०१ असार २०८३, सोमबार
अनुसन्धानमा अग्रसर युवा

नेपाललाई प्रविधिमैत्री बनाइरहेका सुमन : गोबरको लाइटदेखि लुना जीपीएससम्म

भदौ १, २०८१
धनगढी
नेपाललाई प्रविधिमैत्री बनाइरहेका सुमन : गोबरको लाइटदेखि लुना जीपीएससम्म

‘समयमै आफूभित्रको क्षमता पहिचान गर्न सके सफलताले आफैं पछ्याउँछ ।’ यो भनाइलाई युवा वैज्ञानिक सुमन पौडेलले सार्थक बनाएका छन् । स्वदेशमै विभिन्न प्रविधिको आविष्कारगरी विदेशसम्म निर्यात गरिरहेका उनले नेपाललाई प्रविधिमैत्री बनाइरहेका छन् । दर्जनौँ सामग्री बनाइसकेका पौडेल आफूले निर्माण गरेका प्रविधि सरकारले लागू गर्ने हो भने नेपाल स्मार्ट बन्ने बताउँछन् । 

सामान्य घरपरिवारमा हुर्किएका उनी अहिले युवा वैज्ञानिक (अनुसन्धानकर्ता)का रूपमा परिचित छन् । अथाह मेहनत र कुशल क्षमताका कारण उनको यो यात्रामा आर्थिक अवस्था कहिले बाधक बनेन । आफूभित्रको प्रतिभाका कारण उनले नाम र दामसँगै स्वदेश तथा विदेशमा निःशुल्क(पूर्ण छात्रवृत्ति)मा पढ्न पाए ।

गोबरको लाइटबाट शुरू भएको यात्रा 
कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर (हाल काठमाडौं) का पौडेलको रुचि सानैबाट खोजमूलक चिजहरूमा थियो । घरमा रहँदा उनी कहिले गोबरको लाइट बनाउने त कहिले टुकीमारा बत्ती बनाउनेलगायत अनेकथरि प्रयासहरू गरिरहन्थे ।

सामान्य परिवारमा जन्मेका उनको दैनिकी पनि सामान्य नै थियो । उनका बुवाआमाले पहलमानपुर बजारमै कोसी होटेल सञ्चालन गरिरहेका थिए । सुमनको बाल्यकाल होटेलमै हुर्किँदै बित्यो । उनकी कान्छी दिदी भूमिका पौडेलले गाउँमा गोबरबाट लाइट बनाएको देखिन् । दिदीले भनेपछि सुमनलाई पनि त्यस्तै लाइट बनाउन मन लाग्यो । त्यस्तो लाइट बनाउने तरिका हेरेर आएपछि बनाउन सुमनलाई समय नै लागेन । 

null

उनको पहिलो प्रयास नै सफल भयो । २०६० सालमा घोडाघोडी अन्धकार नै थियो । बिजुली पुगेको थिएन । सुमनले गोबरबाट लाइट जलाएपछि उनलाई गाउँघरका अन्य व्यक्तिहरूले पनि बनाइदिन आग्रह गरे । सुमनले बनाइदिएर वितरण गर्थे ।  त्यसलगत्तै उनले मट्टीतेलबाट बल्ने टुकीमारा लाइट बनाए । द्वन्द्वको समयमा त्यो लाइट माओवादी र स्थानीयका लागि धेरै उपयोगी थियो । उनका मुख्य ग्राहक माओवादी नै थिए । सयौँको संख्यामा आउने उनीहरूले लाइटहरू किनेर लग्थे । आफूले उत्पादन गरेका सामानहरू बजारमा बिक्न थालेपछि उनलाई झन्–झन् हौसला बढ्दै गयो ।

पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयमा १० कक्षा उत्तीर्ण भएपछि सुमन डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियर पढ्न नेपालगन्ज गए । त्यहाँ सामान सजिलै पाउने भएकाले उनलाई रिसर्च गर्न निकै सजिलो भयो । अध्ययनकै सिलसिलामा त्यहाँ उनले  रोबोट निर्माण, घरमा चोर पस्दा सूचना दिने प्रविधि, रातिको समयमा आफैं बल्ने बत्ती, ड्रममा पानी भरिँदा पानी तान्ने मोटर आफैं बन्द हुने प्रविधि, विश्वको जुनसुकै कुनाबाट बन्द र खोल्न मिल्ने स्विच प्रविधि निर्माणलगायत विभिन्न १२ थरी विधामा रिसर्च गरे ।

