२२ असार २०८३, सोमबार
माओवादीमा उकुसमुकुस

प्रचण्डको नेतृत्वमाथि जनार्दन-वर्षमानको चुनौती !

साउन २९, २०८१
काठमाडौं
प्रचण्डको नेतृत्वमाथि जनार्दन-वर्षमानको चुनौती !

अनेकौं अन्तरविरोधमा खेलेर नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा एकछत्र राज गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पार्टीका प्रभावशाली नेता समेत रहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले गम्भीर सवाल उठाएका छन् । लामो र अनुभवी नेतृत्वका कारण पार्टी बलियो र विकसित हुँदै जानुपर्नेमा खुम्चिँदै गएपछि दुवै नेताले गम्भीर सवाल उठाएका हुन् । 

माओवादी केन्द्रमा भावी नेतृत्वका लागि दाबेदार मानिएका नेताद्वय नै साझा बुझाइमा पुगेपछि प्रचण्डमाथि गम्भीर संकट आइपरेको छ । आफूहरूले निर्धक्क समर्थन गर्दै आए पनि अन्तरविरोधमा खेल्ने प्रचण्डको शैलीमा बदलाव नआएको साझा बुझाइमा दुवै नेता पुगेको देखिन्छ । शर्माले प्रस्टै र पुनले घुमाउरो भाषामा प्रचण्डबाट अब पार लाग्दैन भन्ने कुरा अभिव्यक्त गरेका छन् ।

जारी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले १५ पृष्ठको प्रस्ताव नै राखेर प्रचण्ड अब नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ भन्दै ३ विकल्प दिएका छन् । वर्षमानले बैठकमा लिखित प्रस्ताव राखेनन्, तर पार्टीको विधि र पद्धति भन्ने भाषामा अब नेतृत्व हस्तान्तरणका लागि प्रचण्ड तयार हुनुपर्छ भन्ने सन्देश दिएको माओवादीका एक प्रभावशाली नेता बताउँछन् । 

‘शर्माले १५ पृष्ठको प्रस्तावमा नेतृत्व हस्तान्तरणको तीनवटा विकल्प ल्याएर अब अध्यक्ष विस्तारै पार्टीबाट बिदा हुनुपर्छ भन्ने प्रस्टै उल्लेख गर्नुभएको छ । वर्षमान कमरेडको लिखित प्रस्ताव आएन, तर उहाँले पनि बैठकमा अब नेतृत्वको विकास प्रक्रिया (निर्वाचन)को विधि र पद्धतिबाट गर्नुपर्छ भन्नुको सन्देशलाई शर्माकै लाइनसरह रहेको बुझ्न सकिन्छ,’ माओवादीका एक प्रभावशाली नेताले भने, ‘सार कुरा तत्कालै छाड्नुपर्छ भन्ने होइन, तर अब प्रचण्ड विस्तारै पार्टीबाट बिदा हुनुपर्छ र नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेमा दुवैको साझा बुझाइ छ ।’

शर्माले प्रचण्डलाई ३ विकल्प दिएका छन् । नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र अहिलेको केन्द्रीय कमिटी भंग गरी उनकै नेतृत्वमा महाधिवेशन गर्ने र प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने उनको प्रस्ताव छ ।

पार्टीमा गम्भीर विषय उठे पनि प्रचण्डले केही हुँदैन भन्दै शैलीमा अभिव्यक्ति दिएका छन् । नेतृत्व हस्तान्तरणको कुरा आयो नि भन्ने प्रश्नमा सोमबार प्रचण्डले सञ्चारकर्मीसँग भनेका थिए, ‘केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’

बैठकस्थलबाट यसो भनेर बाहिरिँदै गर्दा प्रचण्डमा बेचैनी भने  प्रस्टै देखिन्थ्यो । फेरि भावनात्मक कुरा गरेर असन्तुष्टलाई मनाउन सकिने दाउमा प्रचण्ड छन् । तर, यसपटक राजनीतिक भविष्य भएका नेताहरूले नै उनीविरुद्ध मोर्चा खोलेकाले त्यति सहज भने देखिँदैन ।

२०६४ मा पहिलो दल बनेको माओवादी त्यसयतका चुनावमा निरन्तर कमजोर बन्दै आएको छ । यतिमात्रै होइन, कांग्रेस वा एमालेसँग नमिली चुनाव नै जित्न नसक्ने गरी पार्टी कमजोर हुँदा शर्मा र पुन दुवैले ‘जबर्जस्त रिफर्म’को माग राख्दै आएको माओवादीका एक नेता बताउँछन् । 

