०७ साउन २०८३, बिहीबार
नेतृत्व हत्याउने होड

अस्तित्व रक्षाका लागि संघर्षरत नेकपा एसको अध्यक्ष बन्न माधव-झलनाथको मरिहत्ते !

जेठ २७, २०८१
काठमाडौं
अस्तित्व रक्षाका लागि संघर्षरत नेकपा एसको अध्यक्ष बन्न माधव-झलनाथको मरिहत्ते !

नेकपा एकीकृत समाजवादी (एस)को अध्यक्षमा माधव नेपाललाई झलनाथ खनालले टक्कर दिने भएका छन् । 

एमाले विभाजन भई २०७८ भदौ २ गते नेपालको नेतृत्वमा बनेको समाजवादीले असार १६ देखि २० गतेसम्म गर्न लागेको महाधिवेशनमा अध्यक्ष पदका लागि खनालले टक्कर दिन लागेका हुन् । 

एमाले विभाजनपछि नेपाल नेकपा एसको अध्यक्ष रहँदै आएका छन् । खनाल भने पार्टीका सम्मानित नेता हुन् । 

विभाजनको झन्डै ३ वर्षपछि पार्टीको अस्तित्व नै संकटमा पर्न लागेको भनेर चर्चा भइरहेका बेला हुन लागेको महाधिवेशनबाट अध्यक्षमा दोहोरिन नेपाल प्रयासरत छन् । सम्मानित नेता खनालले टक्कर दिने भएपछि सर्वसम्मतिको सम्भावना कम हुँदै गएको छ ।

खनालले अध्यक्ष नेपालसँग असन्तुष्ट हुनेलाई आफ्नो खेमामा तानेर टीम निर्माण गरिरहेका छन् । मन्त्री चयनलगायत अवसर बाँडफाँडमामा असन्तुष्ट रहेका नेतालाई समेटेर खनालले नेपाललाई काउन्टर दिने तयारी गरिरहेको एक नेताले बताए । खनाल देशभरका नेता/कार्यकर्तासँग छलफल र संवादमा छन् ।

‘एमाले विभाजनदेखि नै हाम्रो अध्यक्ष नेपाल हो । तर, अब महाधिवेशन हुँदा अध्यक्षको लाइनमा उहाँ मात्रै हुनुहुन्न, सम्मानित नेताले पनि उत्तिकै तयारी गर्नुभएको छ,’ नेकपा एसका एक प्रभावशाली नेताले भने, ‘खनालले पटक–पटक सार्वजनिक मञ्चबाटै आफू अध्यक्षका लागि अगाडि बढ्ने संकेत गर्नुभएको छ । नेताहरूलाई आफ्नो समूहमा तान्ने अभ्यासले पनि उहाँ यसपटक सहजै नेपाललाई अध्यक्ष पद छाड्ने पक्षमा हुनुहुन्न भन्ने देखिन्छ ।’

null

सके आफ्नै नाममा सहमति गर्ने, नसके प्रतिस्पर्धामा उत्रिने मनस्थितिमा खनाल रहेको अर्का एक नेता बताउँछन् ।

‘देशव्यापीरूपमा साथीहरूले अहिलेको नेतृत्वबाट पार लाग्दैन, तपाईं तयार हुनुपर्छ भनिरहेका छन् । उहाँ (खनाल)ले पनि म नै उठ्नुपर्ने स्थिति भयो भन्दै आउनुभएको छ । तर, यस्तो सार्वजनिकरूपमा होइन, अनौपचारिक भेटघाट, भेला र छलफलमा भन्दै आउनुभएको छ,’ ती नेताले भने, ‘उहाँ यसपटक अध्यक्षमा भिड्ने पक्का हो ।’

अध्यक्षमा महासचिव घनश्याम भुसालले पनि प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको ती नेता बताउँछन् । 

‘दुई नेता भिड्ने पक्का हो । भुसाल पनि थपिए ३ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुहुन्छ,’ ती नेताले भने ।  

राष्ट्रिय परिषद्को बैठकले ७० वर्षे उमेरहद हटाएपछि खनालले अध्यक्षमा उठ्नेबारे तयारी र छलफललाई अगाडि बढाएका थिए । 

पदाधिकारीमा पकड जमाउँदै खनाल 

पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको, सरकार फेरबदलमा प्रभावकारी पहुँच नबनाएको र सहयोगी मात्रै बनेको भन्दै समाजवादीको ठूलो पंक्ति अध्यक्ष नेपालसँग असन्तुष्ट छ ।

पार्टी विभाजनको लामो सयमसम्म पनि यसको औचित्य पुष्टि गर्न नसक्दा धेरै नेता एमालेतिरै फर्किएकोमा नेपालको आलोचना हुने गरेको छ । नेता रोक्न र पार्टीलाई धार दिन नेपाल असफल भएको आरोप लाग्दै आएको छ ।

पार्टी पदाधिकारी, केन्द्रीय सदस्य मात्रै होइन, सांसद समेत नेपालसँग असन्तुष्ट छन् । यसैको फाइदा उठाउने दाउमा खनाल देखिन्छन् । १० सांसदमा बढीमा ४ वा कम्तीमा ३ जना मात्र नेपालको पक्षमा रहेको ती नेताले दाबी गरे ।

