
महाधिवेशन भएको साढे २ वर्षसम्म पनि नेपाली कांग्रेसका पार्टी संरचनाहरू अझै पूर्ण हुन सकेका छैनन् । पार्टीमा बलियो प्रभाव रहे पनि सभापति शेरबहादुर देउवाले महत्त्वपूर्ण पार्टी संरचनालाई साढे दुई वर्षसम्ममा पूर्णता नदिएका हुन् ।
देउवा २९ मंसिर २०७८ मा कांग्रेसको १४ औं महाधिवेशनबाट चार वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए । तर, उनले साढे दुई वर्षसम्म केन्द्रीय पदाधिकारीलाई पूर्णता दिन सकेका छैनन् । अर्थात्, नियमित कार्यकालको आधाभन्दा बढी समय उनले व्यतित गरिसकेका छन् । एकाध निर्णयका आधारमा पूर्ण हुने पार्टी संरचनाका काममा पनि देउवाले चरम बेवास्ता गर्दै आएका छन् । विधानले दिएको ६ महिना होइन, यसमा थप दुई वर्ष बितिसक्दा पनि कांग्रेसका महत्त्वपूर्ण संरचना कि अपूर्ण छन्, कि कामकाजी नै छैनन् ।
कोषाध्यक्षको नियुक्ति, विभागलाई पूर्णता, प्रशिक्षण प्रतिष्ठानलाई सक्रिय बनाउने मात्रै होइन, वर्षौंदेखि टीके प्रथामा अन्त्य गर्नमा पनि देउवाको ध्यान गएको छैन । कांग्रेसका एक प्रभावशाली नेता पार्टीमा सभापति र उपसभापतिबीच आफू मातहतका समितिलाई सक्रिय बनाउने होइन, नबनाउनेमा प्रतिस्पर्धा भएको र जिम्मेवार महामन्त्रीहरूले रमिता हेरेको बताउँछन् ।
‘कांग्रेसमा सभापति र उपसभापतिबीच प्रतिस्पर्धा आफू मातहतका समितिलाई पूर्णता दिएर प्रभावकारी बनाउन होइन, नबनाउन भइरहेको छ,’ ती नेता भन्छन्, ‘१४ औं महाविधेशनबाट त झन् युवा नेता आएपछि पार्टीले नियमित प्रक्रियागत काम गर्छ भन्ने विश्वास थियो । तर अघिल्लो कार्यकालमा भन्दा यसपटक फरक ढंगले पार्टी चल्दैछ भन्ने देखाउन महामन्त्रीद्वय पनि चुक्नुभएको छ ।’
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई–दुई महिनामा केन्द्रीय समिति बैठक गर्ने विषय निर्णयको रूपमा आए पनि यसको पालना भएको छैन । निकै हल्लाखल्ला गरेर केन्द्रीय समिति बैठकलाई एकपटक लाइभ गरिए पनि एकाध बस्ने बैठक लाइभ हुन छाडेको छ ।
पार्टीलाई चलायमान बनाउन आन्तरिक क्रियाशीलतालाई अगाडि बढाउनुपर्ने भए पनि युवा पदाधिकारी नेता पनि चुक्दै आएका छन् । महामन्त्रीहरूको जिम्मेवारी पार्टी कार्यालय सञ्चालन गर्ने र सभापतिलाई सहजीकरण गर्ने, पार्टी बैठकका निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउनेसहित छन् । तर, महासमितिले तामझामपूर्ण रूपमा गरेका निर्णयसमेत अलपत्र परेको महिनौं भइसकेको छ । सामाजिक सञ्जाल र मिडियामा प्रतिक्रिया दिन रुचाउने तर, पार्टीका संरचनालाई जीवन्त बनाउन भूमिका नखेल्ने भन्दै युवा नेताको पनि विरोध हुन थालेको छ ।
कोषाध्यक्ष मनोनीत गर्न बेवास्ता
१३ औं निर्वाचित पद भएकाले सभापति अनुकूलको कोषाध्यक्ष निर्वाचित नहुने बहाना देखाउँदै १४ औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था गर्यो । सभापतिको अनुकूलताको निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै मनोनीत गर्ने वैधानिक व्यवस्था छ । तर, देउवाले आफू अनुकूलका नेतालाई पार्टीको कोष चलाउने जिम्मा अझै दिन सकेका छैनन् ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि कोषाध्यक्ष नहुँदा पार्टीमा अप्ठ्यारो परिरहेको बताए ।
‘पदाधिकारीमा कोषाध्यक्ष सभापतिले स्वविवेकमा मनोनीत गर्न पाउने पद हो । तर, लामो समयदेखि होल्ड भएको छ । केही कुराले होल्ड गर्नुभएको होला,’ विश्वकर्मा भन्छन्, ‘भरोसा र विश्वास गर्ने नेताको खोजीमा सभापति हुनुहोला । तर, लामो समयसम्म जिम्मेवार पदाधिकारी पार्टीमा नहुँदा अप्ठ्यारो परेको छ ।’
