
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधिमा आएको समस्याबारे सरोकारवालासँग छलफल गरेका छन् ।
'क्राउडस्ट्राइक' सफ्टवेयर अपडेटको क्रममा गत शुक्रवार विश्वभर सूचना प्रविधिमा समस्या देखिएको थियो । कैयौं विमानस्थल बन्द गरिएका थिए भने अस्पताल, बैंक लगायतका क्षेत्र बन्द भएका थिए ।
त्यसको केही असर नेपालका बैंकहरूमा पनि परेको थियो । शनिवारदेखि भने समस्या समाधान भएको दाबी गरिएको छ ।
सोही असरलाई न्यूनीकरण गर्ने विषयमा गभर्नर अधिकारीले बैंकिङ क्षेत्र र अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।
छलफलमा सरोकारवालाले केन्द्रीय बैंकले यसबारे चासो देखाउनु सकारात्मक भएको बताएका थिए ।
'नेपालको बैंकिङ प्रणालीमा पनि समस्या देखिन सक्छ र त्यस्तो चुनौतीको सामना गर्ने संयन्त्र तयार गर्नुपर्छ । त्यसमा केन्द्रीय बैंकले भूमिका खेल्नुपर्छ,' छलफलमा सहभागी एक बैंकरले भने ।
गभर्नर अधिकारीले नेपाली बैंकहरूमा केके समस्या देखिए भनेर चासो राखेका थिए ।
छलफलका क्रममा उनले आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सजग रहनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।