३० जेठ २०८३, शनिबार
८० बढी गीतका सर्जक

संगीतकर्ममा श्रीधरको उडान : छोटो समयमै लामो यात्रा

असार ८, २०८१
बुटवल
संगीतकर्ममा श्रीधरको उडान : छोटो समयमै लामो यात्रा

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् । 

उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ मानिने स्याङ्जाका हुन् । वि.सं २०५४ मा जन्मिएका उनी सानैदेखि नेपाली गीत/संगीतमा सक्रिय भएका थिए । रहरै–रहरमा सांगीतिक दुनियाँमा हाम फालेको बताउने उनी पछिल्लो समयमा स्थापित संगीतकर्मी बनिसकेका छन् । 

सांगीतिक क्षेत्रमा आफू एउटा विधामा मात्र केन्द्रित नभएको श्रीधर बताउँछन् । हुन पनि उनले लोकदोहोरी, आधुनिक, लोकआधुनिक र फिल्मी गीतगरी चारवटै विधाका गीतमा स्वर, संगीत र शब्द भर्न सफल भएका छन् । उनका केही गीत अहिले चर्चामा छन् । सामाजिक सञ्जालबाट चर्चामा आएकी कलाकार कल्पना विष्ट र श्रीधरको स्वरमा सार्वजनिक भएको गीत ‘मनै मरी गर्‍यो’, कल्पना विष्ट र रचना रिमालको ‘दिदी–बैनी’ अहिले युट्युबको ‘टेर्निङ’मा छन् । अर्की सामाजिक सञ्जालबाटै चर्चामा आएकी गायिका सिम्रन परियार र श्रीधरले गाएको ‘मुटुमै घाउ छ’ भन्ने गीतले पनि उनलाई चर्चा दिलाएको छ ।  

श्रीधर स्याङ्जाको गल्याङ नगरपालिका–११ मा जन्मिए–हुर्किए । विद्यालय तहको पढाइ गाउँबाटै सकेर उच्च शिक्षा अध्ययनका लागि २०७२ मा उनी बुटवल झरे । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा व्यवस्थापन विषय लिएर पढ्दै उनले लुम्बिनी कला केन्द्रमा संगीत सिक्न थाले । संगीत सिक्दै उनले आफूलाई निखार्दै गए । २०७५ मा आफ्नो स्वर र संगीतमा पहिलो लोकदोहोरी गीत ‘ख्यालख्यालमै पिरती’ बोलको गीत बजारमा ल्याएका थिए । श्रीधर र पूर्णकला बीसीले स्वर रहेको उक्त गीत गण्डकी र लुम्बिनीसहित सुदूरपश्चिम क्षेत्रमा रुचाइएको थियो । 

त्यसपछि श्रीधरले तीज गीत ‘सुन मायालु’ बजारमा ल्याए । त्यसले उनलाई स्रोता–दर्शकमाझ चिनाउन झनै सहयोग पुर्यायो । यसपछि उनले क्रमशः ‘मनकी रानी’ रोइला गीत ल्याए । ‘लाली जोवन’ बोलको तीज गीत आएपछि उनको चर्चा बढ्दै गयो । एलिना चौहान र विष्णु सापकोटाको स्वरमा रहेको ‘बाजा ताल’मा बोलको गीत पनि श्रीधरकै सिर्जना हो । उनी र शान्तिश्री परियारको स्वरको गीत ‘बाडुल्की ला होला’ र ‘संसारकी प्यारी प्यारी आमा’सम्म आइपुग्दा उनी सफल दर्ज भइसकेका छन् ।

‘म लोकदोहोरी गीत क्षेत्रका अब्बल कलाकारहरू जन्मिएको भूमिमा जन्मिएँ । अहिले उहाँहरूसँग काम गरिरहेको छु,’ उनी थप्छन्, ‘बद्री पंगेनी, रामजी खाण, विष्णु माझीका गीत सुनेर हुर्किएँ । त्यसले गीत–संगीतमा लाग्ने हुटहुटी पैदा गर्यो । अहिले त्यो सानो उमेरमा देखेको सपना पूरा गर्ने बाटोमा पुगेजस्तो लागेको छ ।’

