१६ असार २०८३, मंगलबार
मानव बेचबिखनविरुद्ध २७ वर्षदेखि मैदानमा

चुनौती चिर्दै अघि बढेकी चरीमाया

असार ८, २०८१
कास्की
चुनौती चिर्दै अघि बढेकी चरीमाया

सन् १९९६ फेब्रुअरी ५ मा मुम्बई प्रहरीले भारत सरकार र गैरसरकारी संस्थाको अग्रसरतामा कामाठीपुरा ‘रेड लाइट एरिया’मा छापा मार्‍यो । त्यतिबेला मुम्बई प्रहरीले १४ देखि ३० वर्ष उमेरका ४५६ जना महिला र बालिकालाई उद्धार गरेको थियो । जसमध्ये १२८ जना नेपाली थिए । जोसँग नेपाली नागरिक हुनुको आधिकारिक कागजी प्रमाण भने थिएन । यसैलाई निहुँ पारेर नेपाल सरकारले उद्धार भएका महिलालाई स्वदेश फर्काउन वास्तै गरेन । उद्धार भएको ६ महिनापछि उनीहरू नेपाल फर्किन पाएका थिए । त्यो पनि सरकारको सहयोगमा होइन । बलिउड अभिनेता सुनिल सेठ्ठीले उनीहरूलाई फर्काउन सहयोग गरेका थिए । 

२८ वर्षअघि भारतबाट उद्धार भएर घर फर्किएकामध्ये १५ जनाले मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था खोले । नाम राखे ‘शक्ति समूह’ । त्यसैमध्येकी एक हुन् चरीमाया तामाङ । उनकै शब्द सापट लिनुपर्दा शक्ति समूह ‘परिस्थिति’ले जन्मिएको संस्था हो । यो बेचबिखनमा परेका ‘सर्भाइभर’ले खोलेको नेपालकै पहिलो मानव बेचबिखन विरुद्धको संस्था पनि । नेपाल फर्किएपछि उनीहरूले अनौपचारिक रूपमा मानव बेचबिखन विरुद्धमा काम गरे । वि.सं २०५७ सालमा भने संस्था नै दर्ता गरेर औपचारिक रूपमा काम गर्न थाले । 

चरीमायाले शक्ति समूहको जिम्मेवारी सम्हाल्दै २४ वर्षको लामो यात्रा हिँडिसकेकी छिन् । यो अवधिमा उनले आफ्नो पहिचान ‘सर्भाइभर’का रूपमा मात्र नभएर अभियान्ताकै रूपमा बनाएकी छिन् । व्यक्तिगत भोगाइलाई बिर्सिएर संस्था चलाउँदाको उनको संघर्ष भने उस्तै कठिन छ । मानव बेचबिखनविरुद्ध काम गर्दा उनले अनेकौं आरोह–अवरोह भोगेकी छिन् । निरन्तर संघर्षमा पनि छिन् । यसबीच आज पनि उनलाई कोहीले पीडित पात्रको रूपमा मात्र हेर्छन् । यसप्रति उनको गुनासो छ ।

charimaya

सरकारी कार्यालय वा कुनै कार्यक्रममा शक्ति समूहको कार्य र आफ्नो परिचय दिँदा उनीमाथि प्रश्न तेर्सिने गरेको छ– ‘तपाईँ पनि पीडित हो ?’ । यस्तै प्रश्न उनले हालै पोखराको एक कार्यालयमा पनि भोग्नुपर्‍यो । एक व्यक्तिले उनलाई सिधै प्रश्न गरे– ‘तपाईँ पनि बेचिएको हो ?’

हरेक ठाउँमा आफूमाथि यस्ता प्रश्न सोधिनुमा आफूलाई हिनताबोध गराउन उद्देश्य राखिएको हो कि भन्ने चरीमाया शंका गर्छिन् । हातेमालो गरेर सँगै हिँडेकाहरूले पनि सोध्ने गर्दा उनको चित्त दुखाइ छ ।

‘उहाँहरूसँगै हातेमालो गरेर हिँडिराखेकी छु । के म आज पीडित मात्रै हो त ?,’ उनी प्रश्न गर्छिन्, ‘थाहा पाएरै हिनताबोध गराउने उद्देश्यले मलाई यस्ता प्रश्न सोधिएको भन्ने मलाई शंका लाग्ने गर्छ– मलाई हेपेको त होइन भन्ने लाग्छ ।’

