
दुई वर्षअघि २०७९ सालमा एकाएक समाचार बाहिरियो, नेप्से– ५० इन्डेक्स आउँदैछ । त्यसका लागि भनेर बन्दै नबनेको कार्यविधि समेत सार्वजनिक गरियो ।
तर, नेप्से– ५० आउने उक्त हल्ला यत्तिकै सेलाएर गयो । एक वर्षपछि २०८० वैशाखमा नेप्से–३० आउने दोस्रो हल्ला बाहिरियो । यो पनि पुनः हराएर गयो ।
अहिले २०८१ सम्म आइपुग्दा नेप्से– ५० र नेप्से– ३० दुवै कतै देखिँदैनन् ।
अब कुरा आउँछ, यो नेप्से– ५० र नेप्से– ३० के हो ? यो किन आवश्यक छ ?, यो कसले बाहिर निकाल्यो र आखिर कता हरायो ? नेपाली शेयर बजारमा नयाँ इन्डेक्सको विषय, हल्ला र कार्यान्वयनको पाटोलाई तीन चरणमा विभाजन गरेर हेरौं ः
पहिलो चरण : हल्लैहल्ला
शुरूमा नेप्से– ५० भनेको के हो भन्ने उदाहरणबाट प्रस्ट होऔं ः नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सर्वसाधारणहरूले देख्ने भनेको बाहिरको कारोबार र कति अंकले बढेको छ भन्ने कुरा हो, जसलाई नेप्से इन्डेक्स भनेर सबैले बुझ्ने गर्छन् । यो नेप्सेमा सूचिकृत अथवा कारोबार हुने सबै कम्पनी, म्युचुअल फन्ड तथा डिबेन्चरहरूको औसतजस्तै हो ।
नेप्से सूचकांकअन्तर्गत हाल ३ इन्डेक्सहरू रहेका छन् । पहिलोमा सेन्सिटिभ इन्डेक्स, दोस्रोमा फ्लोट इन्डेक्स र तेस्रोमा सेन्सिटिभ फ्लोट इन्डेक्स रहेका छन् । यसका साथै नेप्सेले विभिन्न विधामा १३ वटा सब–इन्डेक्सहरू पनि छुट्ट्याएको छ, जसलाई हामीले उपसमूह भनेर चिन्ने गर्दछौं ।
यी माथि उल्लेख गरिएका इन्डेक्सहरूबाट हामीले उपसमूहतर्फ गएर कुनै निश्चित समूहजस्तै बैङ्किङतर्फको शेयर कति र कसरी बढिरहेको छ हेर्न सक्छौं ।
नेप्से– ५० पनि त्यस्तै एक इन्डेक्सका रूपमा रहने सूचक हो, जसले ५० वटा कम्पनीहरूको मात्रै प्रतिनिधित्व गरेर सूचकांक देखाउँछ ।
यही ५० कम्पनीको हिसाब निकालेर सूचकांक निकाल्ने कामलाई नेप्से– ५० भनिएको हो । ३० वटा कम्पनीको मात्रै हिसाब निकालेर सूचकांक निकाल्नेलाई नेप्से– ३० भनिएको हो । यसमा निश्चित मापदण्ड बनाएर ३०/५० कम्पनीलाई मात्रै राखिन्छ ।
००००
पहिलो चरणमा नेप्से– ५० को हल्ला २०७८/७९ सालमा बाहिरिएको थियो । तर, नेप्से– ५० को कुरा नेप्सेमा २०७४ सालदेखि नै उठ्दै आएको हो ।
नेप्से– ५० कै नाम दिइएको थिएन । तर, पनि एउटा नयाँ इन्डेक्सको परिकल्पना नेप्सेभित्र भइरहेको थियो, जुन २०७९ सालमा नेप्सेभित्र छलफल हुँदा मिडियाहरूमा बाहिरियो ।
उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार त्यतिबेला कुनै कार्यविधि अथवा कन्सेप्ट पेपर बनाइएको थिएन । केबल नेप्से– ५० को विषय कस्तो होला र कसरी ल्याउन सकिन्छ होला भन्ने विषयमा कुरा मात्रै भएको थियो ।
