
थाहा छैन कति छन्
उसको उन्मुक्त हाँसोसँग बिच्किनेहरू
थाहा छैन कति छन्
उसको स्वतन्त्र उडानको आरिस गर्नेहरू
खै कति छन्
उसको हौसला देखेर इष्र्या गर्नेहरू, आत्तिनेहरू ।
सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलालाई देखेको छ । पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ । सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई कवितामा सुमिनाको विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।
त्यसैले पनि उनका कविताका प्रत्येक हरफ छिचोल्दै गर्दा सजिलैसँग थाहा पाउँछौं– हाम्रो उन्मुक्त हाँसोसँग बिच्किनेहरू ।
उनका स्पष्ट वैचारिक सशक्त बुझ्न गाह्रो छैन । कविताले प्रष्ट वैचारिक क्रान्तिको बाटो देखाएको छ । स्पष्ट विचारसहित आह्वान गरेको छ, महिलालाई विद्रोहको । माक्र्सवादको जगमा उभिएर विद्रोह लेखिएको कवितासंग्रहभित्र केही ठाउँ भावुकताले भरिएको छ । कविताका केही खण्ड अनावश्यक लमेतान्न भावनाका शब्दमा अल्मलिएको छ । जसले उनको खरो विद्रोही चेतलाई ल्यान्डिङ हुने ग्राउन्ड दिन अलमल गरिरहेको पनि लाग्न सक्छ ।
विद्रोहको प्रमुख शर्त नै स्वअनुभूति हो । यसको अर्थ व्यक्तिपिच्छे फरक–फरक हुन पनि सक्दछ । त्यसैले पनि होला १ कतैकतै सुमिना आफ्नै विचारमा विरोधाभास पनि देखिएकी छिन् कि भन्ने भान हुन्छ ।
विद्रोह र भावुकताबीचको अन्तरद्वन्द्वले कवितामार्फत सुमिनाले देखाउन खोजेको बाटोलाई अल्मलाएको छ । खण्ड–खण्डमा राखिएका उनका कविताले विद्रोह त बोल्छ, तर वैचारिकतामाथि उनले नचाहिँदो तरिकाले अनावश्यक भावुकता पोखेकी हुन् कि भन्ने महसुस हुन सक्छ । कतै–कतै ‘बागी स्त्री’ भावनामा बहकिन पुग्छे ।

सुमिनाले पुँजीवादी समाजको सौन्दर्यशास्त्रलाई कवितामार्फत कट्टर आलोचना गर्न छोडेकी छैनन् । तर, सौन्दर्यशास्त्रलाई आलोचना गर्दै उभिँदा त्यसका प्रतिध्वनिले आफूलाई पनि प्रश्न गर्छ भन्ने उनले बिर्सेकी छिन् । आजको पाठक प्रगतिशील विचारधारा शब्दमा होइन, व्यवहारमा देख्न चाहन्छ । यद्यपि, कविता र लेखबाट नै हो, पाठकले सर्जकको विचारधारा पहिल्याउने । लेखक वा कविको लेख र व्यवहारका अन्तरबारे समय-समयमा चर्चा हुने नै गर्छ । यसबाट सुमिना पनि अछुतो नहुने कुरै भएन !
कविताहरूमा सुमिनाले परम्परागत सौन्दर्य मापदण्डलाई अस्वीकार गरेकी छिन् । कविता लेखेकी छिन्, आफ्नो बदलिएको सौन्दर्यचेतमार्फत । र, यथास्थितिवादबाट माथि उठेर ‘बागी स्त्री’ले स्वीकारेकी छिन्, चेतनाको विकास समय, समाज र अनुभवले पनि बद्लिँदै जान्छ ।
मैले दशकौँपछि
बदलिएको सौन्दर्यचेतसँगै
मुक्त गरेकी छु आफूलाई
रङहरूको
– लामो कारागारबाट
– मगमगाउने अत्तरहरूको असरबाट
– भ्रमको सम्मोहनबाट
– मिथ्या प्रशंसाबाट । (खण्ड ४)
कवितामा सुन्दर शब्दको शाब्दिक अर्थ बदलिएको बताउने सुमिनाको व्यवहारिक भाव के छ रु उनले निन्दा गरेकी छिन्, कृत्रिम शृङ्गारको । खरो रूपमा उत्रिँदै भनेकी छिन्, कृत्रिम शृङ्गारमा सजिनेलाई कस्मेटिक गुडिया, जो ‘सो पिस’ हुन् उनका कवितामा । पुँजीवादी समाजले महिलालाई उपभोग्य वस्तु बनाएकोमा आलोचना गर्छिन् तर नचाहँदा–नचाहँदै ‘कस्मेटिक गुडिया’ बनेकाबारे बोल्न छुटाएकी छन् । आखिर यो पनि त समाजकै एउटा पाटो हो ।
पाउडर, लिपिस्टिक आदि इत्यादि शृङ्गारमा अल्झिँदाको विरोधाभास सुमिनालाई थाहा नै छ । समाजले कोरेको सुन्दरताको मानचित्रको मनोविज्ञान जरा गाडेर बसेको छ हामीभित्र । कवितामा कथित सौन्दर्यशास्त्रको मानचित्रबाट मुक्त र रूपान्तरण भएकी उनको व्यावहारिक पाटो कस्तो छ रु प्रश्नको विषय हो ।
पुँजीवादले कसरी सौन्दर्यका मापदण्डहरू लागू गर्छ र त्यसको ब्ल्याकहोलभित्र महिलाहरू कसरी फस्दै स्वीकार गर्न पुग्छन् रु सुमिनाले प्रस्ट्याउन चुकेकी छिन् । मुक्तिका कविता त लेखेकी छिन्, तर सामाजिक विम्बबाट मुक्त हुन नसकेको पो हो कि !
