०६ असार २०८३, शनिबार
भारतकी छोरी, नेपालकी बुहारी

डाक्टर बन्न नपाएकी श्रीविद्याः अनि बनिन् डाइटिसियन

असार २९, २०८१
पाेखरा
डाक्टर बन्न नपाएकी श्रीविद्याः अनि बनिन् डाइटिसियन

‘हेल्थ केयर हब’ भनेर चिनिने भारतको चेन्नईमा जन्मिएकी श्रीविद्या रघुनाथन कायस्थको सपना थियो चिकित्सक (डाक्टर) बन्ने । यो उनी सानै हुँदाको रहर हो । तर, उनको रहरमा तगारो आर्थिकपाटो बन्यो । परिवारको आर्थिक अवस्थामा कमजोर नै त थिएन तर छोरीलाई डाक्टर पढाउन भने सोच्नैपर्ने थियो । १२ कक्षा उतीर्ण गरेर उनी नजिकैको मेडिकल कलेजमा एमबीबीएस भर्ना हुन खोजिन् । भर्नाका लागि १५ लाख भारतीय रुपैयाँ  शुरूवातमै लाग्ने भयो । यो सुनेर उनी अलमलमा परिन् । आफ्नो रहर त्यागेर उनले मनमनै भनिन् ‘भो अब एमबीबीएस नगरौँ ।’ 

मेडिकल क्षेत्रमा सेवा गर्ने श्रीविद्याको हुटहुटी त्यतिकैमा मरेन । चिकित्सक शिक्षामा स्नातक गर्न परिस्थितिले नमिलेपछि बुवाले उनलाई डेन्टल पढ्न सुझाए । उनको मन त्यता गएन । उनले केही समय लिइन्, पढाइका विषयबारे बुझिन् । त्यसपछि उनको पोषण विषयतर्फ ध्यान गयो । उनले रोजेको सोही विषयले श्रीविद्या आज आहार परामर्शदाता (डाइटिसियन) छिन् । उनी अहिले पोखरामा विद्याज डाइट एन्ड फिटनेस सञ्चालन गरेर बसेकी छिन् । 

‘सबै विषय हेरेँ तर न्युट्रिसनिस्ट बन्ने रुचि लाग्यो । यसमा माइक्रोबायोलोजी, फिजिओलोजी, एनाटमी, साइकोलोजीजस्ता सबै पढ्न पाइने रहेछ । साथमा फूड साइन्स पनि पढ्न पाइयो । डाइभर्स कोर्स पनि पढ्न पाउँदै छु भनेर खुशी लाग्यो,’ उनले भनिन् । 

श्रीविद्या साढे तीन वर्षको स्नातक कोर्स गरेपछि इन्टर्नसिप गर्न ६ महिला अस्पतालमा गइन् । पढेका कुरा अस्पतालमा हेर्न र प्रयोग गर्न पाइन् । यसबाट उनी झनै हौसिइन् । उनका अनुसार भारतले  महत्व बुझेर पोषण विषयलाई प्राथमिकता दिएको छ । त्यसैले पढाइ पनि विषयगत रुपमा केन्द्रित भएर हुन्छ । उसले ‘रजिष्ट्रार डाइटिसियन’ भनेर दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । तर नेपालमा भने आहारविद् र पोषणविद्को भिन्नतामा नै अलमल भइरहेको उनको अनुभव छ । त्यसैले त श्रीविद्याले नेपालमा चुनौती भोग्नुपर्यो । ‘नेपाली बुहारी’ भएर आएकी श्रीविद्याले नेपालमा यस विषयबारेको अनविज्ञता चिर्दै अघि बढिन् । सरकारी कार्यालयबाट नै उनले असहजता भोग्नुपर्यो । किनकि स्वास्थ्य मन्त्रालयका कर्मचारी नै यस विषयबारे अनविज्ञ रहेको उनले पाइन् । ‘सरकारी कार्यालयमा जाँदा मलाई ‘तपाईँ खाना पकाउने हो ?’ भन्ने प्रश्नको सामना गर्नपर्यो,’ उनी भन्छिन् । यसका बीच उनले कानूनी प्रक्रिया पूरा गरेर डाइट एन्ड फिटनेस सञ्चालन गर्न लागिन् । 

