
पाल्पाको चर्चित धार्मिकस्थल रम्भादेवी मन्दिरमा आगामी भदौ १० गते रम्भादेवी सांस्कृतिक महोत्सव हुने भएको छ ।
पहिला–पहिला कृष्ण जन्माष्टमीको दिन रम्भादेवी मन्दिरमा ठूलो मेला लाग्ने गरेको थियो । पछिल्लो समय जनसहभागिता घट्दै गएकाले फेरि बढाउन कृष्णष्टमीकै दिन ‘भव्य महोत्सव’ आयोजना गर्न लागिएको महोत्सवका संयोजक तथा वरिष्ठ कलाकार दुर्गा रायमाझीले जानकारी दिए ।
सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला–संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने उनले बताए ।
रम्भा गाँउपालिका वाड नं. ५ मा रहेको रम्भादेवी मन्दिरमा हुने महोत्सवका लागि सो पालिकासँगै पाल्पाका सबै स्थानीय तह र जनप्रतिनिधिहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संयोजक रायमाझीले रम्भादेवीप्रति आस्था राख्ने देश तथा विदेशमा रहेका सबैलाई महोत्सवमा सहभागी हुन वा योगदान पुर्याउन अनुरोध गरेका छन् ।
यस क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सीता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर गएका थिए । सो क्रममा राम्दीको जङ्गलमा आइपुग्दा सीतालाई पानीको प्यास लागेको थियो । पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी रहन गएको किम्बदन्ती छ ।
रम्भादेवी क्षेत्र सरकारले घोषणा गरेको १०० गन्तव्य मध्यको एक गन्तव्य क्षेत्र हो । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि १५ किमी टाढा रहेको ताँहु बजारबाट २ किमी उत्तरमा रहेको जरमस्टी डाँडामा रम्भादेवीको मन्दिर छ ।