नेपालगन्जमा कोर्स सकिसकेपछि उनले एनसेल अन्तर्गतको जीटीएल टावर हेर्ने कम्पनीमा केही समय जागिर गरे। अझै धेरै रिसर्च गर्नु थियो। त्यहाँ मनस्थिर नभएपछि उनले आफ्नै व्यवसायलाई अगाडि बढाउने सोच बनाए। फलस्वरूप २०७० मा पाथीभरा सेन्सर एन्ड सोलुसन उद्योग स्थापना गरे । जहाँ उनले मागअनुसारको प्रविधि निर्माण गर्दै हस्तान्तरण गर्न थाले । २०७२ मा उनले चालक निदाउँदा आफै ब्रेक लाग्ने प्रविधि निर्माण गरे ।

भारतले लगाएको नाकाबन्दीको समयमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने मौका पाए।  देश निर्माण गर्न तपाईँ जतिको वैज्ञानिक युवाको खाँचो भएको बताउँदै प्रधानमन्त्री ओलीले उनको हौसलाका लागि कलेज रोज्न अफर दिए। प्रधानमन्त्रीले उत्प्रेरणा दिएपछि सुमनले अनुसन्धानका लागि नेपाल विज्ञान  तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासलाई रोजे । छ महिना उनले आइओटी संसारको जुनसुकै ठाउँमा बसेर पनि कन्ट्रोल गर्न सक्ने प्रविधि निर्माण, खेतबारीको रेखदेख, बिजुलीको मिटर मोबाइलबाटै कन्ट्रोललगायत प्रविधि निर्माण गरे। 

null

त्यति मात्रै होइन युवा वैज्ञानिक सुमनले संखुवासभा, तेह्रथुमलगायत जिल्लामा आफैं बोल्ने सालिकहरूको पनि निर्माण गरे। विद्यार्थीहरूलाई साइन्स टेक्नोलोजी बुझाउने उद्देश्यले कैलालीको टीकापुरमा उनले साइन्स एण्ड आर्ट म्युजियम सञ्चालन गरिरहेका छन् । अटोमेटिक अण्डाबाट चल्ला बनाउने मेसिन निर्माणगरी बङ्गलादेशसम्म सप्लाइ गरिसकेका छन् ।

बुट क्याम्प विजेता भएपछि...
नेपालमा बसेर विभिन्न प्रविधिको विकास गरिरहेका उनले सन् २०१८ मा थाइल्यान्डमा भएको वैज्ञानिकहरूको सम्मेलन ग्लोबल बूट क्याम्प (global boot camp)​मा जाने मौका पाए ।  जहाँ विश्वभरिबाटै करिब एक सयको हाराहारीमा वैज्ञानिकहरू मात्रै सम्मिलित हुने गर्दछन्। दर्जनौँ प्रविधिको निर्माण गरिसकेका सुमन बुट क्याम्पको प्रतिस्पर्धामा प्रथम भए । त्यसपछि उनलाई रिसर्चका लागि अरू देश जान पनि सजिलो भयो। थप अध्ययनका लागि उनले पूर्ण छात्रवृत्तिमा स्विजरल्यान्डको स्विस स्कुल अफ म्यानेजमेन्टमा चार वर्ष अध्ययन गरे। त्यसपछि उनले बुटक्यामअन्तर्गत नेपालकन्ट्री डाइरेक्टरको जिम्मेवारी पनि पाए। क्याम्पमा सहभागी हुने वैज्ञानिक रिसर्चकर्ताहरू छनोटमा सुमनको भूमिका अहिले महत्त्वपूर्ण छ। 

विजेता भएकै कारण उनलाई बुट क्याम्पमा निःशुल्क प्रवेशको व्यवस्था छ।  हालसम्म उनी ९ वटा बुट क्याम्पमा सहभागी भइसकेका छन्। रिसर्च, प्रविधि निर्माणबाट राज्यलाई योगदान पुर्‍याइरहेको भन्दै उनलाई  युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभा पुरस्कारले सम्मान गर्‍यो। राष्ट्रिय युवा परिषद्ले र  उनले अध्ययन गरेको विद्यालय नास्टलगायत विभिन्न संघसंस्थाले  सम्मान तथा पुरस्कार प्रदान प्रदान गरेका छन्।

null

उनी काठमाडौं युनिभर्सिटीको आयोजनामा भएको आइडिया स्टुडियो कार्यक्रमअन्तर्गत मेड इन नेपाल विद्यामा प्रथम भएका छन् । त्यहाँबाट उनले १५ लाख विना धितो ऋण पाए । 

