
सत्तामा हुँदा विपक्षीजस्तो व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन् ।
राजनीतिकरूपमा नेकपा एमालेसँग सत्ता समीकरण बनाइसकेपछि यसको गुणदोषका आधारमा समालोचना गर्नुपर्नेमा नेताहरूले ‘स्टन्ट’ गरेको भन्दै केन्द्रीय समितिमा कुरा उठेको हो ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले समूहका नेतादेखि महामन्त्री र युवा नेतासम्मले सार्वजनिक खपतका लागि एकपछि अर्को ‘स्टन्ट’ गरेको बताए ।
‘माओवादीसँग सरकार भए विपक्षी एमालेसँग भेट्ने, एमालेसँग सरकार भए माओवादीसँग भेटेर आफूलाई फरक देखाउने गलत अभ्यास पार्टीमा हुर्कियो,’ बैठकमा केन्द्रीय सदस्य खतिवडाले भने, ‘समूहका नेता मात्रै होइन, जिम्मेवार पदाधिकारी र युवा नेताहरूको यो प्रयास राजनीतिकभन्दा अराजनीतिक बढी हो ।’
खतिवडाले यसअघि एमाले विपक्षमा हुँदा शेखर कोइरालाले केपी शर्मा ओलीलाई भेटेको, एमालेसँग मिलेर सरकार बनाएपछि महामन्त्रीद्वयले आलोचना गरेको र अर्का युवा नेता नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
आफ्नो पोजिसनअनुसारको कर्म नगर्ने, उल्टै ‘स्टन्ट’ गर्ने भन्दै उनी जिम्मेवार नेताविरुद्ध खनिए ।
संसारका कुनै पनि दलमा यतिपटक पालो भनेर पार्टी पदाधिकारी, प्रधानमन्त्री र मन्त्री नबन्ने भन्दै उनले महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको पनि आलोचना गरे ।
‘पार्टीका धेरै कुरा बदल्नुपर्ने छ भने महासमितिको प्रस्तावमा आफूखुशी विषय लेखेर हुँदैन,’ खतिवडाले शर्माप्रति कटाक्ष गर्दै भने, ‘विधान संशोधन गर्न खोजेको हो भने समिति बनाएर गर्नुपर्छ । तर, आफ्नै नेता र साथीहरूलाई अप्ठ्यारो र अपमानित गर्ने हिसाबले दस्तावेज तयार गरिनुहुन्न ।’
केन्द्रीय सदस्य रंगमति शाहीले जिम्मेवार पद र ओहोदामा पुगे पनि नतिजा दिन नसेकेको भन्दै आफ्नै पार्टीका मन्त्रीहरूको आलोचना गरिन् ।
‘नेपालले केही दिन अगाडि भारतसँग भलिबलमा हार्न पुग्यो । तर, हाम्रो पार्टीको खेलकुद मन्त्री टुलुटुलु हेरेर बस्नुभयो,’ उनले भनिन्, ‘तल ओर्लेर खेलाडीलाई सान्त्वना दिन पनि पुग्नुभएन । यसले हामी कहाँ र कस्तो अवस्थामा छौं भन्ने देखाउँछ ।’
खेल हारेपछि नेपाली महिला भलिबल खेलाडीलाई सान्त्वना दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कभर्ड हलको ड्रेसिङ रूमसम्मै पुगेका थिए । तर, पुरस्कार वितरणबाहेक खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई सान्त्वना नदिएको भन्दै शाहीले आलोचना गरेकी हुन् ।
सहजै अस्पतालमा उपचार नपाउने, कुनै पनि संस्थामा गएर कर तिर्न नसक्ने तथा बेरोजगारी र चरम निराशा भएपछि नागरिकले देश छाडिरहेको समेत उनले बताइन् । निराश बनेका जनतालाई भरोसा दिलाउन नसके ठूला दलको सरकार भनेर मात्र नहुने उनको भनाइ छ ।
यसअघिको अभियानपछि पार्टीलाई सुझाव दिए पनि त्यो कार्यान्वयन नभई फेरि अर्को अभियान थालिए पनि प्रभावकारी हुनेमा उनको आशंका छ ।
हिन्दूलाई टेक्ने ठाउँ चाहियो !
