२६ असार २०८३, शुक्रबार
न समूहलाई नेतृत्व, न संसदमा उपस्थिति

शेखर कोइराला : कांग्रेसको पानी नपार्ने बादल !

असार ३, २०८१
काठमाडौं
शेखर कोइराला : कांग्रेसको पानी नपार्ने बादल !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतरको प्रमुख नेताका रूपमा सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला त्यसयता हस्तक्षेपकारी भूमिकामा देखिन सकेका छैनन् ।

सभापतिमा देउवासँग पराजित भएपछि समूहको नेतामा टिकिरहने रणनीतिमा शेखर थिए । केही समय उनले त्यो हुटहुटी देखाउन पनि खोजे । तर, त्यसअनुसारको क्रियाशीलता पार्टी, आफ्नो समूह र संसद् कतै पनि देखाउन नसक्दा शेखर ‘सीन’बाट बिस्तारै हराउँदै गएको विश्लेषण हुन थालेको छ । 

समूहको नेता कायम रहेर १५ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने इच्छा उनमा देखिन्छ । ताल परे सत्ता राजनीतिको जोडघटाउमा प्रधानमन्त्री नै पड्काउनेसम्मको महत्त्वाकांक्षा शेखरले पालेका छन् । तर, यी अभिलाषा र महत्त्वाकांक्षा पूरा गर्ने दिशामा उनको गतिविधि देखिएको छैन ।

प्रमुख प्रतिपक्षी दलको एक प्रभावशाली नेताका रूपमा संसद्, सडक, विचार समूह सबै ठाउँमा आफूलाई अब्बलरूपमा प्रस्तुत गराउन सक्ने ठाउँमा हुँदाको फाइदा समेत शेखरले उठाउन सकेका छैनन् । 

कांग्रेसले नचाहँदानचाहँदै २१ फागुनमा सत्ता गठबन्धन टुट्यो । त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले एकातिर एमालेसँग मिल्ने र अर्कातिर पुरानै गठबन्धन ब्यूँताउने गरी दोहोरो ‘कार्ड’ खेले । दुई डुंगामा खुट्टा राख्ने देउवाको रणनीति फेल खायो । नेतृत्व यसरी आफ्नो रणनीतिमा चुक्दा पनि शेखरले त्यसलाई ‘क्यास’ गरेर पार्टीमा आफ्नो प्रभाव विस्तार गर्न सकेनन् ।

‘पार्टी नेतृत्वका लागि दौडमा रहेको नेताले त संस्थापन पक्ष रणनीतिक हिसाबमा चुक्दा आफ्नो तयारी गर्छ,’ कांग्रेसकै एक नेता भन्छन्, ‘महासमिति मात्रै होइन, त्यसपछि पनि सभापतिको रणनीतिले काम गरेन । यस्तोमा राजनीतिकरूपले प्रतिवाद गर्दै समूहलाई थप बलियो बनाएर जानुपर्ने हो । तर, शेखर दाइ आफैं हराउनुभयो । पहिले–पहिले जिल्ला भ्रमण गर्नुहुन्थ्यो, अहिले त्यो पनि कम भएको छ ।’

प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसले सहकारी ठगीको मुद्दालाई गम्भीर ढंगले उठायो । कांग्रेस अडिएकै कारण सत्तारुढ दलहरू संसदीय छानबिन विशेष समिति गठन गर्न बाध्य भए । 

कुनै समय शेखरलाई नेता मानेका महामन्त्री गगन थापाले यो मुद्दामा आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याए । गगनले सहकारी ठगीको मुद्दामा ‘लिड’ गर्दैगर्दा शेखर भने गुमनाम बन्ने पुगे । सामाजिक सञ्जालमा लेखेर कर्मकाण्ड पूरा गरेका शेखरको उपस्थिति न सदनमा देखियो, न त सडकमै ।

null

संसद्मा ‘गुमनाम’ !

