×

आलेख

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

काठमाडाैं | जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो र ऊ सजायको भागीदार हुनुपर्दथ्यो । त्यसैले कर्मचारीले सितिमिति अनैतिक काम वा भ्रष्टाचार गर्ने आँट गर्दैनथे। त्यसबखत कर्मचारीहरू ‘लोभले लाभ, लाभले विलाप’ भनेझैँ सानोतिनो लोभमा फस्दा सधैँका लागि जागिरबाट हात हुनुपर्ने अवस्था थियो।

अहिले कुनै निकायका हाकिमले निर्माण कार्यको जिम्मा लिने ठेकेदारलाई भन्ने गर्छन्, 'काम राम्रोसँग गर्नू है, नत्र कुरो माथिसम्म पुग्छ ।' त्यस्तै घुसखोरी चल्ने अड्डामा मध्यस्थकर्ताबाट प्राप्त हुने घुस रकमको जिम्मा लिने कर्मचारीले भन्छन्, 'यतिले पुग्दैन, माथिसम्म पुर्‍याउनुपर्छ ।' तर, कतिपय सर्वसाधारणलाई के हो त माथि ? र, कहाँ छ त माथि ? भन्ने कुरा जानकारी छैन। यो बुझ्नेले बुझ्छन् र नबुझ्नेलाई सरोकारको कुरै भएन । प्रशासनमा चलिआएको माथि अघोषित शब्द हो, यसलाई कुनै पनि ऐन कानूनमा उल्लेख गरिएको छैन। प्रशासनिक क्षेत्रमा यसलाई सांकेतिक शब्दको रूपमा लिइन्छ।


Advertisment

नेपालभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको संख्या ५८ वटा छ भनेर एउटा आंकडाले देखाएको छ। धन्न अन्तिममा परेन हाम्रो मुलुक । मुलुकमा भ्रष्टाचार शून्य हुन सकेमा मात्र देशले उल्लेखनीय समृद्धि हासिल गर्ने थियो भन्ने कुरा निर्विवाद छ । भन्सारका कर्मचारीले सरकारलाई एक लाख राजस्व आउने सामान एक हजार रुपैयाँ खल्तीमा हालेर छाडिदिन्छन् भन्ने कुरा पनि नसुनिएको होइन। त्यस्तै कर्मचारीकै मिलेमतोमा भ्याट छलीको काम हुने गरेको कुरा पनि प्रकाशमा आइरहन्छन्। सही तरिकाले राजस्व नउठ्दा राज्यकोषमा नोक्सानी भैरहेको भन्ने कुरा पनि सुनिन्छ।


Advertisment

जिल्लागत कार्यालयहरूमा कार्यरत कर्मचारीले माथि भन्नाले विभागका महानिर्देशक वा मन्त्रालयका सचिवलाई सम्झन्छन् भने मन्त्रालयका कर्मचारी मन्त्रालयका सचिवलाई नै र विभागका कर्मचारीहरूले महानिर्देशक वा मन्त्रालयका सचिवलाई सम्झन्छन् । पार्टीका कुनै-कुनै कार्यकर्ताले जिल्लागत सरकारी कार्यालयबाट सेवा लिनुअघि कर्मचारीलाई 'काम छिटो हुनुपर्छ है, नत्र कुरा माथि पुग्छ नि !' भनेर धम्की पनि दिने गर्छन् । पार्टीका कार्यकर्ताले दिने यस्ता धम्कीमा प्रयोग हुने माथि भन्नाले पार्टी कार्यालय वा प्रधानमन्त्री वा मन्त्रीहरूलाई बुझाउँछ । माथि भन्ने शब्द सांगठनिक नभएर नितान्त निजी भाव र अर्थ झल्काउने शब्द हो भन्दा अत्युक्ति हुनेछैन । यस्ता क्रियाकलापले गर्दा राजनीतिक पार्टीहरूको छवि पनि बिग्रँदो अवस्थामा छ। सुशासन कायम गर्न सकेको खण्डमा भने जनताले पार्टीहरूप्रति सकारात्मक दृष्टिकोण राख्नेमा शंका छैन ।

कर्मचारीलाई नैतिकता र इमान्दारितामा लाग्न अभिप्रेरित गर्दा यो माथि भन्ने शब्द राम्रो मानिन्छ भने कर्मचारीलाई धम्की दिनका लागि प्रयोग गर्दा राम्रो मानिँदैन । पहिले-पहिले माथि भनेपछि कर्मचारीहरू डराउने गर्दथे । मेरो बारेमा कुरा माथि पुग्छ कि ? अप्ठ्यारो ठाउँमा सरुवा हुन्छ कि ? घटुवा हुन्छ कि ? ग्रेड रोक्का हुन्छ कि ? भन्ने डरका कारण इमान्दार कर्मचारीहरूले हत्तपत्त गल्ती गर्दैनथे र गर्दैनन् पनि। तर, पैसाकै लागि जे गर्न पनि तयार हुने बेइमान कर्मचारीले भने यस्तो डरलाई वास्ता गर्दैनन् र भ्रष्टाचारमा लिप्त हुने गर्छन्, जसले गर्दा उनीहरू अख्तियारको अनुसन्धानमा पर्ने र वर्षौंसम्म मुद्दा खेप्ने गर्छन् । यसरी भ्रष्टाचारमा लिप्त भएर बेइज्जती कमाएका कर्मचारीका छोराछोरीको विवाह हुन गाह्रो हुन्छ, किनकि समाजले भ्रष्टाचारीको छोराछोरीसँग वैवाहिक सम्बन्ध जोड्दा आफू पनि बेइज्जतीको घेरामा परिन्छ भनेर अप्ठ्यारो मान्ने गरेको पाइन्छ ।

