
रुपन्देही लुम्बिनी प्रदेशको आर्थिक राजधानी हो भन्ने कुरालाई कसैले नकार्न सक्दैन, किनभने प्रदेश मात्र नभएर देशकै ठूला र धेरै उद्योग यहीँ सञ्चालनमा छन् ।
बुटवल/रुपन्देहीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम घोषणा गरिए पनि राजनीतिक भुंग्रोमा परेर स्थायी राजधानीको रूपमा दरिन पाएन । प्रदेश राजधानी बुटवलबाट दाङको देउखुरी सरेपछि यहाँ ठूलो निराशा छायो । त्यसलाई सान्त्वना दिन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको प्रशासनिक राजधानी देउखुरी र आर्थिक राजधानी बुटवललाई बनाउने आश्वासन दिए ।
तर, त्यसपछि प्रदेश सरकारको नीति तथा कार्यक्रममा बुटवललाई आर्थिक राजधानी बनाउने योजना त के, प्रदेश तहमा एउटा छलफल पनि भएको छैन ।
बुटवलमा प्रदेश राजधानी हुन अथाह सम्भावना हुँदाहुँदै भौगोलिक हिसाबले मिलाउने भन्दै अपायकमा राजधानी सारियो ।
प्रदेश राजधानी सर्दै गर्दा बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्ने भनिए पनि त्यसपछिका सरकार र यस क्षेत्रका सांसदले समेत केही बोलेको सुन्न पाइँदैन । मुलुकमा औद्योगीकरण र निकासी व्यापारको जग रुपन्देहीले बसालेको मानिन्छ ।
हरेक परिवर्तनको विगुल फुग्ने बुटवल अहिले छायाँमा परेको स्थानीयको गुनासो छ । एउटै शहरको रूपमा विकास भएको बुटवल–भैरहवा (सुनौली) देशकै महत्त्वपूर्ण व्यापारिक र पारवहन नाका हो ।
लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष वामदेव क्षेत्रीले मौखिकरूपमा घोषणापछि बुटवलमा कुनै कार्यक्रम, छलफल र बहस समेत हुन नसकेको बताए ।
‘नवलपरासीको भूमहीबाट भैरहवा सडक खुलेपछि ठूला उद्योगहरू त्यही क्षेत्रमा केन्द्रित भइरहेका छन्,’ घिमिरे भन्छन्, ‘अब बुटवलमा सेवामूलक उद्योग र पर्यटनको विकास गर्न सक्नुपर्छ । हावाको तालमा घोषणा गर्दैमा बनिहाल्ने होइन ।’
‘दुईटा केबलकार, मानवसभ्यताको इतिहास बोकेको रामापिथेकस, तिनाउमा बोटिङ बनाउँदै, जीतगढी किल्लालगायत क्षेत्रलाई प्रचारप्रसार र विकास गर्न सकेमा पर्यटकको रोजाइमा बुटवल पर्न सक्छ । अब बुटवल आसपासमा ठूला उद्योग खोल्ने जग्गा पनि छैन । उद्योगहरू दक्षिणतिर र सेवामूलक क्षेत्र बजारतिर केन्द्रित गर्न सक्नुपर्छ,’ घिमिरेले थपे ।

रुपन्देही मेडिकल सिटीको रूपमा विकास भएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवा, देवदह मेडिकल कलेज देवदह, बुटवल मेडिकल कलेज तिलोत्तमा (सरकारी तहबाट बन्न बाँकी) र लुम्बिनी प्रादेशिक अस्पताल (१२ सय बेडमा स्तरोन्नति हुँदै छन् । विशेष आर्थिक क्षेत्र (सेज), बुटवल औद्योगिक क्षेत्र, मोतीपुर औद्योगिक क्षेत्र (निर्माणाधीन), सहज देशकै ठूलो भन्सार नाका यहीँ छ ।
एकीकृत भन्सार जाँचचौकी (आईसीपी), प्रमुख व्यापारिक केन्द्र तथा बसाइँसराइको प्रमुख गन्तव्य पनि रुपन्देही हो । अन्तर्राष्ट्रिय विमानस्थल यहीँ छ । माछा, मासु, दूधमा आत्मनिर्भर छ ।
रूपन्देहीको ठूला उद्योगमा मात्र रुपन्देहीमा झण्डै डेढ खर्ब लगानी रहेको छ । त्यस्तै, पर्यटन उद्योगमा ५० अर्ब लगानी छ । जहाँ लाखौंले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन् । निकासी व्यापारको प्रमुख सम्भावना भएका मुलुकमा भारत र चीन छन् । यी दुई मुलुकसँग सिधा जोडिएको रुपन्देही निकासीका लागि सम्भावना बोकेको जिल्ला हो ।
