
नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस)मा ६० प्रतिशतभन्दा कम अंक हुने वायु सेवा प्रदायक कम्पनीको जहाज सञ्चालनमा रोक लगाउने भएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेफ्टी म्यानेजमेन्टमा ६० प्रतिशतभन्दा कम अंक रहेका जहाजलाई उडान अनुमति नदिने बताएका छन् ।
'सेफ्टीको सवालमा कुनै पनि किसिमको कम्प्रमाइज हुँदैन,' अधिकारीले लोकान्तरसँग भने, 'सेफ्टी म्यानेजमेन्टमा ६० प्रतिशतभन्दा कम रहेका जहाजलाई भदौदेखि ग्राउन्ड गर्छौं । उडान अनुमति प्रदान गर्दैनौं ।'
साउन महिनाभरमा सन् २०२४ को सेफ्टी म्यानेजमेन्टको अध्ययन सक्ने गरी अनुगमन थालिएको उनले बताए ।
उक्त अध्ययनको रिपोर्ट आएपछि ६० प्रतिशतभन्दा कम अंक आउने वायु सेवा प्रदायक कम्पनीको जहाज भदौदेखि नउड्ने अधिकारीले खुलाए ।
नेपालमा दर्ता भएका २० वायु सेवा कम्पनीमध्ये ९ वटाको सुरक्षा व्यवस्थापन प्रणाली ६० प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
गत वर्ष सन् २०२३ मा गरिएको अध्ययनमा ११ वायु सेवा प्रदायक कम्पनी मात्र सुरक्षा व्यवस्थापन प्रणालीमा ६० प्रतशितभन्दा बढी अंक पाउन सफल भएका थिए ।
सन् २०२३ मा गरिएको अध्ययनको तथ्यांकअनुसार एसएमएसमा सौर्य एयरलाइन्सको ५५.३२ प्रतिशत अंक मात्र थियो । सौर्य एयरलाइन्सको एक जहाज हालै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् ।
त्यसैगरी नेपाल वायु सेवा निगमको एसएमएस ५५.३२ प्रतिशत, श्री एयरलाइन्सको ४६.६७ प्रतिशत, तारा एयरको ५९.१७ प्रतिशत थियो ।
त्यसैगरी अन्नपूर्ण हेलिकप्टर्सको ३४.०४ प्रतिशत, कैलाश हेलिकप्टर्सको ५९.१९ प्रतिशत, मनाङ एयरको ५३.१९, मुस्ताङ हेलिकप्टर्सको २३.४० प्रतिशत, प्रभु हेलिकप्टर्सको ५०.२४ प्रतिशत थियो ।
सबैभन्दा बढी अर्थात् ६० प्रतिशतभन्दा बढी हिमालय एयरलाइन्सको ९०.६० प्रतिशत पाइएको थियो । त्यसपछि हेली एभरेस्टको ८१.६० प्रतिशत, बुद्ध एयरको ७७.१२ प्रतिशत, अल्टिच्युड एयरको ७२.३४ प्रतिशत र सिम्रिक एयरको ६८.०९ प्रतिशत पाइएको थियो ।
त्यसैगरी एयर डायनेस्टी हेली सर्भिसेजको ६६.६२ प्रतिशत, यती एयरलाइन्सको ६६.१७ प्रतिशत , फिस्टेल एयरको ६६.६४ प्रतिशत, सीता एयरको ६१.२१ प्रतिशत, समिट एयरको ६०.१९ प्रतिशत, माउन्टेन हेलिकप्टर्सको ६०.१२ प्रतिशत पाइएको थियो ।

के हो सेफ्टी म्यानेजमेन्ट सिस्टम ?