शुरूवातमा श्रीविद्याले एबी केयर एन्ड रिहाबिलिटेसन सेन्टरमा काम गरिन् । तीन वर्षसम्म उनले आहार परामर्शदाताको रुपमा काम गरेकी हुन् । त्यसैबेला उनले डा अनसुमन जोशी काठमाडौंबाट पोखरा बिरामी जाँचका लागि आइरहने सुनिन् । नेपालमा थाइराइडका समस्या भएका मानिसमा मोटोपन अर्को समस्या रहेको उनले देखेकी थिइन् । श्रीविद्या डा अनसुमनसमक्ष पोषण क्षेत्रमा काम गर्ने प्रस्ताव लिएर गइन् । उनले सकारात्मक प्रतिक्रिया दिए । त्यसरी उनी ‘पोखरा डाइबिटिज’मा स्टेकहोल्डरसँगै आहार परामर्शकर्ताका रुपमा तीन वर्ष काम गरिन् । यसैबीच उनले आफ्नो विषयगत ज्ञान आर्जनलाई पनि बढावा दिँदै गइन् । अनि भारतमा पुनः केही महिनाको कोर्स गर्न पुगिन् । आएर काठमाडौंको क्याफोडेट कलेजबाट आहार विषयमा मास्टर सकिन् । त्यसपछि उनले बुझिन्– डाइटको तालिकामात्र दिएर मानिसको शारीरिक अवस्था परिवर्तन हुँदैन । उसलाई थेरापी, व्यायामसँगै आवश्यक परामर्श दिन पनि जरुरी छ । तौल घटाउन उनी कतिपय सेवाग्राहीलाई भोकै पनि राख्ने गर्छन् । उनले पोषण मिलाएर खान दिने सुविधासमेत शुरू गरेकी छिन् ।

null 

‘क्लाइन्ट भोक नलाग्ने दबाई दिनु भन्दै आउनुहुन्थ्यो । तर यो सही र दिगो समाधान थिएन । समस्या के हो भन्ने मैले बुझेकी थिएँ ।  मनोवैज्ञानिक रुपमा पनि उनीहरूलाई बुझाउन र विश्वास दिलाउन सक्नुपर्यो,’ उनले भनिन् । 

त्यसपछि श्रीविद्याले सन् २०१८ मा विद्याज डाइट शुरू गरिन् । उनको कामले उचाइ लिँदै थियो । सेवाग्राही थपिएका थिए । डाइट सेन्टरलाई बढाउन उनले थप लगानी गरेकी थिइन् । यसबीच २०२० मा कोरोना महामारीको चुनौती भोग्नुपर्यो । ‘नयाँ मशिन आइसकेको अवस्थामा बन्द गरौँ कि पनि लागेका थियो । तर नगरौँ भन्ने लाग्यो । डाइट डब्बा भनेर नयाँ शुरू गरेँ,’ उनले सुनाइन् ।

लकडाउनको समयमा श्रीविद्याले ‘डाइट डब्बा’ नाम दिएर स्वास्थ्यकर खाना उपलब्ध गराइन् । जसको राम्रो प्रतिक्रिया मिल्यो । कोरोना महामारी त्रास सर्वत्र फैलियो । सन् २०२२ मा डाइट सेन्टर र डाइट डब्बा दुवै बन्द गराइन् । केही समय बन्द गरेकी उनी ‘अन–कल’मा सेवा दिइरहेकी थिइन् । यो कामको निरन्तरताबीच उनलाई लाग्यो– किन फेरि विद्याज डाइट शुरू नगर्ने ? २०२२ को अन्तिममा नै उनले आफ्नो कामको फेरि शुरूवात गरिन् । पुरानो क्लाइन्टहरू खोज्दै आए । त्यसपछि त्यो पुनः स्थापित भयो । अहिले त्यही विद्याज डाइटले दिनमा ५० भन्दा बढी क्लाइन्टलाई सेवा दिइरहेको हुन्छ ।  