‘नेप्सेभित्र २०७४ सालमा नै नयाँ इन्डेक्सको परिकल्पना गरिएको थियो । २०७९ सालमा नेप्सेका पदाधिकारीहरूको बीचमा छलफल मात्रै भयो । त्यतिबेला छलफलमा नेप्से– ५० को परिकल्पनामा कुरा मात्रै भएको थियो,’ ती अधिकारीले भने, ‘उक्त कुरा बाहिरिएपछि त्यसलाई समाचारहरूमा मुख्य विषय बनाइयो । नेप्से– ५० कसरी ल्याउने ? के गर्ने ? कार्यविधि बनाउने कि ? भन्ने जस्ता केही पनि विषयमा कुरा नै भएको थिएन । त्यसैले त्यत्तिकै उक्त विषय हरायो’, ती अधिकारीले भने ।
दोस्रो चरणमा कार्यविधि तयार
नेप्से– ५० आउने हल्ला केही समयका लागि सेलाएपछि पुनः शुरू भयो । २०८० वैशाखमा नेप्से– ३० आउने कुरा बाहिरियो । नेप्सेले लामो सयदेखि परिकल्पना गरेको नेप्सेको नयाँ इन्डेक्सका लागि कन्सेप्ट पेपर बनाइएको थियो ।
नेप्सेको कार्यसमितिमा बारम्बार छलफल भएपछि कमिटी नै बनाउने कुरा भयो र राष्ट्र बैंकको तर्फबाट एकजना निर्देशकलाई संयोजकका रूपमा राखेर कार्यविधि बनाउने काम शुरू भयो ।
नयाँ कार्यविधिका लागि नेपाल स्टक एक्सचेन्जले वैशाखमा रायसुझाव पनि माग्यो र कार्यविधि बनाउनमा लाग्यो । अन्त्यमा ‘सूचकांक विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि २०८०’ तयार भयो । नेप्सेले कार्यविधि बनाउँदा काठमाडौं विश्वविद्यालयका एक्सपर्ट र नेपालमा उपलब्ध एक्पर्टहरूसँग छलफल समेत गरेको थियो ।
तयार गरिएको उक्त कार्यविधिलाई सञ्चालक समितिमा पठाइयो । कार्यसमितिले भदौ २५ गते ‘सूचकांक विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि २०८०’ पास गर्यो ।
कार्यविधि पास भएपछि नेप्से– ३० ल्याउने बाटो खुल्यो । र, चाँडै नेप्से– ३० सञ्चालनमा ल्याइने भनियो । तर, अहिले करिब १ वर्ष हुन लाग्दा पनि नेप्से–३० को अत्तोपत्तो छैन ।
तेस्रो चरणः कहाँ हरायो नेप्से– ५० र नेप्से– ३० ?
नेप्से– ३० सञ्चालनमा ल्याउनका लागि तयार गरिएको कार्यविधि सञ्चालक समितिले गत भदौमा पास गरेपछि तेस्रो चरण शुरू भयो । यहाँ सञ्चालक समितिले पस गरे पनि कार्यविधिमा भएका सबै कुरालाई कार्यान्वयनमा ल्याउन इन्कार गरेपछि नेप्से– ३० होल्डमा रहन पुग्यो ।
एक वर्ष हुन लाग्दा समेत कार्यसमितिको अड्चनका कारण नेप्से– ३० सञ्चालनमा ल्याउन नसकिएको नेप्सेका अर्का एक अधिकारीले बताए । ती अधिकारीका अनुसार सञ्चालक समितिले नेप्से– ३० लाई कार्यान्वयन नगर्ने अडान लिएको छ । सञ्चाक समितिका केही व्यक्तिले नेप्से–३० लाई सञ्चालनमा ल्याउन रोकेको ती अधिकारीको भनाइ छ ।
अब नेप्से– ३० सञ्चालनको कुरा आउँदा नेप्से– ५० कहाँ हरायो भन्ने कुरा आउँछ । पहिलो चरणको छलफलमा नेप्से– ५० को परिकल्पना गरिएको थियो । त्यतिबेला उक्त परिकल्पनामा बारम्बार छलफल हुँदा नेपालका लागि नेप्से– ५० भन्दा नेप्से– ३० उचित हुने देखिएकाले नेप्से– ३० लाई अगाडि सारिएको थियो । नेप्से– ३० अगाडि सारेसँगै नेप्से– ५० यसै हराएर गयो ।