
परम्परागत दलविरुद्ध आक्रोश व्यक्त गर्दै २०७९ असार ७ गते घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय राजनीतिमा २ वर्ष गुजारेको छ । स्थापनाको ५ महिनामै (२०७९ मंसिरमा) भएको चुनावमा सनसनी मच्चाउँदै रास्वपाले २० सिट जित्न पुग्यो ।
आफूलाई भ्रष्टाचारविरोधी, सुधारवादी र परिवर्तन पक्षधर दलको रूपमा अर्थ्याउन सफल हुँदै रास्वपाले २० सिट जितेको थियो । यही सिलसिलाबीच उपनिर्वाचनमा थप १ सिट जितेर रास्वपा २१ सिटसहित चौथो दलको रूपमा स्थापित छ । यस क्रममा सत्ताका खेलाडी कांग्रेस, एमाले र माओवादीविरुद्ध गतिलो धक्का दिन पनि सफल भएको छ ।
पुरानो सत्तालाई गाली गरेर जनताको ताली पाएको रास्वपाले स्थापनाको २ वर्षमै अनेक उतारचढाव भोगेको छ । सत्तालाई गाली गर्ने तर, सत्ता नभई नहुने आशक्ति उसमा देखिन्छ ।
२०७९ को शुरूबाटै रास्वपा एमाले र माओवादी सम्मिलित सरकारमा जोडियो । नागरिकता प्रकरणमा गृहमन्त्री पद गएपछि सरकारबाट फिर्ता भयो ।
सभापति रवि लामिछानेले नै नागरिकता र पासपोर्ट दुरुपयोग तथा सहकारीमा करोडौं आर्थिक अपचलनको गम्भीर आरोप खेपिरहेका छन् । यस्तै आरोपका बीच स्वतन्त्र छानबिनका लागि सहजीकरण होइन, बरु आफूलाई जोगाउन सत्ता राजनीतिका पुराना दलसँगको सहकार्यमा रविले फाइदा देखेको विश्लेषण हुँदै आएको छ ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले मूलधारका पार्टी र नेतृत्वको असफलतामा रविले जिते पनि आफूलाई पुष्टि गर्न नसकेको बताउँछन् । उनले पाएको भोट प्रतिक्रियात्मक भएको वाग्लेको विश्लेषण छ ।
रास्वपाको सैद्धान्तिक, वैचारिक, वर्गीय र पार्टीगत धरातल नै कमजोर थियो । मूलधारका पार्टी र पटक–पटक अवसर पाएर पनि डेलिभरी दिन नसकेका नेताहरूको असफलताका कारण प्रतिक्रियात्मकरूपमा उनीहरूले केही स्थानमा विजय हासिल गरेका हुन्,’ वाग्लेले भने, ‘वास्तवमा यो रास्वपाको सफलताभन्दा मूलधारका पार्टी र शीर्ष नेतृत्वको सामूहिक असफलता थियो । त्यसैको प्रतिक्रियास्वरूप जनताले रास्वपालाई भोट हालेका हुन् ।’
पार्टी नै कमजोर धरातलमा उभिएका बेला सभापति लामिछानेको विवादित छविका कारण रास्वपा थप संकटमा पर्दै गएको उनले दाबी गरे ।
‘रवि लामिछाने अत्यन्त विवादित भए । उनको नैतिक, वैचारिक, राजनीतिक सबै पक्ष अत्यन्त कमजोर छ । विशेषगरी सहकारी ठगी, पासपोर्ट, नागरिकतालगायतका अपचलन तथा विवादित र अनैतिक क्रियाकलाप भण्डाफोर भएपछि रास्वपा र रवि एकैचोटि गम्भीर संकटमा परेका छन्,’ वाग्लेले थपे, ‘सहकारी ठगीको मुद्दाका कारण उनी मूलधारको पार्टीका नेताभन्दा बढी विवादित भएका छन् । नागरिकताको विवाद समाधान भए पनि पासपोर्टको मुद्दा अदालतमा विचाराधीन छ । रविका यी सबै विवादित प्रवृत्तिको प्रत्यक्ष असर रास्वपालाई परेको छ ।’