विद्या पहिलोपटक सन् २०१२ मा नेपाल आएकी हुन् । २००८ सालमा सरोज कायस्थ इन्जिनियर पढ्नका लागि नेपालबाट चेन्नई पुगेका थिए । त्यहाँ उनको प्रेम श्रीविद्यासँग झांगियो । त्यही प्रेमलाई वैवाहिक जीवनमा बदल्दै श्रीविद्या पोखरा आएकी हुन् । परिवारकी एक्ली सन्तान उनलाई यति टाढा पठाउन बुवा–आमालाई शुरूवातमा अप्ठ्यारो लाग्यो । यसैबीच २०१४ मा उनलाई लिन जन्ती चेन्नई पुगे । त्यसपछि पोखराको कायस्थ परिवारमा बुहारी भएर आइन् उनी । फरक भूगोल र संस्कृतिमा घुलमिल हुन शुरू–शुरूमा श्रीविद्यालाई केही गाह्रो भयो ।  ‘तर, भूगोल टाढा भएपनि संस्कृति केही मिल्थ्यो । किनकि, हामी एउटै धर्मका थियौं,’ उनले भनिन् ।

null 

झन्झट ब्यहोर्दै दर्ता

विद्याज डाइट खोल्दा श्रीविद्याले शुरूवातमा सात लाख रुपैयाँ लगानी लगाएर गरिन् थिइन् । अहिले त्यसको लगानी डेढ करोड पुगेको उनको भनाइ छ । फाइनान्सबाट लोन लिएपछि आकलनभन्दा बढी लगानी गर्नुपरेको हो । ‘आवश्यक सामान बाहिरबाट मगाउनुपर्ने । जसोतसो सामान जुटाएर सञ्चालनमा ल्याएँ,’ उनले भनिन् ।

कम्पनी खोल्दा श्रीविद्याले सरकारी कार्यालयबाट धेरै झन्झट ब्यहोर्नुपर्यो । विशेषगरी उनले नागरिकताका विषयमा झन्झट ब्यहोर्नु परेको हो । उनले काठमाडौंका डाइट क्लिनिकहरूको उदाहरण दिइन् । त्यसपछि मात्र फिटनेस एन्ड हेल्थ प्रालिका रुपमा दर्ता गर्ने अनुमति पाइन् । 
 
श्रीविद्याले कार्यालयमा मात्रै होइन सार्वजनिक रुपमा पनि भारतीय छोरी भएकै कारण विभेद खेप्नुपर्यो । कतिपयले अपशब्द बोल्दै सामाजिक सञ्जालमा कमेन्ट्स गरेको पनि झलझली याद आउँछ । कतिपय क्षण उनी भाषाका कारण विभेदमा परिन् ।  ‘जमिन फरक हुँदैमा सबै फरक हुँदैन होला । भाषा भनेको मोड अफ कम्युनिकेसन हो,’ विभेद गर्नेलाई उनी जवाफ फकाउँछिन् ।  

यी समस्याका बीच उनलाई श्रीमानको बलियो साथ रह्यो । विशेषगरी सरकारी प्रक्रिया मिलाउने कुरामा । ‘सरकारी कार्यालयमा जाँदा तपाईँ इन्डियाबाट हो बहिनी, नेपाली नागरिकता छ ? भनेर सोध्थे,’ विगत सम्झिँदै उनले भनिन्, ‘तर श्रीमान् बलियो आड बनेर उभिनु भयो । आफ्नो कार्यव्यस्तताका बीच उहाँ मेरा सबै कामका लागि दगुर्नु हुन्थ्यो ।’  