सिंहदरबार नेपालको एक मात्र प्रशासनिक केन्द्र भएकाले माथि शब्दले सिंहदरबारलाई पनि जनाउँछ। सिंहदरबारमा माथिभित्र पनि ‘सहमाथि’ र ‘उपमाथि’ छन्। देशभर छरिएर रहेका तमाम कार्यालयको माथि सिंहदरबार हो भन्नुमा दुईमत छैन । देशभरको प्रशासन सिंहदरबारबाटै चल्ने गरेको सबैलाई जानकारी छ । साथै, ऐन-कानून तथा नियमहरू पनि सिंहदरबारमै बन्ने गर्दछन् । ऐन-नियमहरू शासन सञ्चालनका लागि परिधि बनेका हुन्छन् । कुनै पनि कर्मचारी वा राष्ट्रसेवकले कानूनी परिधि नाघेमा ऊ सजायको भागीदार हुनैपर्दछ, त्यसैले कर्मचारीहरूले ऐन नियमका बारेमा जानकारी लिनु उचित ठहर्छ।

माथि शब्दलाई सकारात्मक सोच्दा

मातहतका कार्यालय वा निकायहरूलाई आदेश वा निर्देशन दिने तथा अनुगमन, निरीक्षण गर्ने निकाय भनेकै तालुक मन्त्रालय तथा विभाग हुन् । मन्त्रालय वा विभागहरूलाई सकारात्मकरूपमा माथिभन्दा फरक पर्दैन । मन्त्रालयका मन्त्री, सचिव तथा विभागका महानिर्देशकहरूले सेवा सञ्चालन गर्ने जिल्लागत कार्यालयलाई ऐन/नियम अनुसारका आदेश वा निर्देशन दिनुपर्दछ । कार्यालयहरूमा कमीकमजोरी, ढिलासुस्ती र भ्रष्टाचारका गतिविधिहरू देखिएमा तत्काल कारबाहीको थालनी गर्नुपर्दछ । यस कार्यलाई माथिबाट दिइएको आदेशभन्दा पनि फरक पर्दैन। यो माथि को सकारात्मक रूप हो।

माथि शब्दलाई नकारात्मक सोच्दा

जिल्लागत हाकिमले रिस साँध्नका लागि मातहतका कुनै कर्मचारीलाई दुःख दिनुपर्दा 'कुरो माथि पुग्छ है' भन्नु राम्रो होइन। कसैले कुरा लगायो भन्दैमा कुनै कर्मचारीलाई दुःख दिनु प्रशासनिक अपराध नै हो। त्यस्तै जिल्ला तहका राजनीतिक नेता वा कार्यकर्ताले कर्मचारीलाई धम्क्याएर 'कुरो माथि पुग्छ है, जसरी भए पनि हाम्रो मान्छेको काम हुनुपर्छ, नत्र…' भनियो वा धम्की दिइयो भने त्यो माथि शब्दको दुरूपयोग भएको मानिन्छ। यो माथिको नकारात्मक रूप हो ।

व्यक्तिगत रूपमा

माथि भनेपछि मन्त्री वा सचिव वा महानिर्देशक बुझ्न थालियो भने यो नितान्त व्यक्तिगत ठान्नुपर्छ। मन्त्री, सचिव वा महानिर्देशकले मातहतका निकायमार्फत लिखित पत्र पठाएका आदेश वा निर्देशनलाई व्यक्तिगत भनिँदैन। तर, सिधै जिल्लागत वा केन्द्रमै रहेका अन्य शाखा कार्यालयमा रहेका कार्यालयका कुनै कर्मचारीमाथि कारबाही गरिन थालियो भने यहाँ माथिलाई व्यक्तिगत रूपमा लिइन्छ। कारबाहीका विषयमा पत्राचार गरी पठाउँदा भने माथिलाई व्यक्तिगत भनिँदैन। कर्मचारीहरू माथि भनेपछि विशेष रूपमा सतर्क रहन्छन्। यो माथि सामन्तवादी शब्दजस्तो लागे तापनि कर्मचारीहरूलाई सतर्क गराउने शब्दको रूपमा पनि लिने गरिन्छ।