नेतृत्वको विवादित छवि र सत्ताप्रतिको आशक्तिबीच रास्वपाको सम्पूर्ण पार्टी पंक्ति उनको प्रतिरक्षामा केन्द्रित भएको विश्लेषण वाग्लेले गरे ।
‘सहकारी ठगी प्रकरणमा रास्वपाले त संस्थागत रूपमा नै बचाउ, ढाकछोप र प्रतिरोध गरेको छ । यो रास्वपामाथि होइन, रवि लामिछानेमाथिको अभियोग हो । त्यो पनि पार्टी स्थापना हुनुअघिको काण्ड हो । तर, रविको ढाल बनेर उनका कुकृत्यको ढाकछोप गरेपछि रास्वपाको उद्देश्य र औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ । कुशासन, भ्रष्टाचार, विकृति–विसंगतिविरुद्ध आवाज उठाउँदै उदाएको पार्टीले आफ्नै सभापतिको अनियमितता, अनैतिकता र आर्थिक अपचलन ढाकछोप गर्न संस्थागतरूपमा सम्पूर्ण शक्ति परिचालन गरेको छ,’ वाग्लेले भने ।

अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर भने नयाँ दलले मतादेश पाए पनि आन्तरिक कलहलाई कसरी पार लगाउँछन्, त्यसैमा उनीहरूको भविष्य निर्भर रहने बताउँछन् ।
‘नयाँ दलहरू अस्तित्वमा आउनु स्वाभाविक हो । तर, नयाँ दलले कसरी आफ्नो अस्मितालाई कायम गर्छन् ? नयाँ दल गठन हुनुको अन्तर्य के हो ? गठनपश्चात निर्वाचनबाट मतादेश प्राप्त गरेपछि उसको आन्तरिक जीवनको अन्तरधारा कति अविरल छ ? कति अटुट छ र कति अखण्ड छन् ? यिनको धेरै विवेचना गर्नुपर्ने हुन्छ,’ चन्द्र किशोरले भने, ‘यो सूत्रबद्ध कुरा गरिराख्दा अन्य पार्टीको परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टीको किन उदय भयो ? ऊ छोटो समयमा पनि किन मतादेशबाट स्थापित भयो ? तर, अहिले किन कोलाहल र कलहको बिउमा फसेको छ ? उसको अन्तरधारा किन सुक्दै गइरहेको छ भन्ने चिन्ता र चासो स्वयं त्यहीँभित्रका उनका प्रतिबद्ध सहयोगीमा किन देखिन थालेको छ ?’
उपनिर्वाचनमा २१ सिट पुर्याएपछि रास्वपाले २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्घोष गर्न छाडेको छैन । तर, यही बीचमा इलामको उपनिर्वाचनले रास्वपालाई धक्का लागेको छ । इलामको उपनिर्वाचनबाट रास्वपाको पारो घटेको देखिएको विश्लेषकहरूको आकलन छ ।
छोटो समयको उतारचढाव हेर्दा रास्वपा चुनौतीरहित नदेखिएको चन्द्र किशोरको विश्लेषण छ ।