सौन्दर्यको मापदण्डभित्र रहिरहे यसले उनको आलोचनाको स्थिरतामाथि प्रश्न उठाउँछ । आलोचना गरेका सामाजिक मान्यताहरूको व्यक्तिगत पालनाले उनको तर्कलाई बलियो वा कमजोर बनाउने महत्व राख्छ ।
उसो त यो समस्या उनको मात्र होइन, विश्वव्यापी रूपमा नै यो एक आलोचित मुद्दा हो । एक मुखर महिलावादी र संयुक्त राष्ट्र महिला सद्भावना राजदूत एस्मा वाटसन कोरिएको सुन्दरताको मानचित्रको खरो आलोचना गर्छिन् । सार्वजनिक व्यक्ति र सेलेब्रिटीका रूपमा भने उनी शारीरिक सुन्दरतालाई प्राथमिकता दिएर नै सहभागी हुिन्छन् । यसले सुमिनाको मात्र होइन, कृत्रिम सुन्दरतालाई अस्वीकार गर्ने सबैको तर्कलाई कमजोर बनाउँछ । हामीभित्रै रहेको यो विरोधाभासले हरेक महिलाको आन्दोलनमाथि नै चुनौती खडा गरिरहेको पनि आजको सत्य हो ।
परिवर्तनको युगचेतना बोकेका नयाँ पुस्ताहरूलाई
जसलाई भयभीत भएर होइन
युगले हार्दिकताका साथ ग्रहण गरोस्
आउनुहोस्
हामी एउटा यस्तो ग्रन्थ निर्माण गरौंँ । (खण्ड ३)
सुमिनाको कविताको सबल पक्ष के छ भने उनले महिला मात्र नभइ श्रमिक र दलितको उत्पीडनलाई लेखेकी छन् । उनको वैचारिक क्रान्तिले स्वतन्त्रताको आह्वान गर्छ । उनको विद्रोहको झिल्कोले प्रश्न गरेको छ, समाजको व्यवस्था र संरचनामा, जसको पिँधमा थिचिएर बसेका छन्, वर्षौँदेखि सीमान्तकृतहरू । परिवर्तनको युग खोजेको उनको कविताले यी आवश्यक विषय समेट्ने नै भए ।
तिम्रो राष्ट्रियताको ‘शान’ भनेर
तिम्रो स्वाभिमान भनेर
शिरबाट अहङ्कार गरिरहेको
तिम्रो ढाकाटोपीसँग सोध
को हो त्यसको निर्माता ?
को हो आदिम शिल्पकार ?