आफूलाई त यस्ता प्रश्न सोधिरहनेले भर्खरै उद्धार गरेर ल्याइएका दिदीबहिनीलाई कस्तो व्यवहार गर्लान् भन्ने चिन्ता आफूलाई लागेको चरीमाया बताउँछिन् । ‘हिनताबोध गराउने ढंगका प्रश्न होस् वा आन्तरिक र बाहिरी समस्या म सबै चुनौतीको सामना गर्दै अगाडि बढिरहेकी छु,’ उनले भन्छिन् । 

संस्था शुरू गरेको लामो अन्तरालमा मानव बेचबिखनसम्बन्धी नयाँ कानून आएका छन् । यसलाई सकारात्मक परिवर्तन ठान्छिन् उनी । तर, कार्यान्वयन फितलो भएकोमा भने उनको गुनासो छ । ‘पीडित र प्रभावितलाई पुनस्र्थापना गर्न निर्देशिका बने । मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भयो । दस्तावेज बने तर, कार्यान्वयनको पाटो भने फितलो रहेको छ,’ उनले भनिन्, ‘पीडितको सुरक्षामा भने कमजोरी छ । समाजको पुरातन मानसिकता हाबी रहेका कारण पीडित पक्षले कानूनतः लेखेका कुरा नपाउने अवस्था छ ।’ यद्यपि नीति परिवर्तन गर्न सकिने उनी संकेत गर्छिन् । ‘नीति परिवर्तन गर्न सकिन्छ । मान्छेको नियत परिवर्तन गराउन सकिन्न । व्यक्ति स्वयंले चाह्यो भने सबथोक गर्न सकिन्छ कि !’ 

चरीमाया कामका लागि सरकारको हरेक तहसम्म ठोकिन्छिन् । कतै राम्रो व्यवहार हुन्छन् त कतै असहयोग । सहयोग माग्न अरुलाई ‘ज्यू–ज्यू’ गर्नुपरेको अनुभव तीतो उनीसँग छ । उनले बुझेकी छिन् कुर्सीमा सही व्यक्ति हुँदाको कस्तो फरक पर्छ । उनलाई सरकारी निकायले धेरै झुलाएका छन् । यस्तोमा उनी मानव बेचबिखनका कार्यमा सरकार र सरकारी निकाय सकारात्मक रुपमा हातेमालो गरेर हिँडे सहज हुने धारणा राख्छिन् । 

चरीमायाले सरोकारवाला निकायसँगको दौडधुपबाहेक सांगठनिक समस्या पनि झेल्नुपर्छ । कहिलेकाहीँ आन्तरिक द्वन्द्वले मान्छेलाई गलाउने उनले बताइन् । तर, यस चुनौतीबीच आफू तिखारिएको महसुस उनी गर्ने गर्छिन् । 

काम गर्दा सुरक्षा चुनौती

पछिल्लो समय आन्तरिक मानव बेचबिखनका घटना पनि उत्तिकै छन् । यसमा पीडित र पीडक दुवै नेपाली हुन्छन् । जोखिमपूर्ण ठाउँबाट पीडितलाई उद्धार गरेर ल्याएपछि संस्था र त्यसका कर्मचारीले थप चुनौती भोग्नुपर्छ । कतिपय घटनामा पीडित र परिवार नै ललाइ फकाइमा पर्ने सम्भावना बढी हुन्छ । मुद्दा फितलो पार्न लेनदेन भइसकेको हुन्छ । उद्धार गरेर ल्याउने कर्मचारीको सुरक्षा चुनौती पनि उत्तिकै रहेको चरीमाया सुनाउँछिन् । पीडक पक्ष उद्धार गर्ने व्यक्तिको नाम, तस्वीर र नम्बरसहित धम्क्याउन कार्यालयसम्म नै आउँछन् । ‘यस्तो अवस्थामा हाम्रो सुरक्षा कसले गर्ने त ?’, उनी प्रश्न गर्छिन्, ‘गोपनीयता भनेको घटनामा परेको व्यक्तिको मात्र हुँदैन । घटनामा परेको व्यक्तिको संरक्षण गर्ने संस्थाका कर्मचारीको पनि हुन्छ ।’