‘सत्तामा आउन जति सहज छ, त्यसमा टिक्न त्यति सहज छैन । सत्तामा नारा दिइन्छ, तर सत्तामा पुग्दा निष्ठा देखाउन र कसौटीमा खरो उत्रिन कठिन हुन्छ । अहिले रास्वपाले छोटो जीवनको अल्पकालमै आरोह/अवरोह दुवै भोग्दै आएको छ । अहिले नै उसको ‘ओबिच्युरी’ लेख्ने बेला भएको छैन । उसले आफूलाई प्रमाणित गर्नुपर्ने छ,’ उनले भने, ‘रास्वपा भनेको रवि लामिछाने मात्र हो ? रवि लामिछानेको राजनीतिक समाप्ति भयो भने रास्वपा कुन रूपमा टिक्छ ? आधुनिक अभिमन्यू भएर रास्वपाका रवि लामिछाने यो चक्रब्यूहबाट अगाडि बढ्छन् र सत्ताको इन्द्रजाललाई जादुमा जस्तै खेलाउँछन् ? र, अर्को एउटा विजेता बन्छन् ? उनको सत्तासँगको हिस्सेदारीका आरोह–अवरोहले यी कुरालाई धेरै प्रभाव पार्छन् ।’
सत्तामा बसेर आफूलाई प्रभावी देखाए पनि सत्ताबाट बाहिरिएको दिन के हुन्छ भन्ने दोसाँधमा रवि रहेको उनले बताए ।
‘सत्ता समीकरणबाट बाहिरिएको दिन उहाँको अवस्था के हुन्छ ? त्यसले धेरै कुरा निर्धारण गर्छ । सत्ता र शक्तिमा नहुँदा नागरिकता, पासपोर्ट, सहकारीका मुद्दा कुरा कुन रूपमा अगाडि बढ्छन् ? यहाँ त सत्ता र शक्ति भए जे पनि हुन्छ भन्ने मानसिकता छ,’ उनले भने, ‘सत्ता भनेको वासिङ मशिन हो । यहाँ सत्ताले जोसुकैलाई वास गरिदिन्छ । जतिसुकै दाग लागेको र आरोप लागेको मान्छे भए पनि फाइल बन्द गरिन्छ । अर्कातर्फ सत्ताले चाह्यो भने नागरिकताको सानो विवादमा पनि थुन्दिन सक्छ ।’
उनी रविको मात्रै ब्रान्डले अब रास्वपा अघि बढ्न गाह्रो हुने आशय व्यक्त गर्छन् ।
‘रास्वपाका रविमात्रै हुन्, उनको ब्रान्डले यो पार्टी चल्छ भन्ने अब रहेन, किनकि रवि समाप्त भए पनि रास्वपा रहिरहन्छ भन्ने विषय पार्टीभित्रै उठेका छन्,’ उनले भने, ‘रविविना पनि यो पार्टी चल्छ भनेर नेताहरूले नै बोल्नु सामान्य कुरा होइन ।’

रास्वपाले संविधान बचाउन 'सेफ्टी भल्ब'को काम गर्यो– चन्द्र किशोर
काठमाडौंबाट चुहिएर सूचना आएको छ, राजदूतबारे तीन दलको बैठक भयो । राजदूतमा भागबण्डा गर्ने सहमति भयो । सत्तामार्फत रवि लामिछाने अहिले पनि प्रभावी छन् भन्ने देखिन्छ ।
पछिल्लो महिना प्रतिपक्षी दल संगठितरूपमा रवि लामिछानेमाथि प्रहारमा उत्रिएको छ । उनीहरू जसरी निस्तेज हुँदै गए, मिडियामा एकोहोरोरूपमा उनीमाथि भण्डाफोरको अभियान चल्यो । तर रवि आफ्नो यात्रामा देखापरेका छन् । यसले रविमा आत्मविश्वास छ भन्ने देखाउँछ ।
उनलाई यो आत्मविश्वासले मात्रै बलियो, जवाफदेही बनाउँदैन । यो मात्रै काफी छैन । सत्ताको समीकरण र ध्रुवीकरणका सम्भावना फेरिँदै जान्छन् । यो समीकरण फेरिएर रविको दल सत्ताबाट बाहिर भयो भने उनको लडाईंको अवस्था के हुन्छ ? उहाँ विजेताको रूपमा देखिनुहुन्छ कि पराजित, थकित र छिन्नभिन्न शक्तिको एउटा नेताको रूपमा देखिनुहुन्छ ? त्यो हेर्न बाँकी छ । कुनै पनि सम्भावना समाप्त भएको छैन ।