उनले बिर्सिएकी छैनन्, उठाउन सवाल भूगोलले शोषित दमितहरूको पक्षमा । चेतना बोकेको ‘ग्रन्थ निर्माण’का लागि हिँडेको सुमिनाको कविताले सबैको अस्तित्व स्वीकार गर्यो, तर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दामा नेपाली साहित्यले जसरी आजसम्म बाइपास गर्दै आएको छ । युवा पुस्ताकी प्रखर प्रगतिशील कविसमेत त्यसैमा उभिइन् ।
अस्तित्व लडाइँको ‘महासमर यात्रा’मा निस्किएकी सुमिनाले सायद बिर्सिइन् कि अल्पसङ्ख्यकको अस्तित्व १ जसरी उनलाई थाहा छ, महिलाअधिकारको लडाइँमा वर्गीय सङ्घर्ष, सीमान्तकृत, श्रमिक सबै सबैको आवाज जरुरी छ अर्थात् पहिचान र आत्मसम्मानको लडाइँ केवल एउटै वर्गको मात्रै पेवाको विषय होइन । सप्तरङ्गी समाजमा हरेक वर्ग एकआपसमा सम्बन्धित छन् ।
‘बागी स्त्री’ समाजको यो विविधता र त्यसले प्रतिपादन गरेका चुनौतीबारे थप गहिराइ र अधिकारको जटिलता बुझ्न सक्रिय भइनन् । समावेशीता खोज्ने सुमिना आफ्नो साहित्यमा अरूको अस्तित्व बाइपास गर्ने हिम्मत गर्ने पात्र त पक्कै होइनन् । पितृसत्ता र पुँजीवादी प्रणालीको खरो व्याख्या गरेकी उनले लैङ्गिक अल्पसङ्ख्यकको मुद्दामा मौन छिन् । यसको अर्थ साहित्यमा आएका नयाँ पुस्ताले यी विषयलाई बहिष्कार गरेका हुन् त रु जवाफ कविसँगै होला १
शुरूवातमा गरम बनेकी सुमिना बीचमा नरम लाग्छिन् । जुन गतिमा उनको खरो प्रतिवाद झल्किएको थियो त्यसमा सुमिना कविताका पछिल्लो खण्डमा आन्तिरक सङ्घर्षमा रुमलिन्छिन् यद्यपि यसबाट हामीले बुझ्न सक्छौँ, समाजको उत्पीडनले बागी बनाइएका स्त्रीहरूको आन्तरिक सङ्घर्ष, जो स्वतन्त्रताको बिगुल फुक्छन् तर स्त्रीत्वको प्रेमिल भावहरूमा अल्झिरहेका छन् । यो प्रेमिल भाव भने प्रगतिशील सुमिनाको बाटामा कमजोर रूपमा प्रस्तुत हुन सक्छ ।
उनको नारीवादी आलोचना र मुद्दाको प्रभावलाई भावनात्मक कवितासँग मिसाएर हेर्दा कमजोर देखिन्छ । प्रेमको विषयमा सुमिना प्रेमिल मात्र प्रस्तुत भएकी भने होइनन् । सुमिनाले प्रेमभित्रको दासत्वलाई चित्रण गरेकी छन् । उनले देखाएकी छिन्– प्रेममा महिला दास बनेको ।

प्रेम कुनै राज्य होइन
शक्ति होइन
जसले एकअर्कामाथि आफ्नो स्वामित्व खोज्छ– (निरङ्कुशता)
सुमिनाले प्रेमको आदर्शवादी दर्शन र शोषणको चित्रण गरेकी छन् । प्रेमलाई तानाशाही बन्धनका रूपमा चित्रण गर्ने सुमिना प्रेम नै खोजिरहेकी छन् । उनका ‘छोडिनेहरू’ र प्रेमको आँखीझ्यालबाट’ ले देखाउँछ प्रखर कविको प्रेमिल भाव । प्रेमीलाई निरङ्कुश भनेर खरो उत्रिएकी कवि छोडिनेहरूको नाममा भावुक हुन्छिन् र लेख्छिन् छुट्नेहरूमाथि भावुक कविता अनि पोखिन थाल्छिन् वियोगका पीडाहरूमा ।
बलियो रूपमा प्रगतिशील नारीवादीका रूपमा कविताका शुरूवाती खण्डमा उत्रिएकी सुमिनाका अडान अन्तिमतिरका खण्डमा गएर छताछुल्ल बन्छ । उनी भावनात्मक प्रतिविम्बहरूको चपेटामा परेकी हुन्छिन् । खरो रूपमा उत्रिएकी सुमिना आफ्नै भावनामा अल्मलिनु ठिक भने होइन । वैचारिक रूपमा स्पष्ट र स्थिर देखिएकी कवि प्रेममा भावुक बनेकी छन् । उनी अल्झिएकी छन् स्वतन्त्रता र प्रेममा ।
उनले आफैँ भनेकी छन् लेख्न मन नभएको ‘फूल जस्तै कविता’ । प्रेमको आँखीझ्यालबाट नियाल्दै उनैले लेखेकी छिन् ः
उस्तै उस्तै होला हृदयको झङ्कार
एउटै होला सास फेराइका प्रकार
उस्तै होलान् चिन्तनका विस्तृति
उस्तै होला स्मृतिका भौगोलिक स्थिति ।