प्रत्यक्ष चुनाव जितेर आए पनि संसद्मा एकदमै कम बोल्ने सांसदमध्येमा कोइरालाको नाम अग्रपंक्तिमा आउँछ । देशका जल्दाबल्दा विषयमा नेताहरूले संसद्को मञ्चलाई प्रयोग गरेर आफूलाई अब्बल सावित गर्ने गरेका छन् । सहकारी प्रकरणमा दरिलो गरी आवाज उठाउन सक्दा समूहको नेताका रूपमा आफूलाई थप सशक्तरूपमा उभ्याउन सक्थे । तर, शेखरले २०७९ चैत १२ मा लिखित सम्बोधन गर्नुबाहेक थप बोल्नु आवश्यक ठानेनन् । कांग्रेसकै सांसद पनि शेखर बोलेको आफूलाई स्मरण नभएको बताउँछन् । 

‘चुनाव जितेर आएपछि सांसदले सदनलाई अधिकतम उपयोग गर्नुपर्छ । आफ्ना कुरा सहयोगीमार्फत फेसबूकमा लेख्ने मात्र होइन, संसद्मा बोलेर इतिहासमा रेकर्ड गराउनुपर्छ,’ कांग्रेसका एक प्रभावशाली सांसदले भने, ‘उहाँले संसद्मा बोलेको देखिएको छैन । संसद्लाई उपेक्षा गरेको देख्दा पनि उहाँले किन चुनाव लड्नुभयो होला भन्ने लाग्छ ।’ 

राजनीतिक दलका नेताले संसद्को मञ्चलाई अधिकतम प्रयोग गर्ने गरेका छन् । आफैंले विघटन गरेको प्रतिनिधि सभामा लामो सम्बोधन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले रेकर्ड कायम गरेका थिए । कुनै महत्त्वपूर्ण विषय उठ्दा ओली अहिले पनि संसद्मा बोल्छन् ।

कांग्रेसकै युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संसद्को मञ्चलाई अधिकतम प्रयोग गरिरहेका छन् । गगनले एक मिनेटको शून्य समयमा बोलेर पनि मिडियालाई ‘हेडलाइन’ दिइरहेका हुन्छन् । देउवाको विकल्प बन्ने हो भने शेखरले अहिलेदेखि नै हरेक मोर्चामा आफूलाई अब्बल साबित गर्नुपर्ने कांग्रेसकै एक सांसदको तर्क छ ।

‘पारिवारिक विरासतले मात्र नेता बनिँदैन, नेता बन्नका लागि नेतृत्व क्षमता पनि जरुरी हुन्छ । संसद्मा बोलेर सांसदको मन जित्ने काममा समेत उहाँ चुक्नुभएको छ,’ ती सांसदले भने ।

‘कमजोर कार्ड’को सहारा

शेखरलाई नजिकबाट चिन्ने नेताहरू उनी अहिले देउवालाई रिझाएर पद हत्याउने कमजोर कार्डको ‘सहारा’मा अगाडि बढेको बताउँछन् । आफ्नै समूह तितरबितर भइसकेका बेला देउवा रिझाएर प्रधानमन्त्री र पार्टी सभापति बन्न नसकिने ती नेताको तर्क छ ।

१४औं महाधिवेशनका सारथिहरूलाई शेखरले आफूसँगै हिँडाउन सकेका छैनन् । महामन्त्री थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा शेखरनिकटका कम्तीमा १० सांसदले सभापति देउवालाई मत दिएको आरोप लाग्ने गरेको छ । त्यति बेलैदेखि यी दुईबीच विश्वासको वातावरण बन्न सकेको छैन ।

‘संसदीय दलको नेताका लागि भएको चुनावमा आफ्नै समूहका कम्तीमा १० सांसदले सभापति शेरबहादुर देउवालाई मत दिएको विषयमा शेखर दाइले स्पष्ट जवाफ दिन सक्नुभएको छैन,’ उनकै समूहका एक नेता भन्छन्, ‘बैठक राख्ने, सबैका कुरा सुन्ने, पार्टीका फोरम र संसद्मा महत्त्वपूर्ण विषय उठाएर नेतृत्व दिने काम गर्नुपर्ने हो, यस्ता कुरामा शेखर दाइ सीनमै हुनुहुन्न । यति कमजोर क्रियाशीलताले समूहको नेता कायम रहिरहेर सभापति तथा प्रधानमन्त्री बन्ने मनोकांक्षा कसरी पूरा होला ?’ 