नेपाल स्वयंबाहेक मेटमणि चौधरी र प्रकाश ज्वाला उनीनिकट हुन् । अर्का सांसद राजेन्द्र पाण्डे पनि नेपालनिकट नै भए पनि पछिल्लो समय खनालसँग समेत सम्पर्क बढाएको दाबी नेताहरू गर्छन् ।

डेढ दर्जन पदाधिकारीमा ७ उपाध्यक्षमध्ये जयन्ती राई मात्रै नेपाल पक्षमा रहेको एक नेताले दाबी गरे । ४ उपमहासचिवमा गङ्गालाल तुलाधर र प्रकाश ज्वाला नेपालको पक्षमा रहेको बताइन्छ ।

पार्टी प्रवक्ता भए पनि जगन्नाथ खतिवडा नेपाल र खनाल दुवैतिरको सम्पर्कमा छन् । सचिवमा राजेन्द्र राई मात्रै नेपालतिर खुल्दा अरू ५ जना खनालतिर रहेको दाबी नेताहरूको छ । 

प्रभावशाली अन्य नेतामा महासचिव घनश्याम भुसाल र सचिव रामकुमारी झाँक्रीलाई समेत नेपालले आफूतिर राख्न नसकेको नेताहरू बताउँछन् । स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पनि नेपालसँग धेरै नेता असन्तुष्ट रहेको अर्का एक केन्द्रीय सदस्य बताउँछन् । 

‘पार्टीका सबै तहमा नेपालको भन्दा खनालको पक्षमा माहोल बनेको छ । यदि असारमै महाधिवेशन भए अध्यक्षमा खनालले जित्ने अहिलेसम्मको स्थिति छ,’ ती नेता भन्छन्, ‘नेपालले भावुक कुरा गरेर अल्मल्याएनन् र अन्तिमसम्म खनाल अध्यक्षमा भिड्ने अडानमा रहे भने नेपाललाई सहज छैन ।’

null

पछिल्लो समय सत्तामा बसेर विपक्षी भूमिका निभाउने शैलीसँग पनि नेताहरूको असन्तुष्टि देखिन्छ ।

‘भन्नलाई हाम्रो अध्यक्षले २ डुंगामा खुट्टा राख्दैनौं भन्दै आउनुभएको छ । तर, सरकार र प्रदेशको घुर्क्याइले व्यवहारमा त्यस्तो देखाइरहेको छैन,’ ती नेता भन्छन्, ‘एउटा आवश्यकताले पार्टी विभाजित भयो । तर, विभाजनको औचित्य पुष्टि नहुँदा अनि सत्ता हो कि प्रतिपक्ष भन्ने धार नै नहुँदा पार्टीमा विरोधाभास र अलमल छ । यसैले नेतृत्व पुरानाबाट हुँदैन भन्ने मत बलियो छ ।’

माधव नेपालले सत्तालाई घुर्क्याउँदा अर्का नेता खनालले पनि भरोसा दिलाउन खोजेका थिए । केही दिनअगाडि सरकारसँग नेपाल असन्तुष्ट रहँदै विपक्षीको बैठकमा गए । अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुग्दा खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टी दायाँबायाँ नहुने भरोसा दिलाए ।

अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओली समेत नेपालसँग असन्तुष्ट रहँदै आए पनि खनालसँग नरम छन् । ओलीले समाजवादीमा खनाल अध्यक्ष बनून् भन्ने चाहना राखेको कतिपय नेता बताउँछन् ।

खनालले पार्टी फुटको औचित्य पुष्टि नभएको पटक–पटक बताउँदै आएका छन् । ओलीसँग पनि उनले सम्बन्ध बिगारेका छैनन् । बरु कम्युनिष्ट दलहरू मिल्नुपर्ने बताउँदै आएका छन् ।

खनाल समाजवादीको अध्यक्ष भए एमालेमा मिसाउन सहज हुने बुझाइमा ओली रहेको कतिपयको तर्क छ ।

मञ्चबाटै खनालमाथि नेपालको गाली 

खनालले महाधिवेशनको मुखमा मात्रै आएर अध्यक्ष लड्ने आकांक्षा राखेका होइनन् । मन्त्री चयन तथा हेरफेर, पार्टी बैठक, पार्टीले लिएका एजेन्डा, एमाले फुटको औचित्यजस्ता विषयमा यी दुईबीच चरम मतभेद रहँदै आएको छ । 

डा. बेदुराम भुसालको पुस्तक विमोचनका क्रममा २०८० माघ २१ गते नेपाल र खनालबीच वाक युद्ध नै चलेको थियो । अगाडिदेखि नै अध्यक्षमा उठ्छु भन्दै आएका खनाललाई नेपालले कार्यक्रममै आलोचना गरेका थिए । 

‘हिजो जबजलाई दक्ष प्रजापतिको टाउको भन्दै विचार नै परिवर्तन गर्न लागेको होइन,’ खनालप्रति आक्रोशित हुँदै नेपालले भनेका थिए, ‘आज यसैलाई समाप्त पार्न लाग्ने विचारलाई किमार्थ ठीक मान्न सकिन्न ।’

एमालेबाट विभाजन भए पनि नेपालले जनताको बहुदलीय जनवादको सिद्धान्त छाड्न नसकिने बताउँदै आएका छन् ।  

कमेन्ट गर्नुहोस्