यो पदका लागि देउवाका विश्वासपात्र त्रय ज्ञानेन्द्रबहादुर कार्की, उमेश श्रेष्ठेदेखि जीपछिरिङ लामासम्म दाबेदार छन् । तर, देउवाले यी कसैलाई पनि यो पद दिएका छैनन् । व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी पनि यो पदका लागि उत्तिकै आकांक्षी छन् ।
आफूनिकटकाले नै दाबेदारी गरेपछि देउवाले सबैलाई यो पद तेरै हो भनेर अहिलेसम्म आश्वासन दिँदै आएको तर जिम्मेवारी नदिएको नेताहरू बताउँछन् ।
‘सभापतिसँग ट्युनिङ मिलेन भनेर १४ औं महाधिवेशनदेखि कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था गरियो । अनुकूलको मान्छे मनोनीत गर्न यत्रो समय नलाग्नु पर्ने हो, किनकि अर्को गुटका कुनै नेतालाई नदिए पनि सभापतिलाई छुट छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘आफैं निकटका दाबेदार धेरै भए पनि सभापतिले अहिलेसम्म पद दिनुभएन, तर आश्वासन दिइराख्नुभएको छ ।’
तर, संसदीय बोर्डमा बसेर चुनावमा टिकट दिन सक्ने शक्तिशाली र पार्टीको कोष चलाउन सक्ने यो महत्त्वपूर्ण पद लामो समयदेखि खाली रहँदै आएको छ ।
कोषाध्यक्षको अभावमा महामन्त्री गगन थापा र केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको कोष चलाइरहेका छन् । १६८ सदस्यीय केन्द्रीय समितिमा अझै एक महिला केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छ ।
नीति प्रतिष्ठान कामविहीन
पार्टीको तल्लो तहसम्म प्रशिक्षण पुर्याउने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पनि कांग्रेसमा सक्रिय हुन सकेको छैन । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सदस्य नियुक्त भएर यसले देशव्यापी प्रशिक्षणको कार्यक्रमलाई प्रभावकारी बनाउन सकेको छैन ।
खड्काले अघिल्लो वर्षको वैशाखमै प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्यलाई नियुक्त गरेका थिए । उनले केही जिल्ला घुमेर कार्यक्रम गर्न खोजे पनि सदस्यको अभावमा देशव्यापी प्रभावकारी प्रशिक्षण चल्न नसकेको कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारी बताउँछन् ।

विभाग पनि नाम मात्रका
यसअघि सुशील कोइरालादेखि देउवाको पहिलो कार्यकालमा केन्द्रीय विभागहरू बन्नै सकेका थिएनन् । यसपटक ४८ बाट बढाएर ७० पुर्याउने निर्णयका साथ कांग्रेस अघि बढेको छ । सभापति देउवाले १८ वटा विभागीय प्रमुख नियुक्त गरेका छन् ।
विभागीय जिम्मेवारी दिइएकामध्ये प्रचार विभागमा ३५ जना सदस्य मनोनीत भएका छन् । अन्य ७ वटा जतिमा १० जना हाराहारीको संख्यामा सदस्य मनोनीत हुनेबाहेक अरू विभाग अलपत्र नै छन् । पार्टीको तल्लो तहका नेता/कार्यकर्तासम्मलाई पार्टीमा जिम्मेवारी दिएर काम लिन सकिने अवस्था यी विभागमार्फत हुन्छ । तर, संख्या बढाउन हतार गरेको कांग्रेसले बल्ल विभागीय जिम्मेवारी दिए पनि सदस्य थपेर तलसम्मै पार्टीलाई सक्रिय बनाउन सकेको छैन ।
प्रचार विभाग प्रमुख विश्वकर्मा सहमति जुट्दै गएका विभागमा प्रमुख र सदस्य चयन भएपनि धेरैमा बाँकी रहेको बताउँछन् । ‘छिटो गर्नुपर्छ भन्ने कुरा स्वाभाविकरूपमा ठीक हो, तर सहमति जुटेकामा गर्दै आइएको छ । सहमति हुन नसकेका खाली छन्,’ विश्वकर्मा भन्छन्, ‘बाँकीलाई पनि छिटो पूर्णता दिएर चलायमान बनाउनुपर्छ ।’
भ्रातृ संस्थामा उस्तै अन्योल र भद्रगोल
कांग्रेसको नेतृत्वका अहिलेका अनुहार हेर्ने हो भने लगभग सबैको पृष्ठभूमि नेविसंघ, तरुण दल र महिला संघ नै हो ।
