०९ साउन २०८३, शनिबार

लुम्बिनी प्रादेशिक अस्पतालमा शुरू भयो अनलाइन टिकट सेवा​​​

असार ४, २०८१
बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालमा शुरू भयो अनलाइन टिकट सेवा​​​

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बहिरंग सेवा (ओपीडी)मा अनलाइन टिकट सेवा शुरू भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका हुन् ।

सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हटेर जाने विश्वास लिइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अनलाइन टिकट सेवासँगै अब छिट्टै डिजिटल भुक्तानी सेवासमेत शुभारम्भ गर्ने तयारी रहेको जानकारी गराए ।

यसैगरी अस्पतालमा बीमा सेवातर्फ टिकटका लागि हुने भीडलाई कम गर्न थप काउन्टर विस्तार गरिने उनको भनाइ छ ।​

बीमातर्फ भुक्तानीका लागि  हाल ५ वटा काउन्टर सञ्चालन गर्दै आएको अस्पतालले यसको सङ्ख्या बढाएर १० वटासम्म पुर्‍याउने योजना बनाएको छ ।

समय र प्रविधिको विकासअनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै मन्त्री पुनले अस्पतालले नयाँ अभ्यासको शुरूवात गर्नु आफैंमा सकारात्मक भएको बताए  ।

नयाँ सेवा शुभारम्भका अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले  मातृ शिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रादेशिक अस्पतालको भूमिका सराहनीय रहेको उल्लेख गरे ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालले 'बी लेभल अस्पताल'अन्तर्गत नेपालमै प्रथम भई पुरस्कृत भएको जानकारी गराइएको थियो ।

वर्ष २०७९/८० को एमएसएस मूल्याङ्कनअनुसार सर्वोत्कृष्ट अंक ल्याई नेपाल प्रथम हुन सकेको अस्पतालकी नर्सिङ प्रमुख ज्योति पौडेलले जानकारी दिइन् ।

काठमाडौंमा आयोजित एमएसएस राष्ट्रिय समीक्षा गोष्ठीका अवसरमा अस्पताललाई सम्मान गरिएको थियो ।

अस्पतालमा दैनिक १ हजार विरामीले सेवा लिन गर्छन् । पछिल्लो समय अस्पतालको सेवा विस्तार हुँदै गएको छ ।

लुम्बिनी प्रदेश सरकारले १ हजार २०० शय्याको देशकै ठूलो अस्पताल बनाउँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्