
सरकारले जिल्ला अस्पतालसँगै विभिन्न स्वास्थ्य प्रतिष्ठानको क्षमता विकास गर्ने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै विशेषगरी आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरण गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिने जानकारी दिए ।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिनेछ ।
त्यस्तै कर्णाली, पोखरा, पाटन, राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५ सय शैय्यामा स्तरोन्नति गरिने जानकारी पुनले दिए ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्याइएको पनि पुनले जानकारी दिए ।
सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास सँगै उपकरण खरिदको लागि बजेट व्यवस्था गरिएको पुनले बताए ।
तीन सय शैय्या वा सो भन्दा बढी क्षमता भएका संघीय अस्पतालमा एमबीबीएस र १०० वा सोभन्दा बढी शैय्या भएका सरकारी अस्पतालमा नर्सिङसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी पुनले दिए । पुनका अनुसार आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती विज्ञान प्रतिष्ठानमा एमबीबीएस सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विकास गरिने जानकारी पुनले दिए ।
उनका अनुसार सिंहदरबार वैद्यखानको क्षमता विकास गरि आयुर्वेद औषधि उत्पादनमा जोड दिइ वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड बजेट विनियोजन गरिएको छ ।