१० असार २०८३, बुधबार
‘जुमिया’ र ‘एमाजोन’को नाममा छलकपट

नक्कली सपिङ पोर्टल बनाएर फर्जी काम : ३५ जनाबाट एक करोड ठगी, एकै जनाको १७ लाख गुम्यो

असार २५, २०८१
काठमाडौं
नक्कली सपिङ पोर्टल बनाएर फर्जी काम : ३५ जनाबाट एक करोड ठगी, एकै जनाको १७ लाख गुम्यो

२३ वर्षीय अनुराग खड्का (काठमाडौं) गत साता एउटा उजुरी लिएर ​काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । उजुरी बुझेपछि प्रहरी छक्क परे । 

प्रहरी छक्क पर्नुको कारण थियो, नचिनेको व्यक्तिले मोबाइलको दुइटा ‘एप’मा प्रवेश गर्न लगाएर लाखौं ठग्यो । प्रहरीका अनुसार जुमियाएमाजोन नामका दुई एपको प्लाटफर्ममा खड्कालाई प्रवेश गर्न लगाइएको थियो । ती प्लाटफर्मबारे उनले फेसबुक र इन्टाग्राममा आएको विज्ञापनमार्फत् जानकारी पाएका थिए । अनलाईन जागिर दिने भन्दै टेलिग्राममार्फत् गिरोहले खड्कासँग फोनसमेत गरेको थियो ।

फोनमा कुराकानीपछि टेलिग्राम  एपमा लिंक पठाएर लगइन गर्न गिरोहले सुझाएअनुसार खड्काले जुमियाएमाजोनको एप डाउनलोड गरे । एपमा जनाइएअनुसार काम पूरा गरेबापत उनको एकाउण्टमा रकमसमेत पठाइयो । खड्का मख्ख परे ।

उनी काम पूरा गर्थे, खातामा रकमसमेत देखिन्थ्यो । तर, लाख कटेपछि रकम फिर्ता आउँदैन । अनि पैसा माग्दा टेलिग्रामबाट फोन गरेर खड्कालाई भनिन्छ– यो पैसा फिर्ता पाउन तपाईंले कर तिर्नुपर्छ । खड्का झल्याँस्स हुन्छन् । उनी बल्ल ठगिएको थाहा पाउँछन् । त्यसपछि उनी उजुरी बोकेर प्रहरीमा पुगेका हुन् ।

खड्काजस्तै ३५ जना पीडित अहिले अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगेका छन् । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार नाइजेरियामा वैद्य रूपमा सञ्चालन भएको जुमिया नामको सपिङ पोर्टल र बेलायती सपिङ पोर्टल एमाजोनको नक्कली पोर्टल बनाएर गिरोहले ठगी धन्दा चलाउँदै आएका हुन् । विगतमा ह्वाट्सएपमार्फत् फोन गरेर सर्वसाधरणलाई ठग्दै आएको गिरोहले परिचय लुकाउन टेलिग्राममार्फत् फोन गर्ने गरेको अनुसन्धान कार्यालयले जनाएको छ ।

गिरोहले एकै जनाबाट १७ लाख रुपैयाँको कारोबार गर्न लगाएर ठगी गरेको उजुरी प्रहरीमा छ । ‘शुरूमा अनलाइन जब दिने बहानामा फेसबुक र इन्टाग्राममा विज्ञापन गरेपछि सर्वसाधरणलाई ध्यानाकर्षण गराउने र एप डाउनलोड गरेपछि टेलिग्राममार्फत् फोन गर्ने गरेको देखियो,’ अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘कतिपय महिलाले त श्रीमानलाई समेत थाहै नदिई भटाभट १२ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखियो ।’  

अनुसन्धान कार्यालयले केही ह्याकरसँगसमेत समन्वय गरेर यो गिरोहलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दासमेत सम्भव नभएको एक अनुसन्धान अधिकृतले बताए । उनले भने, ‘एक त नक्कली एप बनाएको देखिन्छ, अर्को टेलिग्रामबाट गफ गर्छ, जसले रकम ट्रान्सफर गर्यो, उसको खातामा रकम बढी देखाएर मख्ख पार्दै धेरै रकम खातामा जम्मा भएपछि मात्रै गिरोह सम्पर्कविहीन हुने गरेको देखियो ।’ गिरोहले फेसबुक र इन्टाग्राममार्फत् गरेको विज्ञापनमा जसले क्लिक गर्‍यो उसैलाई नम्बर मागेर टेलिग्राममार्फत् फोन गर्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । शुरूमा खुसी हुँदै रकम ट्रान्सफर गर्ने सर्वसाधरणले रकम फिर्ता नभएपछि मात्रै आफू ठगिएको थाहा पाउँछन् । 

गिरोहले जुुमिया र एमाजोन एप डाउनलोड गर्न लगाइसकेपछि पाच वटा ‘टाक्स’ दिन्छन् । ती टाक्स पूरा गरेपछि मात्रै ट्रान्सफर गरेको रकम खातामा वृद्धि भएको देखिन्छ । अचम्मको कुरा त गिरोहले नेपाली खाता नम्बर नै प्रयोग गरेको देखिन्छ । एनआईसी एसिया, कुमारी बैंकलगायत थुप्रै बैंकका खाताहरू प्रयोग भएको प्रहरीले जनाएको छ । 

यसअघि गत वर्ष फिफिया नामका एपमार्फत् सर्वसाधरणले ८ अर्ब रुपैयाँ गुमाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लामो समय अनुसन्धान गरे पनि मुख्य गिरोहसम्म पुग्न नसेपछि सबै रकम विदेशिएको आशंका प्रहरीले गरेको थियो । एसपी जिसीले भने, ‘म परिसरमा हुँदा फिफियाबाट भएको ठगीको अनुसन्धान गरेको थिएँ तर, विदेशबाटै सञ्चालित यो एपले थुप्रै नेपालीको ८ अर्ब बढी रकम डुबाइदियो, फिर्ता नआउनेगरी पैसा विदेश पुग्यो ।’

सर्वसाधरण सानो प्रलोभनमा परेर थाहै नपाएको र नजानेको एपमा क्लिक गरेकै भरमा लाखौं रुपैयाँ गुमाउँदै आएको यो घटनाले पनि पुष्टि गरेको जिसी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्