यससँगै श्रीविद्याले पोखरा डाइबिटिज एन्ड थाइरोइड क्लिनिकबाट डाक्टरहरूको साथ पाइन् । साथै आस्था अस्पतालका डा अमृत केसी, डा तारालगायतले साथ दिइरहेका छन् । ‘बुझ्नेले साथ दिन थाले । खानपानबाट स्वास्थ्यको समस्या समाधान भएपछि खुशी व्यक्त गर्न मकहाँ आउने धेरै थिए,’ उनी भन्छिन् ।

आधारभूत स्वास्थ्यको विषयमा नै पछि परेको परिवेशमा आहारका विषय बुझाउन श्रीविद्यालाई उत्तिकै सकस हुन्छ । ‘तौल घटाउनका लागि डाइट प्लान बजारमा अनेकौँ छन् । शरीरविज्ञान फरक हुन्छ । एकलाई देखिएको लक्षण अर्कोलाई देखिन्छ भन्ने हुँदैन । नियमन र अनुगमन नहुँदा पनि यस क्षेत्रमा विशेषज्ञता हासिल गरेका बाहेकले पनि डाइट प्लान र पोषणको जानकारी दिएर बसेको देखिन्छ,’ उनी गुनासो गर्छिन्, ‘यसले पेशागत रुपमा नै मलगायत डाइटिसियनलाई असर पुग्छ ।’ 

नक्कलीको बिगबिगीले कतिपय अवस्थामा आफूलाई पोषणविद् हो भनेर नपत्याउने अवस्थासमेत सिर्जना हुने गरेको श्रीविद्या बताउँछिन् । ‘डाइट चार्ट दियो तपाईँले यस्तो किन दिनुभयो ? भनेर सोध्छन् । तपाईँ साँच्चिकैको डाइटिसियन हो ? भन्छन्,’ उनले थपिन् ।

null

कामले दिएको खुशी 

अनेक चुनौती पार गर्दै श्रीविद्या आहारका विषयमा सचेतना दिन । लागिपरेकी छिन् । सबै तीतो अनुभवलाई माथ गर्दै उनी निरन्तर अघि बढिरहेकी छिन् । आफूले दिएको डाइट फलो गरेर समस्या समाधान भएका सेवाग्राहीको सुनाएका विषयले उनलाई खुशी दिन्छ । उनले हर्मोनल डिस्ब्यालेन्सले गर्दा बच्चा बसेपनि खेर जाने समस्या भएकी महिलाको समस्या समाधान गरिन् । ‘मैले सेवा दिएको पहिलो महिनामा नै सकारात्मक परिवर्तन देखिएपछि उहाँले आफ्नो डाइट प्लानलाई निरन्तरता दिनुभयो,’ खुसी हुँदै उनले भनिन्, ‘अहिले सब ठीकठाक भएर उहाँले बच्चा पाउनुभयो ।’

कतिपय सेवाग्राही भने चाँडै नतिजा खोज्ने खालमा हुन्छन् । यसले उनलाई दिक्क बनाउँछ । । ‘तत्कालै समस्या समाधान हुँदैन भनेर क्लाइन्टलाई बुझाउन मुस्किल पर्छ । डाइट प्लान पछ्याएको १५ दिनमा नै क्लाइन्टले नतीजा खोज्न थाल्छन् । क्लाइन्ट युट्युबमा हेरेर आफ्नै खुशीले व्यायाम गर्न खोज्छन्,’ उनले भनिन् ।   

फिजियो थेरापिस्ट, ट्रेनरले उनीहरूको आवश्यकता अनुसारको व्यायाम गर्नका लागि बुझाउन पनि समस्या हुने गरेको श्रीविद्या बताउँछिन् । उनी यी सब समस्यासँग जुध्दै अघि बढिरहेकी छिन् । अप्ठ्यारोको ढुंगालाई सिढी बनाउनपर्छ भन्ने मान्यता राखेर उनी अघि बढिरहेकी छिन् ।  

salt training

कमेन्ट गर्नुहोस्