
संखुवासभास्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् ।
असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।
साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।
उनले भने, 'शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौं ।'
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए ।
उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगुका २७ जना बिरामी भेटिएका छन् ।
गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेंगु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो ।
भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।
भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ ।
यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए ।
वि.सं. २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ ।
जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।