सेनेटरी प्याडदेखि मन्त्रीको बोर्डसम्म
विभिन्न प्रविधिको विकासगरी नेपाललाई विश्वमा चिनाइरहेका सुमनले  वैज्ञानिक बनाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्ट्रिम एजुकेसन (stream education)अन्तर्गत उनले बूढानीलकण्ठ स्कुलमा रोबोट निर्माण, वाटर रकेट निर्माणलगायत कामहरू गरे। नेपालगन्जमा अध्ययनकै क्रममा दर्ता गरेको काइचो ग्रुपअन्तर्गत नेपालको पहिलो रकेट निर्माणको काम सुरु भयो। उनीसँगै अन्य युवा वैज्ञानिक मोहन तामाङलगायतले रकेट र रोबर्ट रिसर्चको काम गरे ।मोहनकै नेतृत्वमा नेपालको पहिलो रकेट गरुडाको परीक्षण सफल भयो।

त्यसपछि उनले आफ्नो उद्योगबाट सरकारी कार्यालयमा प्रयोग हुने बोर्ड विशेषगरी मन्त्रीको बोर्ड निर्माण गरे। (जसमा मन्त्री कुर्सीमा बसेको समयमा भित्र र उठेर बाहिर गएको समयमा बाहिर भनेर अटोमेटिक लेखेर आउँछ ।) त्यसको सफलतापछि सेनेटरी प्याडको एटिएम मेसिन निर्माण,( महिलालाई चाहिएको समयमा प्याड उपलब्ध हुने, सार्वजनिक स्थान, विद्यालय, कार्यालयलगायत स्थानमा राख्न मिल्ने) त्योसँगै दुर्घटना न्यूनीकरणका लागि जीपीएसको निर्माणसमेत उनले गरिसकेका छन्। 

अनि निर्माण भयो लुना जीपीएस..
पाथीभरा उद्योग सञ्चालन गरिरहेका उनले कारोबारलाई विश्वव्यापी बनाउन पाथीभरा सेन्सर सोलुसन प्राइभेट लिमिटेड  दर्ता गरे । नेपाली सेना, प्रहरी, सशस्त्र, गाउँपालिका, नगरपालिकासँगै छिमेकी मुलुकहरूबाट पनि सेनेटरी प्याड मेसिनको माग बढेपछि उनले सप्लाईको काम गरिरहेका छन्।  भेकल ट्राफिक सिस्टम कन्ट्रोलका लागि उनले लुना जीपीएसको आविष्कार गरिसकेका छन्। जहाँबाट सार्वजनिक यातायात, व्यक्तिगत यातायात, सरकारी यातायात कन्ट्रोल गर्न सकिन्छ । उनले निर्माण गरेको प्रविधिको सदुपयोग यति बेला विभिन्न पालिकाहरूले गरिरहेका छन्। 

null

पालिकालाई प्रविधिमैत्री बनाउन लुना जीपीएस निकै उपयोगी छ। यहाँबाट नगर बसको सम्पूर्ण विवरण, आपत्कालीन सेवाको विवरण, आगो लागेको समयमा एसओएस सिस्टम, स्कुल बस फोहोरको गाडी आउँदै गरेको, पुगेको र गएको सम्पूर्ण सूचना जीपीएसले दिइरहेको छ। 

‘लुना जीपीएस एक वाहन ट्र्याकिङ प्रणाली हो । जसले सवारी साधनहरूको प्रत्यक्ष स्थान र यात्राहरूको इतिहास देखाउँछ। सार्वजनिक सवारी साधन, फोहोर फाल्ने सवारी साधन, नेपाल रेलवे र निजी सवारी साधनहरू नेपालमा जीपीएस  यन्त्रहरू प्रयोग गरेर ट्र्याक गर्न सक्नुहुन्छ । लुना जीपीएस नेपालको पहिलो स्वदेशी र उत्कृष्ट ट्र्याकिङ प्रणाली हो,’ उनले भने ।

null

अहिले नेपाल सरकारले पनि सार्वजनिक गाडीमा अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरेपछि उनी हर्षित बनेका छन्। ‘अहिले त सरकारले (जीपीएस)  अनिवार्य भनेको छ । अहिले हाम्रो उत्पादन नेपालसँगै भारतमा गइरहेको छ । अब क्यानडालगायत विश्वभरिका देशहरूलाई पुर्‍याउने हाम्रो योजना छ’, उनले भने ।
उनले उत्पादन गरेको लुना जीपीएस अहिले धनगढी उपमहानगरपालिकामा लागू भइसकेको छ। पौडेल उपमहानगरपालिकाका मेयर गोपाल हमालका आइटी सल्लाहकार पनि हुन् । 

धनगढीसँगै नेपालगन्ज उपमहानगरपालिका घोडाघोडी नगरपालिका, नागार्जुन नगरपालिका काठमाडौं, राप्ती गाउँपालिका, दमौली नगरपालिका, व्यास नगरपालिका र सिद्धार्थ गाउँपालिकालगायत पालिकाहरूमा लागू भइसकेको छ। 

