट उत्पन्न हुने 'एग'को चिस्यानमा जोड दिएका छन् । धेरैले आफ्ना बिरामीहरूलाई खराब ढंगले परीक्षण गरिएका सेवाहरू उपलब्ध गराउने गर्छन् ।
बेलायतमा अघिल्लो वर्षदेखि नै यसबारे नयाँ कानून बनाइएको छ । जसअन्तर्गत बिरामीलाई उपलब्ध गराउने सम्पूर्ण सेवा र त्यसको मूल्यबारे पहिल्यै विस्तृत रूपमा बताउनुपर्छ ।
क्लिनिकल अभ्यास र बिरामीलाई उपलब्ध गराउने सुविधाको अनुगमनभन्दा पनि बढी आईभीएफ प्रयोगशालामा प्रयोग हुने औषधि र रसायनबारे बिरामीहरू थप सजग हुनुपर्छ ।
आईभीएफ गराएका महिलाहरूमा क्यान्सर भएका छिटफुट घटनाहरू पनि भेटिएका छन्, तर त्यसबारे धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ ।
विगतमा प्रयोग गरिएका औषधिको प्रभाव मूल्यांकनहरू पनि भइरहेका छन् तर ती मूल्यांकनबाट प्राप्त परिणाम त्यति सुखद देखिन्नन् ।
अमेरिकी अनुसन्धानकर्ता र लेखिका पामेला महनी सिग्दिनोसले स्ट्याटन्यूजका लागि गरेको टिप्पणी लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।