बैठकमा केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंहले पाकिस्तान र बंगलादेशमा हिन्दू समुदायका नागरिकलाई लखेटेको भन्दै नेपालमा प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
‘पाकिस्तान र बंगलादेशमा छानीछानी हिन्दूहरूलाई लखेट्ने काम भएको छ,’ सिंहले भने, ‘नेपालमा यसरी हुँदैन । यहाँ हिन्दूहरूलाई टेक्ने ठाउँ चाहिन्छ ।’
केहीदिन अगाडि केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिमा केन्द्रीय सदस्य र महासमिति सदस्यले हिन्दू राष्ट्र नेपालको माग गरेको भन्दै केन्द्रीय समितिको बैठकले यस विषयमा निर्णय गर्नुपर्ने बताएका थिए ।

‘चिफ ह्वीप’प्रति रायमाझीको आक्रोश
पार्टीका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य श्याम घिमिरेले ‘लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, यस्तो भएपछि कसरी कांग्रेस र कम्युनिस्टबीच अन्तर हुन्छ ?’ भनेर बोलेपछि अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आक्रोश व्यक्त गरेका छन् ।
उदार अर्थतन्त्र, बहुलवाद, विश्वव्यापीकरण मान्ने कांग्रेसले कसरी समाजवादी आदर्श मान्न सक्छ भन्दै सोमबारको बैठकमा प्रश्न उठाएका थिए । तर, प्रजातान्त्रिक समाजवाद मान्ने पार्टीका निम्ति घिमिरेको भनाइ आपत्तिजनक भएको भन्दै रायमाझीले उनीलाई पार्टीबाट निकाल्न, नभए बीपीसँगै उनको पनि फोटो राख्न माग गरे ।
‘हाम्रो आदर्श सिद्धान्त नै प्रजातान्त्रिक समाजवाद हो । तर, यो वाद मान्न हुँदैन भनेर जिम्मेवार नेताले बोल्नुभयो,’ रायमाझीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘यस्तो बोल्न मान्छेलाई कि पार्टीबाट निकाल्नुपर्यो कि बीपीसँगै उहाँको फोटो पनि राख्ने गर्नुपर्यो ।’
घिमिरेकै लाइनमा केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले पनि बोलेका थिए ।
‘अब हाम्रो पार्टीको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक परिभाषित गर्ने बेला आएको जस्तो मलाई लाग्दछ । हाम्रा पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादनविनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा यतिबेला प्रमाणित भइसकेको छ,’ चौधरीले भने, ‘त्यसैले म त उहाँलाई नेपाली समाज र माटो बुझेको दार्शनिकका रूपमा पनि लिन्छु । अब हामीले उहाँका दर्शनलाई आत्मसात गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको छ ।’
कांग्रेसले बनाउन खोजेको नेपालको खाका कस्तो हो भन्नेमा प्रस्ट हुनुपर्ने चौधरीको भनाइ छ ।
‘निजी क्षेत्रसँग, उत्पादकहरूसँग र किसानहरूसँगका हाम्रा अन्तरसम्बन्धका आधार के–के हुन् ? हामीले बनाउन खोेजेको नेपालको खाका कस्तो हो ?,’ चौधरीले प्रश्न गर्दै भने, ‘बेरोजगार युवाहरू, निराश जनता, मल नपाउने किसान, उद्योगधन्दा चलाउनै नसक्ने परिस्थितिबाट गुज्रिरहेका उद्यमी व्यवसायीका अगाडि कस्तो नेपालको खाका पस्किने हो ? त्यसको स्पष्ट दृष्टिकोण ल्याउने बेला भएन र ?’
प्रतिनिधित्व बढाउन माग
केन्द्रीय सदस्य चित्रलेखा यादवले पार्टी संरचनामा ५० महिलालाई अवसर दिनुपर्नेमा उपेक्षा गरिएको बताइन् । ‘कम्तीमा केन्द्रीय सदस्यको बीचमा एकजना महिला भएको भए पार्टीमा ५० प्रतिशत पुग्ने थियो । तर, ५० त परको कुरा, संविधानले भनेको ३३ प्रतिशतलाई समेत सबै संयन्त्रमा अवसर दिइएन,’ यादवले भनिन् ।
केन्द्रीय सदस्य मधु आचार्यले सातबुँदे सहमतिको मूल मर्म नै भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितता भएको भन्दै सबै ठूला भ्रष्टाचार काण्डको छानबिन हुनुपर्ने बताए ।
यती, ओम्नी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डजस्ता काण्डको छानबिन गर्न पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनको माग थियो । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको नेताको ‘एक्जिट पोलिसी’ उचित रहेको भन्दै उनले हुबहु पारित गर्न माग गरे ।
साथै, २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्न पनि आचार्यको माग छ ।
पार्टीको सय दिने अभियानलाई ‘गुट बाइबाइ, एकजुट हाइहाइ’ भन्ने हिसाबले गर्न उनले माग गरेका छन् । भ्रातृ संस्थाको केन्द्रीय समिति सदस्यलाई सदस्यता वितरणका लागि तीन महिना खटाउन पनि उनको प्रस्ताव छ ।