भ्रष्टाचारको कुरा गर्दा हामी विकराल अवस्थामा छौं । घरिघरि अख्तियारले भ्रष्ट कर्मचारीलाई समातेको र विशेष अदालतमा मुद्दा दायर गरिएको समाचार आइरहन्छ । अख्तियारको छानबिनको दायरामा पर्नेमा स्थानीय तहका पदाधिकारीहरू पनि छन्। एउटा आकर्षक कार्यालयबाट अर्को आकर्षक कार्यालयमा सरुवा भएर जाने केही बदनाम कर्मचारीहरूको चलखेल भई नै रहेको पाइन्छ ।

कालोधन थुपार्नेहरूमा भ्रष्ट कर्मचारीहरू पनि पर्दछन् । सहायकस्तरको कर्मचारीले राजधानीमा एकभन्दा बढी घर जोडेका समाचार पनि नआएका होइनन् ।

भ्रष्ट कर्मचारीले तराईमा बिघाका बिघा जमिन जोडेको खबर पनि आई नै रहन्छन्। विलाशी जीवन जिउने महत्त्वाकांक्षा पालेर बस्ने कर्मचारीहरूले आलिसान महल र सुविधायुक्त गाडी जोडिसकेका हुन्छन् र धनमाथि धनको थुप्रो जम्मा गर्ने दाउमा रहिरहन्छन्। यस्ता कर्मचारीहरू सेटिङमा निकै सक्रिय देखिन्छन्। यिनीहरूले माथिसम्म नै भाग पुर्‍याउने हुँदा यस्ता भ्रष्ट कर्मचारीमाथि कारबाही हुनेमा शंका नै उत्पन्न हुने गर्दछ ।

'माथिबाट बच्नुपर्छ'

सबै कर्मचारीले नियुक्तिपूर्व लिइएको शपथलाई सदैव मनन गरिराख्नुपर्दछ। दाम कमाउने धुनमा सो शपथलाई चटक्कै बिर्सिएर कुकर्ममा लाग्यो भने शपथले कुनै अर्थ राख्दैन। शपथलाई पैँतालामुनि कुल्चिएर दाम मात्र कमाउन थालियो भने त्यसलाई गद्दारी भनिन्छ। कर्मचारीहरूले सर्वसाधारण सेवाग्राहीमा सेवाप्रवाह गर्दा सेवाभावमा नै बढी ध्यान केन्द्रित गर्नु जरुरी छ। कर्मचारीले खाने तलबको स्रोत नै जनताले तिरेको करबाट बनेको राज्यकोष हो। यसरी जनताले तिरेको करलाई महत्त्व दिनु कुनै पनि कर्मचारी वा राष्ट्र सेवकको कर्तव्य हुन आउँछ। नराम्रो कर्म गर्ने कर्मचारीमाथि उजुरी परेमा कारबाहीको सिलसिलामा माथिबाट अन्तिम निर्णय हुने हुँदा माथिको निर्णय मान्नुपर्दछ र सजायको भागीदार बन्नुपर्दछ । कुनै पनि कर्मचारीले नागरिक बडापत्रमा उल्लेख भएअनुसार सेवाप्रवाह सरल र सहज तरिकाले गर्नुपर्दछ। 

अन्त्यमा,जे होस्, कर्मचारीतन्त्र भनेको मुलुकको स्थायी सरकार हो। यसलाई चुस्त र दुरुस्तरूपले सञ्चालन गराउनमा सबैको ध्यान जानु जरुरी छ। सरकार, नागरिक समाज र सरोकारवाला सबै मिलेमा नेपालको प्रशासनमा सुधार आउने देखिन्छ। इमानदारितापूर्वक सेवा गरेमा कुनै पनि कर्मचारी माथिबाट तर्सिनुपर्दैन । राष्ट्रसेवकले शिर ठाडो पारेर छाती फुकाएर जागिरे जीवन बिताउनु नै सबैभन्दा ठूलो विषय हुन आउँछ। लोभमा फसेको खण्डमा कानूनको दायरामा आउनुपर्ने र सजायको भागीदार बन्नुपर्नेमा दुई मत छैन। कर्मचारीहरूले ऐन, नियम र अन्य नीतिगत निर्णयलाई शिरमाथि राखेर सेवा गर्नुपर्दछ। सरकारले पनि कर्मचारीहरूको पीरमर्का बुझिदिनुपर्दछ ।

उदाहरणका रूपमा पंक्तिकार वरिष्ठ अधिकृतबाट अवकाश भएतापनि श्रेणीविहीन कर्मचारीभन्दा कम निवृत्तिभरण बुझ्नुपर्दा साह्रै मर्कामा परेको छ। श्रेणीविहीन कर्मचारीको भन्दा कम निवृत्तिभरण बुझ्ने हो भने साधारण लेखपढ गरे पुग्नेमा स्नातकोत्तरसम्मको अध्ययन किन गर्नुपर्‍यो ? र, वरिष्ठ अधिकृतसम्म किन पुग्नुपर्‍यो ? यसतर्फ पनि सरकारको ध्यान जानु जरुरी छ ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x