उहाँले सत्तासँग प्रेम गरिरहनुभएको छ । सत्तासँग के गर्दै जानुहुन्छ हेर्न बाँकी छ । रविको उदय छिटो भयो । अब सत्तासँग कसरी जानुहुन्छ हेर्नुपर्छ । सत्ताको शपथ खाएपछि उहाँको एक–एक दिनको लेखाजोखा हुनुपर्छ । रविको सफलता अरू नयाँ दल लागि प्रेरणा पनि हो । तर, कुनै दल र व्यक्ति विशेषको जादुमा मात्र स्थापना हुन्छ भने त्यो क्षणिक हुन सक्छ । डरको मनोविज्ञानले त्यो पनि देखाउँछ । रविको उदयले नयाँ दलको दशा, दिशा र मनोदशा देखाउँछ ।
नयाँ शक्तिको उदयले आकार लिँदैछन् । दल भन्नेबित्तिकै जनमतको कुरा आउँछ । तत्काल मत पुरानै दलबाट लिने हो । रवि लामिछाने आएपछि पुराना दलहरूमाथि सघनरूपमा प्रश्न उठिरहेका छन् । पुराना दलमाथि सुध्रिनुपर्छ भन्ने झन् जबर्जस्त माग छ । पुराना दलमात्रै सुध्रिनुपर्छ भन्ने होइन, रविको हकका यो झन् बढी लागू हुन्छ । अर्थात्, अरूमाथि प्रश्न गर्दा आफूहरूले के गरिरहेको छु भन्ने प्रश्न पनि उत्तिकै उठ्छन् ।
दक्षिण एसियामा नेता विशेषका प्रवृत्तिले दलको निर्माण गरेका छन् । कुनै मियोविना दल चल्छन् कि चल्दैनन् भन्ने विषय पनि छन् । रास्वपाको हकमा यो लागू भए एउटा प्रयोग हुनेछ– कुनै मियो र नेतृत्वविना पनि पार्टी चल्छ भनेर ।
२०८४ सम्म उदाउन, टुसाउन खोज्नेका लागि रवि प्रतीक र पाठ हुन् । पार्टी खोलेको दुई वर्षमा चुनाव जितेर राज गर्न सकिन्छ भन्ने पाठ उनले दिएका छन् । तर ढुक्क भएर बस्ने, मूल्य र मान्यता चिप्लिने स्थितिमा समाप्त पनि भइन्छ भन्ने सन्देश यसमा छ ।
प्रश्न मात्रै छैनन्, रास्वपाका कतिपय सांसदको अभ्यास राम्रो पनि छ । अध्ययन गरेर संसदमा प्रस्तुत हुनुपर्छ भन्ने देखाएका छन् । थोरै भए पनि संसदमा उपस्थिति र प्रस्तुति प्रभावकारी बन्नुपर्छ भन्ने पनि देखिन्छ । नयाँ तरिकाले संसदमा जानुपर्छ अनि टिक्न र प्रयोग गर्न सकिन्छ भन्ने सम्भावना रास्वापाले देखाएको छ ।
संविधानभित्रै पनि सम्भावना छन् भन्ने रास्वपाले देखाएको अर्को राम्रो पाटो हो । पुराना दलसँगै यो संविधान पनि समाप्त हुनुपर्छ भन्ने सोच राख्नेहरू थिए । त्यसविरुद्ध रास्वपाले सेफ्टी भल्बको काम गर्यो । एक समय दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाहीदेखि रवि लामिछाने मिश्रितजस्तो देखिन्थ्यो । तर रवि चुनाव हुँदै संविधानको बचाउमा लागे । संविधान ल्याउनमा भूमिका नभए पनि रविले संविधानको बचाउमा भूमिका खेलेका छन् ।
रास्वपा पार्टी भन्दा पनि रवि लामिछाने फ्यान क्लब हो– गेजा शर्मा वाग्ले