कांग्रेसमा यी संस्था नेता उत्पादन गर्ने नर्सरीको रूपमा स्थापित थिए । तर पार्टीभित्रको गुट र उपगुटको शिकार हुँदा कांग्रेसका यी नर्सरी वर्षौंदेखि सुकेका छन् ।
१० देखि १५ वर्षसम्म महाधिवेशन नै नगरी यी महत्त्वपूर्ण भ्रातृ संस्था टीके प्रथामा चल्दै आएका छन् । तर, पार्टीबाट टीका लगाएर पदाधिकारी र सदस्य बनेकाले न समयमा महाधिवेशन गरेका छन्, न पार्टीले नै सहजीकरण गरेको छ ।
नयाँ पुस्ताले पनि महाधिवेशन गर्नभन्दा नेताबाट आशीर्वाद पाएर पदाधिकारी र सदस्य बन्ने र सिनियर नेतासँग सम्बन्ध सुधारलाई नै उपलब्धि ठान्दै आएको छ ।
कांग्रेसका नेविसंघ, तरुण दल, महिला संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, भूतपूर्व सैनिक संघ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसहितका भ्रातृ संस्था वर्षौंदेखि तदर्थवादमा चल्दै आएका छन् ।
आजका चर्चित नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरेहरू नेविसंघबाटै उदाएका हुन् । तर, उनीहरूको पुस्तापछि उनीहरूलाई काउन्टर दिनेगरी कोही पनि विद्यार्थी नेता कांग्रेसमा उदाएका छैनन् ।
सबै सिनियर नेताको पृष्ठभूमि पनि नेविसंघ र तरुण दल नै हो । तर, न सिनियर, न त जुनियर पार्टीमा नेता उत्पादन गर्ने नर्सरीलाई हुर्काउन कोही पनि संवेदनशील भएका छैनन् ।
कांग्रेस नेता गुरु घिमिरे पुरानो पुस्ताको नेतृत्वलाई बदलिएको विस्तारित बोझ थाम्न समस्या भएको बताउँछन् ।
‘परम्परागत नेतृत्व भएकाले आधुनिक लोकतान्त्रिक मूल्य, विधि, विधान र पद्धतिमा चलाउन, अगाडि बढ्न चाहनुभएको देखिएन । पुरानो नेतृत्व विधिको लागि लडाईं लड्दै आयो, तर पार्टीलाई विधिमा हिँडाउन समस्यामा देखिएको छ । कठिन समयमा काम गरे पनि खुला स्थितिमा विस्तारित बोझ थाम्नमा उहाँहरूलाई समस्या देखियो ।’
युवा पुस्ता पनि रचनात्मक होइन, प्रतिक्रियामा सीमित हुँदा पार्टीमा बेथितिको चाङ बढेको टिप्पणी गर्छन् ।

‘परम्परागत ढर्रा एकातिर हुँदा थुप्रै युवा नेताहरू पदाधिकारीमा पुग्नुभएको छ । उहाँहरू बोल्नुहुन्छ, तर परिणाम देखिँदैन । सभापतिले गर्नुभएन भन्नुहुन्छ, तर बोल्नेसम्मको परिपाटीबाट काम गर्ने ठाउँमा उहाँहरू अझै पुग्नुभएको छैन,’ घिमिरे भन्छन्, ‘अपेक्षा, परिणामको छ, तर १४ औं महाधिवेशनको आधा कार्यकालसम्म पनि युवा नेता र पदाधिकारीले काममा हस्तक्षेप र अवरोध गरेको देखिँदैन ।’
आधाभन्दा बढी कार्यकाल गुज्रिँदा पनि पार्टीले यो नयाँ गर्यो भनेर देखाउने तथ्य नभएको उनले बताए ।
‘आधाभन्दा बढी कार्यालय गयो । नीति महाधिवेशनमा भएन । चार महिनामा चल्दैछ, तर महासमितिको निर्णय अहिलेसम्म के भयो कसैलाई थाहा छैन । पार्टीका आन्तरिक संरचना र भ्रातृ संस्थाको भद्रगोल त टीठलाग्दो छ,’ घिमिरे भन्छन्, ‘यीबाट के देखिन्छ भने हामी कामकाजी छैनौं, वैयक्तिक छौं । राष्ट्रिय राजनीतिको कुरा गर्छौं, तर आन्तरिक काममा केही प्रगति गर्दैनौं भन्ने देखाउँछ ।’
विधानविपरीत नेविसंघ ७ सय र तरुण दल ४ सय सदस्यको तदर्थवादमा चलाइए पनि यस्तो विकृतिविरुद्ध कोही नबोलेको घिमिरे बताउँछन् ।
‘भ्रातृ संस्था १० औं वर्षदेखि तदर्थवादमा छन् । विधानले नेविसंघ ७ सयको र तरुण दल ४ सय सदस्यको भनेर चिन्दैन,’ घिमिरे भन्छन्, ‘स्थिति हरेक संरचनाको यस्तो छ कि परिणाम पनि नदिने अवैधानिक काम पनि नरोक्ने स्थिति छ । यस्तो स्थितिले अब पार्टीमा १५ औं महाधिवेशनमा नतिजा खोज्ने र थप ध्रुवीकरण गराउने स्थिति छ ।’
पार्टीको यस्तो बेथितिले ९ लाख क्रियाशील सदस्यता भएको पार्टीका ८ तहका संरचनालाई कामकाजी बनाउन नसकेको उनी बताउँछन् ।