चालु आर्थिक वर्ष ८१/८२ मा लागू गरिसक्नेगरी ८० वटा गाउँपालिका नगरपालिकासँग सम्झौता भइसकेको छ। ‘हामीले नेपाललाई सक्दो प्रविधिमैत्री बनाउन खोजिरहेका छौँ। यसका लागि विभिन्न पालिकाहरूमा हाम्रा प्रविधि लागू भइसकेका छन्। ८० वटा पालिकाहरूसँग हामीले सम्झौता गरिसकेका छौँ । यो यसै आर्थिक वर्षभित्र लागू भइसक्छ,’ उनले भने, ‘हाम्रो योजना ७५३ वटै स्थानीय तहमा लागू गर्ने हो। जनताका लागि हामीले निःशुल्क लुना जीपीएसबाट सेवा प्रदान गरिरहेका छौँ । जहाँबाट विभिन्न किसिमको सूचनाहरू लिन सकिन्छ।’ 

अबको केही समयमै जाजरकोटबाट सुरुवात गर्ने उनले लक्ष्य छ । सँगै बाजुरा धनगढी र नेपालगन्जमा पहिलो चरणमा यो प्रविधि लागू हुने उनले बताए । ‘चालु आर्थिक वर्षभित्रै बर्दियामा हात्ती आउँदा खबर आउने प्रविधि लागू हुँदै छ,’ पौडेलले भने ।

विश्वमा नेपाललाई चिनाउने उद्देश्य
बाल्यकालमा सुमनलाई इन्जिनियर भन्ने शब्द थाहा थिएन। भविष्यमा के बन्ने ? भनेर सोच्दा उनको दिमागमा पाइलट आउँथ्यो। जब हुर्किँदै गए तब भने उनले आफ्नो क्षेत्रको समयमै पहिचान गर्न सके। रिसर्च, अनुसन्धान पेसामा लागेको उनलाई २१ वर्ष पूरा भइसकेको छ। नौ वर्षकी कलिलो उमेरबाट उनी  केही न केही खोज गरिरहेका छन् । थुप्रै प्रविधिको विकास गरिसकेका उनलाई अझै धेरै खोज्नु छ। अझै धेरै अनुसन्धान गर्नु छ। नेपालको उत्पादनलाई नेपालको खोजलाई विश्वसामु पुर्‍याउनु छ। लुना जीपीएसलाई अन्य मुलुकहरूमा पनि विस्तार गर्ने उनको योजना छ।  

‘म सन्तुष्ट छु। खुबी हुनुपर्छ, सफलता मिल्छ। म त होटेलमै हुर्किएको मान्छे । प्रयास गर्दागर्दै म यो चरणसम्म आइपुगेको छु। अझै धेरै गर्नु छ। म निकै खुसी छु। आर्थिक पाटोको कुरा गर्ने हो भने म २०० प्रतिशत सन्तुष्ट छु’, उनले भने ।

null

विभिन्न प्रविधिको निर्माणगरी उनले नेपाललाई प्रविधिमैत्री मात्रै बनाइरहेका छैनन् प्रत्यक्ष रूपमा तीन मान्छेलाई रोजगारी पनि दिइरहेका छन्। ‘सफलता चुड्कीमा हुने चिज होइन, यसका लागि अथाह परिश्रम गर्नुपर्छ र धैर्यताको पनि आवश्यकता पर्छ। धेरैको बानी चाँडोभन्दा चाँडो प्रतिफल खोज्ने हुन्छ । त्यो नमिल्दा व्यवसायबाटै धेरै पलायन हुन पुग्छन् । कम्तीमा दुई वर्ष गरेर हेर्नै पर्छ, त्यसबाट प्रतिफल आए पनि नपाए पनि । अहिलेको समाज कम गर्ने बढी बोल्ने देखासिकी गर्ने नेगेटिभ माइन्डले भरिएको छ । जसले गर्दा सफलता मिल्न सकिरहेको छैन,’ उनले भने, ‘विभिन्न उद्योगहरू खोलेका छन्, ती सबै अनुदान खान मात्रै छन् । डिग्री गरेको व्यक्तिहरूले जागिर पाएनौँ भन्छन्। पहिलो कुरा उहाँहरू कुनै न कुनै विषयको विज्ञ हो नि! त्यही क्षेत्रमा आफ्नो ज्ञान सीप बाँडेर धन आर्जन गर्न सकिन्छ । इच्छाशक्ति र आत्मविश्वास सबैभन्दा ठुलो कुरा हो। यो भयो भने सफलता अवश्य मिल्छ ।’

salt training

कमेन्ट गर्नुहोस्