श्रीधरले अहिलेसम्म ८० भन्दा गीत दर्शक–स्रोतामाझ ल्याइसकेका छन् । अहिले उनी २० वटाभन्दा बढी सिर्जना बजारमा आउने तयारीमा छन् । आफूले संगीत, स्वर र शब्द चयन गरेका सिर्जनामा नेपालका ९० प्रतिशत सबै क्षेत्रका कलाकार जोडिएको उनी दाबी गर्छन् । ‘जुन सौभाग्य मैले कमै उमेरमा पाएँ,’ उनी भन्छन् । ‘कलेजी कटक्कै’, ‘हुन्न र मायालु’, ‘बागलुङ पञ्चकोट’, ‘नजरको तिर’, ‘चाहियो भन्छिन् आमाले बुहारी’लगायत अन्य धेरै उनले गरेका सिर्जना हुन् । ‘राजा–रानी, तिमी पनि उस्तै रहिछौं र मेरो तस्वीरसम्म आउँदा मेरा गीतले युट्युबमा ‘टू एम’सम्म भ्युअर्स पुर्याएका छन्,’ उनले भने, ‘टिकटक बन्द भए पनि त्यसमा मेरा गीत २ लाखभन्दा बढी पटक प्रयोग भएको थियो ।’ 

श्रीधर सानै हुँदादेखि क्यारिकेचर (अरूको नक्कल गर्ने) पनि गर्थे । २०७३ सालतिर बुटवलको औद्योगिक व्यापार मेला हेर्न थालेपछि गीत–संगीत क्षेत्रमा क्षेत्रमा उनको रुचि बढेको हो । ‘आफूभित्रको खुबी देखाउन मञ्चमा चढेको थिएँ । शुरूमा क्यारिकेचर नै गरौँ कि भन्ने लागेको थियो,’ उनी विगत सम्झिन्छन्, ‘तर, गीत गाउन मन लाग्यो ।’ राम्रो प्रतिभा भएको कलाकारलाई अब संगीत क्षेत्रमा अप्ठ्यारो नभएको उनको बुझाइ छ । तर, कलाकार बन्छु भनेर अन्धाधुन्ध आउनेका लागि सांगीतिक क्षेत्रमा भविष्य नभएको भन्दै उनी सजग गराउन पनि पछि पर्दैनन् । ‘आफ्नो बलबुता कलाकार बन्ने प्रयास गर्नुपर्छ । अरूको लहलहैमा हाम फालेर मात्र कलाकार बन्न सकिँदैन,’ उनी भन्छन्, ‘यस क्षेत्रमा सिक्ने कुरा निरन्तर चलिरहन्छ । समयसँगै नयाँ शैलीमा काम गर्नुपर्ने हुन्छ । धैर्यता सबैभन्दा कलाकारको महत्वपूर्ण पाटो हो ।’

आफ्ना सिर्जनालाई देशमा मात्र नभएर विदेशमा रहेका नेपालीले पनि रुचाउँदै गएकोमा आफूलाई हौसला थपिएको श्रीधर बताउँछन् । पहिला उनलाई परिवार, साथी तथा शुभचिन्तकले गीत–संगीत क्षेत्रमा राम्रो भविष्य नभएको भन्दै सजगसमेत गराएका थिए । यही कारण आफूले सजगतासाथ यस क्षेत्रमा पाइला चालेको उनी बताउँछन् ।  ‘सिर्जना भनेको आफूपछि पनि रहिरहने सम्पत्ति हो । जुन क्षेत्रमा काम गर्न धैर्यता चाहिन्छ । जो मसँग छ जस्तो लाग्छ । यसैकारण पनि मैले आफ्नो कर्मलाई धैर्यताका साथ अघि बढाएको हुँ । कायम राख्न सकेको छु,’ दार्शनिक पारामा उनले भने ।

श्रीधरले करिब करिब ६ वर्ष गीत–संगीत क्षेत्रमा बिताइसकेका छन् । उनी अब यस क्षेत्रलाई सुधार र संरक्षण गर्न पनि जरुरी रहेको ठान्छन् । ‘गीत–संगीत क्षेत्रमा बेला–बेला केही विकृति पनि आइरहन्छन् । यसलाई सुधार गर्नुपर्छ । यो क्षेत्र सुन्दर र स्वच्छ रहे हामी कलाकारको इज्जत बढ्ने हो । यसकारण कलाकारिता क्षेत्रमा सुधार हुन एकदमै जरुरी छ,’ उनी भन्छन् ।’ 

विकृतिबारे बोल्न डराउन नहुने श्रीधर ठान्छन् । ‘अहिले बोल्न डराएर यस्तै अवस्था रहिरहे यो क्षेत्रमा मासिन सक्ने अवस्था नआउला भन्न सकिन्न । तर, विकृति हटाएर एकअर्कामा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि जरुरी छ । यो सम्भव पनि छ । यसका लागि सबै कलाकारमा एकता र सुधारभाव हुनुपर्‍यो ।’ गीत–संगीतमा भएका विकृति हटाउन दर्शक र स्रोता पनि जाग्नुपर्ने श्रीधरको तर्क छ । साथै संगीतकर्ममा आफूले सिकेको ज्ञान र सीप अरूलाई सिकाउने रहर पनि आफूमाझ रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्