‘दुवै नेताले चुनावमा पार्टी निरन्तर कमजोर बन्न थालेपछि अब यसरी चल्दैन, जबर्जस्त सुधार गरौं, रिफर्म गर्ने कार्यक्रम ल्याएर माओवादीलाई पुनर्गठन गरौं भन्ने प्रस्ताव राख्नुभएको थियो,’ माओवादीका ती नेता भन्छन्, ‘तर जब आउटडेटेड देव गुरुङलाई महासचिव बनाइयो, त्यही बेलादेखि शर्मा र पुन दुवै असन्तुष्ट बन्नुभयो । उहाँहरूबीच अघोषित एकता भएको पनि त्यतिबेला देखि नै हो ।’ 

null

अघोषित एकतापछि शर्मा प्रचण्डप्रति आक्रामक र पुन संयमित भए पनि उनीहरू दुवै अब वारपारको लडाईंमा लाग्ने मनस्थितिमा पुगेको ती नेता बताउँछन् ।

‘महासचिव बनिन्छ भन्नेमा जनार्दन शर्मा ढुक्क हुनुहुन्थ्यो,’ ती नेता भन्छन्, ‘अनन्तले मेरो स्वास्थ्यले साथ दिएको छैन, म उपाध्यक्ष भए पनि ठीक हुन्छ भन्नुभएको थियो । तर, जब अध्यक्षले देव गुरुङलाई रोज्नुभयो, त्यसपछि दुवै नेता फायर हुनुभयो ।’

पार्टी खिइँदै गए पनि राजनीतिकरूपमा प्रचण्ड बलियो अवस्थामा रहेको भन्दै ती नेताले राजनीतिक भविष्य भएका नेताले यसरी नै प्रश्न उठाउनुपर्ने बताए । 

‘प्रचण्डको शैली कस्तो छ भन्ने माओवादी छाडेका वैद्य, बाबुराम र विप्लवको नियति हेरे थाहा हुन्छ । माओवादीको कठिन जनयुद्ध सँगै लडेर फेरि मिसिने चाहना गर्दा पनि प्रचण्डले नरुचाउँदासम्म उनीहरू बाहिरै छन्,’ ती नेता भन्छन्, ‘शर्मा र पुनमा पनि पार्टी कमजोर बनेको आक्रोश छ । आफ्नो राजनीतिक भविष्यको चिन्ता पनि छ । तर, पार्टीमा अझै पनि प्रचण्डको नै सबैथोक चल्छ । प्रश्न नउठाउने हो भने टिक्न गाह्रो छ भन्ने बुझाइ भएकाले पनि नेताहरूले रणनीतिक हिसाबमै प्रस्ताव ल्याउनुभएको छ ।’ 

शर्माले पार्टीमा विधि, प्रक्रिया र पद्धतिको कुरा उठाउँदा र कमी कमजोरीको कुरा गर्दा पार्टी फुटाउन लागेको, एमालेमा जान लागेको भन्दै कार्यकर्तालाई बिथोल्न खोजेको उनले बताए ।

'रवि लामिछाने गृहमन्त्री भएका बेला आवश्यक परे जनार्दनलाई गिरफ्तार गरे हुन्छ भन्नेसम्मका प्रतिशोधी कुरा प्रचण्डले गर्नुभयो भनेर बाहिर आएको छ,’ माओवादी राजनीतिबारे चासो राख्ने विश्वस्त स्रोत भन्छ ।

‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो,’ शर्माले प्रस्तावमा भनेका छन्, ‘पार्टीलाई आमजनताबाट अलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो । बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो ।’

यसपटक जनार्दनले प्रचण्डमाथि नै संगीन आरोप लगाएका छन् । प्रचण्ड र उनको टीमले जनार्दन र वर्षमानविरुद्ध अनर्गल दुष्प्रचार गरेको उनको दाबी छ । 

अहिले मात्रै होइन, गत फागुनमा भएको विधान अधिवेशनमा पनि शर्माले पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, नेतृत्व हस्तान्तरण हुनुपर्ने, अध्यक्षका लागि कार्यकाल तोक्नुपर्ने जस्ता विषय उठाएका थिए । तर, अध्यक्ष प्रचण्ड यी कुनै कुरामा तयार भएनन् । बरु आफूविरुद्ध लाग्नेलाई प्रचण्ड र उनको टीमले प्रतिशोध साँधेको नेताहरूको दाबी छ ।

