
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताएकी छिन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने उनले स्पष्ट पारिन् ।
उनले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यता क्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका आठ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिइन् ।
यसबीचमा दलीय सदस्यता लिएका ४५ शिक्षकविरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको मन्त्री श्रेष्ठले बताइन् ।
'गुणस्तरीय शिक्षाका लागि हामी सबैले आ-आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ । मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम शुरू गरिएको छ । त्यसको परिणाम पनि विस्तारै देखिन थालेको छ । अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ । अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वयन गर्न म प्रतिवद्ध छु,' उनले भनिन् ।