पछिल्लो समय संस्थाका कर्मचारीहरू सुरक्षा जोखिममा रहेकोमा चरीमाया चिन्तित चिन्तित देखिइन् । उनका अनुसार संस्थाको भौतिक सम्पत्तिमाथि प्रहार गर्दै अफिस जलाइदिने धम्की सामान्यजस्तै हुन् । तोडफोड गर्न खोज्ने र संस्था घेराउजस्ता समस्या उनले भोगिरहनुपर्छ । त्यसैले पनि खबरदारी गर्न बलियो बनेर उभिनुपर्ने चुनौतीमा आफूमा रहेको चरीमायामाथि छ ।

‘मानव बेचबिखनविरुद्ध काम गर्न सजिलो छैन । यो मुद्दामा खबरदारी गर्नका लागि विशाल हृदय चाहिन्छ । आज एकदिन गरौँ अर्को वर्ष देखा जायेगा भनेर पनि हुँदैन । यसमा जीवन पर्यन्त लाग्न जरुरी छ,’ उनले भनिन् । 

यी सबै चुनौतीको सामना गर्न आफूलाई आफ्नै जीवनको भोगाइ र मानवताको नाताले उभ्याएको चरीमाया बताउँछिन् । ‘शुरूका दिनमा मेरो जीवनको घटनाले हो मलाई यस क्षेत्रमा उभ्याएको । त्यो घटनालाई सिकाइको रुपमा लिएर म अघि बढेकी छिन् । अब पीडितको पक्षमा अझ दह्रो उभिनुपर्छ भन्ने ठानेकी छु,’ उनले सुनाइन् । 

फर्केर हेर्दा
२०५० सालमा चरीमाया समस्यामा परेकी हुन् । २०५२ सालमा उद्धार भएर २०५३ सालमा नेपाल आइपुगेकी थिइन् उनी । लगत्तै २०५४ सालबाट संस्थाको काम भयो । २०५७ सालमा संस्था दर्ता नै गरेर उनी अघि बढेकी हुन् । उनले आफूले मात्र नयाँ जीवन शुरूवात गरिनन्, समाजमा पनि उदाहरण बनिन् । उनले अहिले उनीजस्तै बेचबिखनमा परेका महिला तथा बालिकालाई नयाँ जीवनको बाटो देखाएकी छिन् । आफ्नो जीवनमा अकल्पनीय घटना घट्दा उनी १६ वर्षकी मात्र थिइन् । । पढाइ ५ कक्षामै रोकिएको थियो । अहिले भने उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन् । समाजबाट यस्ता घटना न्यूनीकरण गर्न पनि शिक्षा अत्यावश्यक रहेको उनको बुझाइ छ ।

चरीमाया २७ वर्षदेखि यही क्षेत्रमा समर्पित छिन् । यसबीचमा उनले समय धेरै परिवर्तन भएको देखेकी छिन् । त्योसँगै प्रविधि पनि । प्रविधिले समस्या पनि ल्याएको उनको बुझाइ छ । ‘पछिल्ला वर्षहरूमा मानव बेचबिखनका घटना बढे वा घटे निर्क्यौल गर्न तथ्यांक छैन,’ उनी थप्छिन्, ‘तर प्रविधिले यी समस्या समाधानलाई थप जटिल बनाएको मेरो अनुभव छ ।’

समयको विकास क्रमसँगै कार्यथलो फराकिलो भएकाले यौन शोषणका घटना पनि बढेको चरीमाया बताउँछिन् ।  हिंसाको स्वरूप भने परिवर्तन भएको उनको भनाइ छ । ‘आजकल हिजोजस्तो यौन शोषणका लागि मात्र मानव बेचबिखन हुने भन्ने छैन । कलकारखाना, चिया पसल, भट्टी, खाजा घर जहाँपनि श्रम शोषण हुन्छ । इच्छाविपरीतको कार्यमा लगाइन्छ । त्यति मात्र होइन, एउटा कामका लागि भनेर लगिन्छ, अनि यौन शोषण हुन्छ,’ उनले भनिन् । 

यसरी शोषणमा पर्नेमा कम शिक्षित र आर्थिक अवस्था कमजोर रहेका बढी भेटिएको उनले बताइन् । यी समस्या न्यूनीकरणका लागि परिवार, समाज र सरकार बलियो हुनुपर्ने राय उनको छ । 

‘हाम्रो काम समस्यामा परेको व्यक्तिलाई बचाउने मात्र होइन समस्यामा पर्न सक्ने व्यक्तिलाई जोगाउने पनि हो,’ कुरा टुंग्याउँदै उनले भनिन्, ‘यसमा पहिलो दायित्व सरकारको हो । अनि मात्र हाम्रो ।’
 

salt training

कमेन्ट गर्नुहोस्