रास्वपाको सैद्धान्तिक, वैचारिक, वर्गीय, पार्टीगत धरातल नै कमजोर थियो । मूलधारका पार्टी र पटकपटक अवसर पाएर पनि डेलिभरी दिन नसकेका नेताहरूको असफलताका कारण प्रतिक्रियात्मक रूपमा उनीहरूले निर्वाचनमा केही स्थानमा विजय हासिल गर्न पनि सफल भए । स्थापना भएको छोटो समयमा नै २० सिटमा चुनाव जित्न सफल भएपछि तथा व्यावसायिक एवं प्राज्ञिक व्यक्तिहरूको उल्लेखनीय उपस्थितिका कारण प्रारम्भमा रास्वपाको बारेमा व्यापक चर्चा भयो। वास्तवमा यो रास्वपाको सफलताभन्दा पनि मूलधारका पार्टी र शीर्ष नेतृत्वको सामूहिक असफलता थियो । त्यसैको प्रतिक्रियास्वरूप जनताले रास्वपालाई भोट हालेका हुन् ।
अर्कातिर सभापति रवि लामिछाने अत्यन्त विवादित भए । उनको नैतिक, वैचारिक, राजनीतिक सबै पक्ष अत्यन्त कमजोर छ । विशेषगरी सहकारी ठगी, पासपोर्ट, नागरिकतालगायतका अपचलन तथा विवादित र अनैतिक क्रियाकलाप भण्डाफोर भएपछि रास्वपा र रवि एकैचोटि गम्भीर संकटमा परेका छन् । सहकारी ठगीको मुद्दाका कारण उनी मूलधारको पार्टीका नेताभन्दा बढी विवादित भएका छन् । नागरिकताको विवाद समाधान भए पनि पासपोर्टको मुद्दा अदालतमा विचाराधीन छ । रविका यी सबै विवादित प्रवृत्तिको प्रत्यक्ष असर रास्वपालाई परेको छ ।
‘नो नट अगेन’ भन्दै चुनाव लडेको रास्वपा सत्ताको अनुचित सौदाबाजी गरी ओली–प्रचण्ड कम्युनिस्ट गठबन्धनको रक्षाकवच भई पटक–पटक सरकारमा गएर पुरानै शैलीमा सरकार सञ्चालन गर्न थालेपछि एमाले, माओवादी र रास्वपामा मौलिक रूपमा के फरक भयो ? भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।
दक्षिणपन्थी राप्रपाले भन्दा पनि आफूलाई वैकल्पिक शक्तिको संज्ञा दिने रास्वपाले सत्ताको दलाली बढी गरेको देखिन्छ, जुन दुर्भाग्यपूर्ण मात्र होइन, लज्जास्पद समेत हो । त्यसैले पार्टीको औचित्य र सान्दर्भिकतामा समेत प्रश्नचिह्न खडा भएको छ । यसकारण दुई वर्ष नपुग्दै रास्वपाको ‘बिगिनिङ अफ द एन्ड’ (पतनको प्रारम्भ) भएको छ ।
जुन प्रवृत्तिको विरोधमा भनेर पार्टी स्थापना गरिएको थियो, अहिले त्यही प्रवृत्तिलाई पनि माथ गर्ने दिशातर्फ रास्वपा अग्रसर भएको देखिन्छ । रविलाई पटक–पटक गृह मन्त्रालय नै चाहिएको छ, किन ? उत्तर स्पष्ट छ– राज्य सत्ताको दुरुपयोग गरी प्रमाण नष्ट गर्न तथा सत्ताको आडमा अपराधबाट उन्मुक्ति पाउन ।
अहिले त आफ्नो विरोध गर्ने राजनीतिक पार्टी, पार्टीका नेता–कार्यकर्ता र सञ्चारमाध्यमलाई समेत प्रतिशोध लिने उद्देश्यले राज्यसत्ताकै दुरुपयोग गरिरहेका छन् । के १२ लाख नेपाली जनताले रास्वपालाई राज्यसत्ताको दुरुपयोग गर्न, राज्य सत्ताको दुरुपयोगमार्फत प्रमाण नष्ट गरी अपराधबाट उन्मुक्ति पाउन तथा उनको विरोध गर्ने राजनीतिक पार्टी, पार्टीका नेता–कार्यकर्ता र सञ्चारमाध्यमसँग समेत प्रतिशोध लिन मत दिएका हुन् ?