विद्रोहको ‘आत्मघाती’ खेल

करिब ८ महिनाअघि शेखरले कोशी प्रदेशमा तत्कालीन प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन विद्रोह गरे । उनको विद्रोहले तत्कालका लागि मुख्यमन्त्री पद त हात लाग्यो, तर पछि त्यही एमालेले लात हानेर प्रतिपक्षमा पुर्‍याइदियो । कोशीको विद्रोहमा न उनले आफ्नै समूहका नेताको भरोसा जिते, न त नेतृत्वको साथ नै पाए । उनको यो विद्रोह केही महिनामै औचित्यहीन सावित भयो ।

‘कोशी प्रकरण उहाँको अपरिपक्व मूभको उदाहरण हो । विद्रोह नै गर्ने भए समूहलाई एकजुट राखेर केन्द्रमा नेतृत्वविरुद्ध आफूलाई उभ्याउनुपर्ने हो । सानोतिनो खेलोफड्कोमा लाग्दा उहाँकै लागि आत्मघाती सावित हुन पुग्यो,’ कांग्रेसकै नेताले लोकान्तरसँग भने ।

अहिले शेखर आफ्नो समूहलाई बलियो बनाउन छाडेर विपक्षी खेमाका नेता तान्न सकिन्छ कि भन्ने कच्चा खेलमा लागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा बेहोरेका बालकृष्ण खाँणलाई विवादास्पद हुने गरी जेलमै गएर भेट्ने र आफ्नोतिर तान्ने असफल प्रयास गरे । यतिमात्रै होइन, समूहलाई बलियो बनाएर जानेभन्दा देउवाको आशीर्वाद पाउने बाटो उनले हेरेको कतिपय नेताको तर्क छ ।

null

‘देउवाको विश्वास जित्न उनलाई नचिढ्याउने, पार्टीका कमजोरीमा नबोल्ने शेखरको शैली देखिएको छ । लामो भविष्य हेरेको नेताले यसरी अरूको भर पर्नु हितकर हुँदैन,’ उनकै पक्षका एक नेताको तर्क छ ।

समूहका नेताहरूले कित्ता क्लियर गरौं, बैठक गरौं र विश्वासको वातावरण बनाऊँ भनेर आग्रह गर्दा पनि शेखर चुपचाप बसिरहेको उनको तर्क छ ।

‘उहाँलाई साथ दिने उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे त पदाधिकारीमै हुनुहुन्छ । अरू थुप्रै सिनियर नेता उहाँको पछि लाग्दै आएका छन्,’ ती नेताले भने, ‘तर, शेखर दाइ यी नेतालाई एकजुट बनाएर नेतृत्व दिन असफल हुनुभएको छ ।’

नेतृत्वसँग असन्तुष्ट र पुराना नेताहरूलाई समेट्नेतिर शेखरको ध्यान केन्द्रित रहेको गगननिकट एक नेताले बताए । ‘महामन्त्रीहरूसँग उहाँको सौहार्द सम्बन्ध नरहेको सत्य हो । अब गगनहरूले आफूलाई पनि छाड्दैनन् भन्ने शेखर दाइले राम्रैसँग बुझ्नुभएको छ । सोहीकारण ५० वर्षमुनिकाले नेतृत्व गर्न सक्दैनन्, माथिकाले गर्नुपर्छ भनेर पुराना नेतालाई समेट्न लागेको सूचना पाएका छौं ।’ 

शेखर काठमाडौंकेन्द्रित रणनीतिमा रहेको उनले बताए ।

‘राष्ट्रिय राजनीतिमा आफूलाई गुमनाम राखेर कर्णाली प्रदेशको जति सांगठनिक हिस्सा ओगट्ने काठमाडौंकेन्द्रित अभियानमा उहाँको चासो देखिन्छ,’ एक नेता भन्छन्, ‘प्रकाशमान सिंह अस्वस्थ हुनुहुन्छ । यस्तोमा उहाँका मान्छे रिझाउने र देउवाका पुराना नेतालाई पनि हात लिने गरी काठमाडौंमा हरेक दिन स–साना कार्यक्रम र भेटघाटमा सक्रिय रहनुभएको पाएका छौं ।’

पछिल्लो समय शेखरले काठमाडौंमा गगनका आलोचकलाई महत्त्व दिइरहेको उनले बताए ।

‘प्रकाशमानको प्रभाव रहेको ठाउँमा देउवासँग जोडिएका मान्छेसँग सम्पर्कमा रहने, गगन थापाइतरका मान्छेसँग बाक्लो भेटघाट गर्ने र उनका आलोचकसँग घर–घरमा गएर भेट्ने काम गर्न थाल्नुभएको छ,’ ती नेताले भने, ‘देखिनेगरी पोजिसन नबनाए पनि शेखर दाइ १५ औं महाधिवेशनको तयारीमा लाग्नुभएको हाम्रो बुझाइ छ ।’

