
सिटी एक्सप्रेस मनी ट्रान्सफरले यूएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग’ सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
यूएईस्थित बरदुबईको एस् के–७ क्लबमा सम्पन्न कार्यक्रमको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उद्घाटन गरेका थिए ।
कार्यक्रममा टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए ।
सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीहरूको कमाइलाई सुरक्षित रूपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको टण्डनले बताए ।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै उनले नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिल्ने बताए ।

नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रममा चर्चित हांस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै, कलाकार अञ्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् ।

आफ्नो ग्राहकवर्ग तथा यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले कार्यक्रमको आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘सिटी पे वालेट’मार्फत अनलाइन भुक्तानीको सेवा शुभारम्भ गरेको छ ।