कहीँ कतै प्रेमलाई निरङ्कुश तानाशाही भन्छिन् त कहीँ प्रेममा समर्पण हुन खोजेकी छिन् । नारीवादको अर्थ प्रेमिल नहुनु होइन, तर बीचमा सुमिना भावनामा बहकिएकाले फगत कविता बनेका छन् । वैचारिक उडान भरेका छैनन् तर सुमिनाको कविता सङ्ग्रहबाट अन्तिम कवितालाई नजरअन्दाज गर्न मिल्दैन ।
तिम्रा केही सहुलियत र सुविधाहरू
मेरा केही कठिनाइ र जटिलताहरू
आधा–आधा बाँडेर हाम्रो कार्यभारहरू
पूरा गरौँ
एउटा समानताको समन्नुत यात्रा ।
प्रेममा पनि विद्रोह खोजेको सुमिनाको कलमले प्रेममा समर्पण गर्न सुहाउँदैन । यसले उनको वैचारिक उडानलाई धुमिल बनाउँछ । उनको कविताले समर्पणलाई प्रेम मानेको छ । उनकै कविताले कतै प्रेममा समर्पणलाई निरङ्कुश भनेको छ । उनी ससाना संवेदनामा बहकिएकी छन् तर आफैँले भनेकी छन्– महान् लक्ष्यका यात्रु बहकिँदैन ।
समाजको नियमलाई ललकारेर भत्काउन अभ्यस्त रहेकी बागी स्त्री सुमिना कवितामा तयार छिन् शोषित र दमितहरूलाई साथ दिन, जहाँ उनी उत्पीडनकारी शासकहरूका विरुद्ध बोल्दा प्रतिद्वन्द्वी आफ्नै चिरपरिचत नै हुन्छन् भनेर तयार छिन् महासमरको अर्थात् विद्रोहको यात्रा गर्न ।
आँधीको वेगमा उड्नेहरू
कहिल्यै पनि
बतासको बहकाइमा अल्झिँदैन
महान् लक्ष्यका यात्रुहरू
ससाना संवेदनामा बहकिँदैन । (बगर)
उनको विद्रोह फिलिङ्गो हो । आँधी पार गर्न तयार सुमिना स–साना संवेदनामा बहकिँदैनन् भन्दै आफैँ बहकिइन् । तर उनका आधुनिक तानाशाह, यक्ष प्रश्न, स्वर्ण पिँजडाजस्ता कविताका प्रगतिशील शब्द खण्डले यसलाई ढाकछोप गरेको छ । सुमिनाको खरो कविताका अघि यी स–साना विरोधाभास मिहिन भने हुन्, जसलाई नजरअन्दाज गर्न सकिँदैन र यसैलाई मात्र उचाल्न मिल्दैन ।

उनले उठाएको आवाज समकालीन साहित्य जगतमा नयाँ पुस्ताको बलियो हस्तक्षेप हो । त्यो पनि महिला कविको हस्तक्षेप जो विद्रोह बोल्छ प्रत्येक शब्दमा, जसले चुनौती दिएको छ आधुनिक तानाशाहलाई । एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छिन् ।
सुमिनाका केही कवितामा विरोधाभास छन् । त्यो यथार्थ हो । केही थान कविता अनावश्यक लम्बेतान, भावनात्मक शब्दलाई कवितामा मोडिफाइड गरेकाजस्ता । तर यो कविता सङ्ग्रहमा त्यस्ता केही थान कविता छन् जसले समाजको संरचनामा धावा बोलेका छन् । उनको यो विगुलले अरू महिलालाई विद्रोहको फिलिङ्गोमा झोसिनका लागि हौस्याएको छ । सुमिनाको कलमले केवल कविता लेखेकी छैनन्, नारी मुक्तिको यात्रा लेखिएको छ । यसले स्वतन्त्रताको बाटो खोजेको छ । नयाँ पुस्ताको सर्जकका सवालमा सुमिना स्वयम् जवाफ हुन्, जसको कलम केवल भावनामा मात्र चल्दैन । वैचारिकताका साथ यात्रामा अवतरण खोजिरहेको छ । समग्रमा भन्दा– सुमिना कहीँ अल्झेपनि उनले बाटो भुलेकी छैनन् ।
अन्त्यमा, कविता सङ्ग्रह बजारमा आउने चर्चा चल्नासाथ यसको नामदेखि नै म उत्सुक थिएँ । पोखरामा पुस्तक आइपुग्नासाथ सम्भवतः मेरै हातमा पहिलो परेको हुनुपर्छ । एक बसाइँमा सकेको पुस्तकले मलाई पनि कहिले विद्रोह भाव जगायो, कहिले सोचमग्न बनायो ।
शब्द–शब्दमा तरङ्गित थिएँ । त्यसैले पनि भन्छु, सुमिनाले म र हामी लेखेकी हुन् । मेरो बूकसेफमा मन पर्ने पुस्तकहरूमध्ये एक हो ‘सिमोन’ को ‘द सेकेन्ड सेक्स’ । ‘बागी स्त्रीको आत्मकथा’ द सेकन्ड सेक्सको छेउमा प्रिय बनेर बसेको छ आजभोलि ।
[कवि सुमिनाको कवितासङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’माथि पत्रकार तानी (रिना थापा)को समीक्षा ।]