‘राजनीतिकरूपमा जनार्दनको टसल छँदै थियो । यही बीचमा रवि लामिछाने गृहमन्त्री भएका बेला आवश्यक परे जनार्दनलाई गिरफ्तार गरे हुन्छ भन्नेसम्मका प्रतिशोधी कुरा प्रचण्डले गर्नुभयो भनेर बाहिर आएको छ,’ माओवादी राजनीतिबारे चासो राख्ने विश्वस्त स्रोत भन्छ, ‘शंकास्पद रूपमा विदेशबाट आएको ४० करोड रुपैयाँको छानबिन र अर्थमन्त्री हुँदा करको दर हेरफेरको विवादमा प्रचण्डले यस्तो निर्देशन दिएको विषय आएपछि सम्बन्ध थप चिसिएर गएको चर्चा पार्टी वृत्तमा छ ।’ 

जनार्दनको गिरफ्तारीको विषयलाई अर्का उपमहासचिवमा वर्षमानले रोकेको दाबी समेत उनले गरे ।

null

‘जनार्दनलाई वर्षमानले बचाए भन्ने पनि छ । माओवादीमा जनार्दन, वर्षमान र शक्ति बस्नेतको ‘ग्याङ अफ थ्री’ छ । यसमा पछिल्लो समय शर्मा र पुन नजिकजस्तो देखिनुभएको छ,’ ती नेता भन्छन्, ‘शक्तिको अझै पनि भरोसा र विश्वास प्रचण्डतिरै छ । शर्मा र पुनले पनि विकल्प खोजिहाल्ने भन्दा दबाब बढाउन र कार्यकर्तामा सन्देश दिन खोज्नुभएको छ ।’ 

कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर खेल्न खोजेका प्रचण्ड डेढ वर्षपछि सत्ताबाट हुत्याइए ।

अहिले प्रचण्डलाई उनका विश्वासपात्रले समेत अविश्वास गर्न थालेका छन् । वर्षमानपत्नी एवं पूर्व सभामुख ओनसरी घर्तीले समेत प्रचण्डमाथि गम्भीर सबाल उठाएकी छन् ।

‘राज्यसत्ता हामीतिर नै लगाउन खोजियो । पार्टीमा आशंका र अविश्वास यति बढ्यो कि ३५ वर्षको यात्रामा अध्यक्ष प्रचण्डप्रति पहिलोपटक शंका लाग्यो,’ ओनसरीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कोरी (कुष्ठरोगी) नै भएपनि बाउ त मान्नुपर्‍यो भनेर नेतृत्व मान्दै आयौं । बाहिर माओवादी सकिन्छ भनेर चर्चा भइरहेका छन्, त्यसको प्रतिवादका लागि पनि हामीले नेतृत्व चयनको विधि स्थापित गर्नुपर्छ ।’

अब पार्टीमा ‘रिफर्म’ आवश्यक भएको उनको भनाइ थियो ।

बैठकमा ओनसरीले प्रचण्डले शान्ति प्रक्रियामा आएपछि दलाल र पुँजीपतिसँग पनि संगत भएको भनेको विषयलाई पनि खरो रूपमा उठाएकी थिइन् । 

‘पार्टीका कसले दलाल पुँजीपतिसँग संगत गरेको हो, अध्यक्षले खुलाउनुपर्छ,’ ओनसरीले प्रचण्डलाई प्रश्न गर्दै भनिन्, ‘पार्टीभित्र सांस्कृतिक विचलन र वर्ग चेतना स्खलित भएको भनिएको छ । कुनै महिला कमरेडले सौता व्यहोर्नुपर्ने अवस्था आयो भने पार्टीबाट न्याय दिन सक्नुहुन्छ ?’ 

जनार्दन, वर्षमान र ओनसरी मात्र होइन, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणि खनाल, राम कार्की, गणेश शाहसहितका नेताले पनि पार्टीको गिर्दो शाखप्रति गम्भीर चिन्ता जनाएका छन् ।

पार्टी खिइँदै जाने, तर सत्ताका लागि मरिहत्ते गर्ने, संघीयताजस्ता मुद्दालाई स्थापित गर्न नलाग्ने, नेतृत्वको चयनमा निर्वाचनको विधि र प्रक्रियालाई नमान्ने गरेको आरोप प्रचण्डलाई छ । सरकारमा हुँदा र नहुँदा पनि पारिवारवाद हावी गराएर अरूलाई बदनाम गराउने काम भएको भन्दै स्थायी कमिटी बैठकमा नेताहरूले आपत्ति नै जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्