पछिल्लो समय आर्थिक मन्दीका कारण उद्योग सोचेजस्तो फस्टाउन सकेका छैनन् । अस्थिर एवं अवैज्ञानिक नीति, महँगो ढुवानी लागत, पूर्वाधार अभाव, दक्ष जनशक्ति अभाव, कच्चा पदार्थमा भारतसँगको परनिर्भरता, छुट्टै औद्योगिक क्षेत्रको अभाव र सरकारी उदासीनताको मार भोग्दै आएका छन् । प्रजातन्त्र पुनःस्थापना भएपछि बुटवल धागो कारखाना खुल्यो, तर त्यो राजनीतिक भर्ती केन्द्र बन्दा बन्द हुन पुग्यो ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले आर्थिक राजधानीका लागि बुटवलमा ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि स्टेकहोल्डरहरूको पहल जरुरी रहेको बताए ।
‘प्रशासनिक केन्द्र नहुँदैमा शहर सुक्छ भन्ने होइन,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘रुपन्देही/बुटवलमा सबै क्षेत्रको कनेक्टिभिटी छ । पूर्वाधार र सम्भाव्यता छ । जग्गाको एक्स्पान्सन गर्न सक्ने ठाउँ छ । सभा गर्नका लागि ठूल्ठूला सम्मेलन केन्द्र छ । अब निजी क्षेत्रले रणनीति बनाएर लगानीको साझेदारी गर्नुपर्छ ।’
श्रेष्ठ थप्छन्, ‘बुटवल कसैले बनाइदिएर सबै क्षेत्रको कनेक्सन र जक्सन भएको होइन । यो देशकै धेरै जनसंख्या हुने जिल्लामा पर्छ, जसले गर्दा शहर बढिरहेको छ । सबै पूर्वाधार छन् । बुटवलको निजी क्षेत्रलाई राज्यले पुस अप गर्ने र निजी क्षेत्र लाग्ने हो भने देशकै आर्थिक हब बन्न गाह्रो देख्दिनँ ।’
बुटवल उद्योग र पर्यटनको मात्र होइन, राजनीतिको पनि केन्द्रमा छ । बुटवलसहित केही अन्य पालिका समेटेर महानगरपालिका बनाउने विषयमा स्थानीय तह पुनःसंरचनाका क्रममा कुरा भएपनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । बुटवलमा महानगरपालिका बन्ने सबै पूर्वाधार छन् ।

लुम्बिनी प्रदेशको कूल कारोबारको ५० प्रतिशत रुपन्देहीमा हुने गरेको छ । नेपालका प्रमुख दुई नाका वीरगञ्ज र बेलहिया (सुनौली) त्योमध्ये सुनौली भैरहवा भन्सार रुपन्देहीमा छन् । औद्योगिक कोरिडोरमा परिचित बुटवल–भैरहवा लाइफलाइनका रूपमा परिचित पनि छ । देशका १६ जिल्लामा पुर्याउन इन्धन डिपो रुपन्देहीमा छन् । भैरहवाको रोहणीमा नेपाल आयल निगमले ३ अर्ब खर्चेर नयाँ भण्डारण गृह निर्माण शुरू गरिसकेको छ ।
भण्डारण गृह सञ्चालनमा आएपछि व्यवसायमा पनि राम्रो हुने विश्वास रुपन्देहीवासीको छ ।
‘भौगोलिक अवस्थिति र निर्माण हुँदै गरेको पूर्वाधारका हिसाबले रुपन्देहीमा सम्भावना अझ बढ्दैछ,’ बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल भन्छन्, ‘यहाँ भारतका हरेक ठाउँबाट सामान ल्याउन तथा पठाउन सस्तो तथा सजिलो पर्छ । रुपन्देहीबाट रेलमार्ग पुग्न ६ किलोमिटर मात्र टाढा छ, जुन अन्य नाकामा सम्भव छैन । बुटवल/रुपन्देहीमा उद्योग राख्दा काठमाडौंको बजारमा सहज पहुँच पुग्छ । त्यसैले रुपन्देही फेरि पनि पछि पर्ने अवस्था छैन । केही दिनको रुझान मात्रै हो, बुटवल क्षेत्र साविक पश्चिमाञ्चल र अहिलेको नारायणी पश्चिम क्षेत्रले मुहार नफेर्ने कुनै कारण छैन । यसका लागि सबै लाग्नुपर्छ ।’
देशका हरेक परिवर्तनको ज्वाला बुटवलबाट निस्किएका छन् । प्रजातन्त्र पुनःस्थापना, २०६२/०६३ को जनआन्दोलनमा पनि बुटवलले उल्लेख्य भूमिका निर्वाह गरेको थियो ।
बुटवलबाट निर्वाचित एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सरकारले घोषणा गरेपछि बुटवलका लागि कुनै ठोस योजना अघि बढाउन नसकेको बताए ।
‘८ अर्ब लागतमा प्रादेशिक अस्पताल बन्दैछ, जुन १२ सय शय्याको हो । आर्थिक राजधानीका लागि त्यस्तै अन्य ठूला योजना प्रदेश सरकारबाट आउनुपर्ने हो । तर, अस्थिर सरकार हुँदा यो विषय प्राथमिकतामा पर्न सकेको छैन । पुराना घोषणा कार्यान्वयनमा पनि बनेका सरकारहरू जवाफदेही देखिएनन् । पालिका सरकारले पनि त्यसमा चासो दिएको छैन,’ श्रेष्ठले भने ।