
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छिन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् ।
जनगुनासो एवं समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवं सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गरिन् । उनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।
सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् ।
सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।
शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताइन् ।
विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो ।