१२ साउन २०८३, मंगलबार

‘डोल्पो: विश्वको जीवित सङ्ग्रहालय’ को विमोचन

कात्तिक २०, २०७४
‘डोल्पो: विश्वको जीवित सङ्ग्रहालय’ को विमोचन

काठमाडौँ, १२ कात्तिक - साहित्यकार एवं पत्रकार मदनमणि दीक्षितले विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘डोल्पो: विश्वको जीवित सङ्ग्रहालय’ शीर्षक नियात्रा कृतिको शनिबार लोकार्पण गर्नुभएको छ । 

सो अवसरमा दीक्षितले पराजुलीद्वारा लिखित नियात्रा विश्व महत्व र पुरातात्विक महत्व राख्ने गहकिलो पुस्तकका रुपमा देखापरेको बताउँदै पुस्तकले पश्चिम नेपालको हिमाली क्षेत्रको भूगोल र प्रकृति तथा त्यस क्षेत्रको संस्कृति, जनजीवन र आर्थिक अवस्थाबारे प्रकाश पारेको बताउनुभयो । उहाँले शैक्षिक संस्था र विश्वविद्यालयलाई कृति इतिहासको अंगका रुपमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गर्नुभयो । 

साहित्यकार प्रा डा तारानाथ शर्माले डोल्पादेखि प्रारम्भ भएको यात्राले शे–फोक्सुन्डोजस्तो अति रमणीय तालको भ्रमण गराउँदै खसजाति तथा बौद्ध धर्मालम्बीको समेत परिचय दिँदै राष्ट्रियताको अति सुन्दर भावनाको कसरी विकास हुन सक्यो भन्ने तथ्यलाई छर्लङ्ग पारेको छ भन्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले लेखकले नेपाली वाङ्मयलाई नयाँ कृति दिन सफल भएको बताउनुभयो । 

सञ्चारविज्ञ रामकृष्ण रेग्मीले कृतिले नयाँ युगको चाहनालाई बुझेर कलम, पदयात्रा र क्यामरालाई समायोजन गर्न सफल भएको कृतिले डोल्पामा रहेको नेपालको हीराको खानीलाई खोतलेर हामी नेपालीमाझ राख्न सफल भएको बताउनुभयो । 

साहित्यकार रोचक घिमिरेले खँदिलो र गहकिलो कृतिले नेपाली साहित्यको भण्डार भरिएको छ भन्नुभयो । साहित्यकार एवम् पत्रकार प्रमोद प्रधानले कृतिमा भूगोल, प्रकृति, इतिहास, संस्कृति र जनजीवनलाई मिहिन रुपमा प्रस्तुत गरिएकाले अहिलेसम्म आएका नियात्राभन्दा फरक रहेको टिप्पणी गर्नुभयो । प्राध्यापक एवम् साहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’ले पुस्तकले कर्णाली क्षेत्रको अध्ययन गर्न प्रेरित गर्ने बताउनुभयो । 

लेखक पराजुलीले आफ्नो नियात्रा लेखन दोस्रो पाइला भएको र पाठकको माया र प्रेरणाले नै लेखन यात्रामा खुराक प्राप्त भएको बताउँदै वैदिक संस्कृति र आधुनिक इतिहासलाई खोजेर, जोडेर एउटा माला बनाउन सके नेपाल संसारमा नै इतिहासको विद्यालय हुने छ भन्नुभयो । कार्यक्रममा ‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक तथा साहित्यकार मोहन दुवाल र कृति प्रकाशक भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले कृतिको महत्वबारे विचार राख्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्