०९ साउन २०८३, शनिबार

छोरीलाई जन्म दिएर अस्ताइन् शान्ति नमूना माविकी अंग्रेजी शिक्षिका सिर्जना

साउन १७, २०८१
बुटवल
छोरीलाई जन्म दिएर अस्ताइन् शान्ति नमूना माविकी अंग्रेजी शिक्षिका सिर्जना

कपिलवस्तु घर भएकी शिक्षिका सिर्जना पौडेल दोस्रो सन्तानलाई जन्म दिने उत्साह बोकेर बुधबार बिहान रुपन्देहीको तिलोत्तमास्थित ओम महिला तथा बाल अस्पताल पुगिन् ।

त्यहीँ कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मिला शर्मासँग उनले नियमित चेकजाँच गराएकी थिइन् । पहिलो सन्तान जन्माउँदा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा डा. शर्माले नै चेकजाँच गरेका कारण सिर्जनालाई उनीप्रति विश्वास थियो ।

नियमित चेकजाँच र डाक्टरको सल्लाहबमोजिम अस्पताल पुगेपछि उनको शल्यक्रिया गर्नुपर्ने भयो । सबै प्रक्रिया पूरा गरेर चिकित्सकले अपरेसन थिएटरमा लगे ।

करिब आधा घण्टा लगाएर सिर्जनाले छोरीलाई जन्म दिइन् । चिकित्सकहरूले बच्चा आफन्तको जिम्मा लगाए । सुत्केरीलाई पनि केहीबेरपछि भेट्न मिल्ने बताए ।

केही समयमा एक/एकजना गरेर आफन्तहरू सिर्जनालाई भेट्न वार्डमा पुगे । पछि चिकित्सकले ‘सिर्जनाको पिसाब आएन, आईसीयू भएको अस्पतालमा लैजानुपर्छ’ भनेपछि सबैको मनमा चिसो पस्यो ।

उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरियो । बुटवल ल्याएपछि चिकित्सकले तत्काल रगत चढाउनुपर्ने बताए । 

केही आफन्त रगतको जोहोमा लागे । अस्पतालमा भर्ना गरेपछि डब्लूबीसी बढी, हेमोग्लोबिनको कमी र जन्डिसको समस्या रहेको त्यहाँका चिकित्सकले बताए । 

बिस्तारै सिर्जनालाई स्वासप्रश्वासमा समस्या भयो । अन्ततः राति १२ बजे उनी भर्खरै संसार देखाएको छोरीसहित परिवारलाई छाडेर अस्ताइन् ।

जेठानी मीना बेल्वासेले चिकित्सकको लापरबाहीले सिर्जनाको मृत्यु हुन पुगेको बताइन् ।

‘उनमा कुनै दीर्घरोग थिएन,’ मीनाले लोकान्तरसँग भनिन्, ‘चिनेको डक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । अपरेसनमा कहीँ न कहीँ गल्ती भएको छ ।’

पहिलो बच्चा (छोरी) जन्मिएको १० वर्षपछि सिर्जना दोस्रोपटक आमा बनेकी थिइन् । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर– ९ घर भएकी सिर्जना बुटवल बसेर शान्ति नमूना माध्यमिक विद्यालय तिलोत्तमामा पढाउँथिन् ।

उनी निम्नमाध्यामिक तहमा अंग्रेजी शिक्षिकाको रूपमा कार्यरत थिइन् । उनका श्रीमान् युवराज बेल्वासे पनि शिक्षक हुन् । 

डेलिभरीको मिति नजिकिएपछि सिर्जना साउन १ गतेदेखि बिदामा थिइन् । शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले उपचारमा कहीँ न कहीँ खोट भएको हुनसक्ने बताए ।

‘उहाँ (सिर्जना)मा कुनै दीर्घरोग भएको मलाई जानकारी थिएन,’ लामिछानेले लोकान्तरसँग भने, ‘नियमित स्कूल आउनुहुन्थ्यो । असल र क्षमतावान शिक्षक हुनुहुन्थ्यो । बच्चा जन्माउन अस्पताल गएको सुत्केरी घर फर्किन नसक्ने अवस्था आउनु दुःखद् हो ।’

श्रीमान् युवराज पूर्वी नवलपरासीको देवचुलीस्थित प्रभात आधारभूत विद्यालयका शिक्षक हुन् । श्रीमतीको मृत्युले विक्षिप्त बनेका युवराजको काँधमा नवजातसहित दुई छोरी हुर्काउने जिम्मेवारी आएको छ । 

उता सिर्जनालाई नियमित चेकजाँच गरेकी डा. शर्मिलाले अपरेसन र उपचारमा कुनै कमजोरी नभएको दाबी गरिन् ।

‘सबै रिपोर्ट नर्मल थियो र हामीले अपरेसन गरेका हौं,’ अपरेसन गरेपछि उहाँमा युरिन भएन । त्यही भएर रिफर गरेका हौं । अकस्मात आएको जाटिलताले त्यो अवस्था आयो । लाखौंको डेलिभरी हुँदा निम्तिने जटिलतामध्ये एउटा हो यो । हाम्रो कुनै कमजोरीले त्यो अवस्थामा पुगेको होइन ।’

उनले लोकान्तरसँग भनिन्, ‘प्रतिघण्टा ३० मिलिलिटर पिसाब हुनुपर्ने थियो, तर भएन । मुत्रथैलीको इन्जुरीले पनि त्यो समस्या आएको हुनसक्छ भनेर हेरियो, केही देखिएन । आईसीयू चाहिने भएर रिफर गरेको हो । रिफर गरे पनि हामीले नियमित कन्सल्ट गरिरहेका थियौं । हाम्रो हातभन्दा बाहिर पुगेको अवस्था उहाँको मृत्यु भयो ।’

पछिल्लो समय सुत्केरी गराउने क्रममा मृत्युका घटना बढ्दै गएका छन् । 

रूपन्देही र बुटवलजस्तो विकसित भनिएको स्थानका अस्पतालमा समेत यस्तो अवस्था आउनु दुःखद् भएको सिर्जनाले पढाउने विद्यालयका प्रधानाध्यापक लामिछानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्