रास्वपाले पुराना, असफल, अनैतिक, भ्रष्ट भएको आरोप लगाउने अन्य पार्टी बरु कुनै नेता तथा कार्यकर्तामाथि आर्थिक अपचलन र भ्रष्टाचारको मुद्दा लाग्दा संस्थागत रूपमा बचाउमा उत्रिँदैनन् । आरोपितको ढाल बनेर पार्टीहरू बचाउमा उत्रिएको देखिएको छैन । कांग्रेसका धेरै नेतामाथि आरोप र मुद्दा लाग्दा कांग्रेसले संस्थागत बचाउ गरेको छैन । एमालेमा ओलीले बचाउ गर्छन्, तर टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बन गरेका छन् ।
लामिछानेको सहकारी ठगी प्रकरणमा रास्वपाले त संस्थागत रूपमा नै बचाउ, ढाकछोप र प्रतिरोध गरेको छ । सहकारी ठगी प्रकरण रास्वपामाथिको होइन, रवि लामिछानेमाथिको अभियोग हो । त्यो पनि पार्टी स्थापना हुनुअघिको काण्ड हो । तर, रविको ढाल बनेर उनका कुकृत्यको ढाकछोप गरेपछि रास्वपाको उद्देश्य र औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ । कुशासन, भ्रष्टाचार, विकृति–विसंगतिकाविरुद्ध आवाज उठाउँदै उदाएको पार्टी आफ्नै सभापतिको अनियमितता, अनैतिकता र आर्थिक अपचलनको ढाकछोप गर्न संस्थागतरूपमा सम्पूर्ण शक्ति प्रयोग र परिचालन गरेको छ ।
रास्वपाले प्रतिगामी भनेर आरोप लगाउने राप्रपाले उस्तै प्रकृतिको सहकारी ठगीको आरोप लागेकी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ । तर, भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति गर्न तथा सुसंस्कृत राजनीतिको प्रारम्भ गर्न स्थापना भएको भनिएको रास्वपाले सभापतिको अनियमितता, अनैतिकता र आर्थिक अपचलनको ढाकछोप गर्न संस्थागतरूपमा सम्पूर्ण शक्ति प्रयोग र परिचालन गरेको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढेका तथा सुशासन र पारदर्शिताको वकालत गर्ने रास्वपाका सांसदको दोहोरो चरित्र भयो कि भएन ? के रास्वपाको सुशासनको मापदण्ड र मानक यही हो ?
मूलधार, मध्यमार्ग तथा उदार मूल्य तथा मान्यतामाथि आक्रमण गरी ‘लोकप्रिय’ र ‘नायक’ हुने पपुलिस्ट तथा स्टन्टवादी प्रवृत्ति हावी भएको देखिन्छ । असत्य पनि हजारपटक भन्यो भने सत्यको रूपमा स्थापित हुन्छ भन्ने प्रोपागान्डा सिद्धान्तका प्रणेता जोसेफ गोयबल्सका प्रेतात्माहरू रास्वपामा हावी भएको देखिन्छ । निराशाको खेती र सपनाको व्यापार गरेर उनीहरू उदाउन त सफल भए तर पार्टी निर्माणका दृष्टिले चुनौतीपूर्ण देखिन्छ ।
रास्वपाको सैद्धान्तिक, वैचारिक र वर्गीय धरातल कमजोर भएको कारणले यो पपुलिस्ट, दक्षिणपन्थी, अनुदारवादी पार्टीमा रूपान्तरित हुँदै गएको देखिन्छ । विरोध, निन्दा, आक्रोश र आरोपबाहेक कुनै राजनीतिक भिजन, विचार र नीति उनीहरूसँग भएको देखिएन। त्यसैले रास्वपाको लहर क्षणिक, अल्पकालीन र प्रतिक्रियात्मक हो, वर्षायामको खहरे खोला जस्तै । कुनै पनि राजनीतिक प्रणालीमा अन्तर्निहित स्वाभाविक शासकीय कमी–कमजोरीबारे प्रायोजित रूपमा विषाक्त भाष्य निर्माण गरी अधिकतम राजनीतिक लाभ हासिल गर्न रास्वपा र रवि सफल भएका छन् ।
रास्वपा हालसम्म संस्थागत पार्टीभन्दा पनि रवि लामिछानेको ‘फ्यान क्लब’ हो । रास्वपाको सफलताको कारण पनि रवि नै हुन् र असफलताको कारण पनि रवि नै हुनेछन् ।