जहाजको सुरक्षा व्यवस्थापनका विषयमा आईकाओले एनेक्स– १९ नै जारी गरेको छ । त्यसमा स्पेस सेफ्टी प्रोग्रामका लागि हुनुपर्ने विभिन्न इन्डिकेटर राखिएको छ ।
एनेक्स– १९ मापदण्ड नेपालमा लागू गर्ने निकाय नै नागरिक उड्डयन प्राधिकरण हो । त्यसबाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा मौसम विभागले पनि हेर्ने गर्छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एसएमएसमा सेवा प्रदायक कम्पनीले के–के गर्ने भन्ने कुरा उल्लेख गरिएको हुन्छ । त्यसमा खास गरेर चारवटा क्षेत्र क्यानले हेर्ने गरेको हुन्छ । पहिलो हो, सेफ्टी पोलिसी एन्ड अब्जेक्टिभ्स ।
'त्यसअन्तर्गत वायु सेवा प्रदायक कम्पनीको समग्र व्यवस्थापन कस्तो छ भन्ने कुरा हेरिन्छ । त्यो संस्थाको सेफ्टीप्रतिको कमिटमेन्ट कस्तो छ, तिनीहरूको सेफ्टीसम्बन्धी व्यवस्थापन कस्तो छ भन्ने कुरा हेर्छौं,' भूलले लोकान्तरसँग भने, 'नियुक्त गर्नुपर्ने अफिसरहरू जस्तै अपरेसन म्यानेजर, क्वालिटी म्यानेजर, सेफ्टी म्यानेजरमा उपयुक्त र योग्य मान्छे नियुक्त गरिएको छ कि छैन भन्ने कुरा हेरिन्छ ।' त्यसैगरी ती अफिसरहरूबीच समन्वय कस्तो छ, डकुमेन्टेसन कस्तो छ, भन्ने कुरा पनि हेरिने उनले खुलाए ।
क्यानले हेर्ने दोस्रो कुरा हो, रिस्क म्यानेजमेन्ट । 'कुनै ठाउँमा रिस्क छ भने त्यसलाई कसरी ह्यान्डल गर्ने गरिएको छ । कुनै ठाउँमा ह्याजार्ड छ भने कसरी पहिचान गरेर जोखिमलाई कम गरिएको छ । जोखिम घटाउन के गरेको छ भन्ने कुरा हेर्ने गर्छौं,' भूलले थपे ।
क्यानले हेर्ने तेस्रो पक्ष हो, सेफ्टी एस्योरेन्स । कम्पनीको संरचनामा, व्यवस्थापकीय नेतृत्वमा, सञ्चालक तहमा कुनै परिवर्तन भयो भने त्यसले समग्र कम्पनीलाई के कस्तो असर पार्न सक्छ वा परेको छ भन्ने कुरा हेर्ने गरिन्छ ।
'कम्पनीले प्रदान गरेको सुविधामा केही परिवर्तन भयो भने के असर परेको हुन्छ । एसएमएस सुधार गर्न निरन्तर काम गरेको छ कि छैन त्यसैको आधारमा हामीले अंक दिने गर्छौं,' उनले लोकान्तरसँग भने ।
क्यानले हर्ने चौथो कुरा हो, सेफ्टी प्रमोसन । यसअन्तर्गत कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई के कस्तो तालिम दिने गरिएको छ । अभिमुखीकरण कति छ भन्ने कुरा हेर्ने गरिएको उनले बताए ।
'सेफ्टीको बारेमा स्टाफलाई कति थाहा छ । क्यानले भनेको कुरा कम्पनीले कति लागू गरेका छन् भन्ने कुरा हेर्ने गरिएको छ,' उनले भने ।
त्यसबाहेक क्यानले क्वालिटी म्यानेजमेन्ट सिस्टम पनि हेर्ने गर्छ ।
'सेफ्टी भनेको कर्पोरेटको अडिट हो । त्यसपछि हामीले टेक्निकल अडिटको पनि रिभ्यु गर्छौं,' उनले थपे, 'दुवै रिपोर्टको आधारमा आउने प्रतिशतलाई मापन गरेर एसएमएसको प्रतिशत निर्धारण गरिएको हुन्छ ।'
यसैका आधारमा अब क्यानले नेपालमा 'नो मोर एक्सिडेन्ट' पोलिसी अख्तियार गर्दै एसएमएसमा ६० प्रतिशतभन्दा कम अंक ल्याउने कम्पनीको जहाज उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
हेर्नुहोस्, एनेक्स १९ सम्बन्धी दस्तावेज :