१८ असार २०८३, बिहीबार
विवादमा फस्दै राष्ट्रपति

नयाँ सत्ता समीकरणप्रति राष्ट्रपति पौडेलको अतिरिक्त चासो, धारा ७६ (३) मा लैजान जोडबल

देउवाले रामचन्द्रलाई भने- 'आफ्नो सीमा ननाघ्नुस्'
असार २०, २०८१
काठमाडौं
नयाँ सत्ता समीकरणप्रति राष्ट्रपति पौडेलको अतिरिक्त चासो, धारा ७६ (३) मा लैजान जोडबल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन हुन नदिन शीतल निवास सक्रिय भएको स्रोतहरूले दाबी गरेका छन् । 

संवैधानिक मर्यादा भुलेर राष्ट्रपति रामचन्द्र पौडेलले अतिरिक्त सक्रियता देखाएको स्रोतहरूको दाबी छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नगरी संसद् ‘फेस’ गरेमा संविधानको धारा ७६ (३) मा लगेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चलखेल भएको हो । धारा ७६ (२) को प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत नपाए उपधारा ३ मा जाने संवैधानिक प्रावधान छ । 

प्रधानमन्त्रीले राजीनामा गरेमा उपधारा २ अनुसार नै सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्न सक्छन् । प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा पनि राष्ट्रपतिले उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्न सक्छन् । 

राष्ट्रपति पौडेलले कांग्रेसको नेतृत्वमा सरकार बन्नेगरी धारा ७६ (३) मा लैजान खोजे पनि स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा भने एमालेसँग भएको सहमतिअनुसार नै पहिलो कार्यकालको प्रधानमन्त्री ओलीलाई बनाउन प्रतिबद्ध छन् । 

देउवाले राष्ट्रपतिको मर्यादा बिर्सेर कुनै कदम नचाल्न पौडेललाई सचेत गराएको स्रोतको दाबी छ ।

देउवाले विवादमा आउने काम नगर्न पौडेललाई फोनमार्फत सचेत गराएको कांग्रेस स्रोतले बतायो । 

‘दायाँबायाँ केही पनि हुँदैन, सहमतिअनुसार ओली नै प्रधानमन्त्री हो, कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ,’ नयाँ समीकरण बनाउन सक्रिय नेतासँग देउवाले भनेका छन् । प्रचण्डबाट पटक–पटक धोका खाएकाले उनको प्रलोभनमा कांग्रेस नफस्ने उनले बैठकमा ब्रिफिङ गरेका थिए । 

विगतमा डा. रामवरण यादव कांग्रेस महाधिवेशनमा हस्तक्षेप गरेर विवादमा आएका थिए ।

नेकपा कार्यकालमा राष्ट्रपति विद्या भण्डारी पनि विवादमा तानिएकी थिइन् ।

कांग्रेस नेतृत्वले विवादमा आउने गरी केही पनि काम नगर्न पौडेललाई सचेत गराएको छ । 

एमालेको नेतृत्वमा सरकार गठन गर्ने गरी असार १७ गते सहमति भएको थियो । सो सहमतिलाई कांग्रेस र एमालेले औपचारिकरूपमा अनुमोदन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिसकेका छन् । 

कांग्रेस–एमाले सहमति भएको भोलिपल्ट असार १८ गते बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने, बरु संसद् 'फेस' गर्ने बताएका थिए । 

असार २० गते बिहीबार राजीनामा बुझाउन गएका रास्वपा मन्त्रीहरूलाई आफूले छिट्टै विश्वासको मत लिने भन्दै फर्काइदिएका थिए । 

रामचन्द्र–प्रचण्डको त्यो भेट

असार १८ गते पदाधिकारी बैठकमा ‘ब्रिफिङ’ गरेलगत्तै प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका थिए । त्यहाँ पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । 

एमालेसँगको गठबन्धन तोडेर आफूले राष्ट्रपति बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले सत्ता जोगाइदिन पौडेलसँग अनुनय विनय गरेको कांग्रेस नेताहरू बताउँछन् । परिस्थितिले एमालेसँग जोडिनु परे पनि फेरि कांग्रेससँग नजिकिने पृष्ठभूमि बन्दै गएको भनेर प्रचण्डले पौडेलसँग कुरा राखेको कांग्रेस स्रोतले बतायो । 

एमालेले समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिनुपर्ने अवस्थामा कांग्रेसको समर्थन जुटाइदिन प्रचण्डले पौडेलसँग आग्रह गरेका थिए । त्यो सम्भव नभए संविधानको धारा ७६ (३)मा लैजानका लागि प्रचण्डले जोडबल गरेको स्रोतहरूको भनाइ छ । 

सोहीअनुसार पौडेलले ओली नभएर कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्छ भन्ने गरी कांग्रेस सभापति देउवालाई सन्देश पठाएका छन् । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले कस्तो समीकरण बन्छ भन्ने कुरा राष्ट्रपतिको चासोको विषय नभएको बताए । 

‘यी कुनै पनि कुरामा सत्यता छैन, राष्ट्रपतिले कुनै हस्तक्षेप गर्नुभएको छैन,’ पोखरेलले लोकान्तरसँग भने । 

सहमतिप्रति ओली–देउवा कटिबद्ध

प्रचण्डले सत्ता हस्तान्तरणमा विलम्ब र संवैधानिक जटिलता सिर्जना गर्न सक्छन् भन्नेमा ओली र देउवा यसअघि नै सचेत थिए ।

असार १७ गते दुई दलबीच सहमतिमा हस्ताक्षर हुनुअघि राष्ट्रपति पौडेलसँग उनीहरूले परामर्श गर्न प्रयास गरेका थिए । 

तर, राजनीतिक समीकरण नबन्दै परामर्श गर्दा राष्ट्रपतिलाई विवादमा तानेको अर्थ लाग्ने भएकाले उनीहरू शीतल निवास गएनन् । 

सहमतिको ‘ड्राफ्ट’ गर्ने नेताहरू अनुभवी र परिपक्व रहेकाले उनीहरूले पर्याप्त छलफल गरेका थिए । 

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता गरेर मन्त्रीले राजीनामा गरेपछि प्रचण्ड सरकार अल्पमतमा परिसकेको छ । 

अल्पमतमा परेको सरकारले दीर्घकालीन महत्त्वका निर्णय नगर्न एमालेले प्रचण्डलाई खबरदारी गरिरहेको छ । 

कांग्रेस महामन्त्री गगन थापाले अल्पमतमा परिसकेपछि यताउता चलखेल नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । 

‘प्रचण्ड अल्पमतमा परेपछि फेरि यताउता खेल्न सकिएला कि ? कांग्रेस–एमालेलाई अल्मल्याउन सकिएला कि भन्ने खालको कुरामा उहाँ नअल्मलिने कुरा उहाँको स्वास्थ्यका लागि पनि उपयुक्त छ र देशका लागि पनि त्यो ठीक छ,’ थापाले भने, ‘मलाई विश्वास छ, उहाँले भरे भोलिमा राजीनामा दिनुहुन्छ । दिनुभएन भने एउटा प्रक्रियाबाट दुई, चार, (वा) पाँच दिनभित्र नयाँ सरकार बन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्