उनकै समूहका अर्का एक नेताले देउवालाई रिझाउनेतर्फ शेखरको ध्यान केन्द्रित रहेको बताए ।

‘देउवा अब सभापतिमा अगाडि बढ्नुहुँदैन । विकल्पमा कतिपयले शशांकको नाम लिएका छन् । तर, उहाँबाट पार लाग्दैन भन्नेमा देउवा टीमकै मान्छे छन्,’ ती नेता भन्छन्, ‘यसैले आरजूलाई पनि स्थापित गराउने गरी शेखरले देउवाबाट नेतृत्व पाउन सक्ने आश गरेको देखिन्छ ।’

आफ्ना विश्वासपात्र पुरञ्जन आचार्यलाई झापा, मोरङ र सुनसरीमा खटाएर कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माविरुद्ध पनि शेखरले रणनीति बनाइरहेको दाबी स्रोतको छ । ​

‘सीन’मा नदेखिने रणनीति ?

शेखरनिकटकै एक नेता भने उनको मौनता रणनीतिक भएको बताउँछन् ।

‘महासमिति भयो उहाँ बोल्नुभएन । युवा नेताहरूले आफ्नो राजनीतिक करियर के होला भन्ने नतिजा नहेरी आफ्नो मत निर्बाध प्रकट गर्नुभएको छ । तर, सहकारीको यत्रो बेथिति र लुटको कुरा आउँदा पनि उहाँ निरपेक्ष बस्नुभएको छ,’ ती नेताले भने, ‘उहाँले निर्वाचन प्रणाली बदल्नुपर्छ भन्नेबाहेकका राजनीतिक वक्तव्य नदिनु रणनीतिक छ । जानेरै बोल्न आवश्यक नठान्नुभएको हो ।’

शेखरनिकटका अर्का नेता डा. गोविन्द पोखरेलले बोल्नुपर्ने विषयमा मात्र उनी बोलेको बताए ।

‘पार्टीको पदमा नभएपछि जहाँ गएर पनि बोल्नैपर्छ भन्ने आवश्यकता उहाँले नठान्नुभएको हुनसक्छ,’ पोखरेलले भने, ‘तर, निर्वाचन प्रणाली बदल्ने कुरादेखि सहकारी प्रकरणमा गृहमन्त्रीलाई राजीनामा दिनुस्, पछि मन्त्री बन्नुहोला भन्ने अभिव्यक्तिसम्म दिनुभएको छ ।’

लोकरिझ्याइँमा लागेर केही फाइदा हुँदैन भन्ने शेखरको प्रस्ट बुझाइ रहेको पोखरेलको तर्क छ ।

‘पपुलिजमभन्दा देशको दीर्घकालीन हित गरौं र नचाहिने कुरा नबोलौं भन्ने शेखर दाइको कुरा छ, किनकी हाम्रो सभापति पनि धेरै बोल्नुहुन्न । सामाजिक सञ्जालमा पनि लेख्नुहुन्न । लोकरिझ्याइँ र चटके पारा देखाउन हुँदैन भन्नेमा उहाँ प्रस्ट हुनुहुन्छ,’ पोखरेलले लोकान्तरसँग भने, ‘४० प्रतिशत भोट पाएको छु, यसलाई ६० प्रतिशतमा पुर्‍याउनुपर्छ र गुट–उपगुटबाट माथि उठ्नुपर्छ भन्नेमा उहाँ हुनुहुन्छ ।’

सभापति देउवाको सपोर्टमा सभापति हुन्छु भन्ने लालसा शेखरमा नभएको दाबी पोखरेलले गरे । 

‘देउवाको सपोर्टमा सभापति बन्छु भन्ने लालसा उहाँमा छैन । बरु अर्को टीमबाट लडेकासँग पार्टीको हितका लागि व्यापक छलफल भएको छ । विभिन्न समूह, संघ–संस्थाका प्रतिनिधिसँग पनि बाक्लो भेटघाट भइरहेका छन् । उहाँले ‘एक्सपोज’ मात्रै नगर्नुभएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्