![पेरिस ओलम्पिकमा कठिन म्याराथन पूरा गरेकी सन्तोषी– जब गोल्ड मेडलिस्टले कुरेरै अंकमाल गरिन् [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Santoshi_Shrestha_8_BrZIqjnzoA.jpg)
कक्षा ६ मा पढ्दै गर्दा शिक्षकले भने– तिमी सक्दैनौ, नदौड । सँगै पढ्ने साथीले भने– तिमीसँग जुत्ता छैन, नदौड । ५ कक्षामा पढ्ने भाइले भन्यो– अरू केटी ठूला छन्, तिमी नदौड । ब्याचलर पढ्दै गर्दा प्राध्यापकले भने– तिमी पढिरहेको पब्लिक हेल्थमा अब्बल छौं, अरू साथी जागिर खाएर अगाडि जान्छन्, तिमी दौडिएर आफ्नो करियर नबिगार ।
एकातिर यस्तो हुँदै गर्दा सँगै उनको दौडको भोकलाई नजिकबाट नियाल्ने साथी र परिवारका अन्य सदस्यले उत्तिकै उर्जा भरेका थिए । धादिङको ज्वालामुखी गाउँपालिका– ६ सुनखानीमा जन्मिएकी सन्तोषी श्रेष्ठले यी सबै कुराको पर्वाह गरिनन् । जिन्दगीको भागदौडमा दौडलाई नै आफ्नो मूलमन्त्र ठानिन् र १८ वर्षदेखि अनवरत दौडिँदै आइन् ।
शिक्षक, भाइ र प्राध्यापकले भनेजस्तै गरेको भए उनीसँग दक्षिण एसियामा एथ्लेटिक्स (दौड)मा महिलातर्फ पहिलो स्वर्ण पदक जित्ने खेलाडीको ताज हुने थिएन । न त हुन्थ्यो केही दिनअगाडि २०२४ मा पेरिस ओलम्पिकमा महिला म्याराथनमा फिनिसिङ लाइन टच गरेपछिको ‘ओलम्पियन’ कोशेढुंगा ।
‘६ कक्षामा पढ्दै गर्दा हो, शिक्षकले तिमी सक्दैनौ, नदौड, भनेर रोक्ने प्रयास पनि भयो । जुत्ता लगाउनुपर्छ, तिमीसँग जुत्ता पनि छैन भन्ने साथीहरू पनि थिए,’ पेरिसबाट फर्किएपछिको नवौं दिनमा लोकान्तरसँग लामो कुराकानीका क्रममा सन्तोषीले भनिन्, ‘सँगै तिमी जतिखेर पनि दौडिरहेको, कुदिरहेको हुन्छौ, तिमीले सक्छौ भन्ने साथीहरू पनि थिए । सक्छौ र सक्दैनौ भन्ने दुवै हुँदा रहेछन् । तर मैले सक्छौ भन्नेको कुरा मानें । त्यही बाटोलाई पक्रिएँ । कोशिश गरौं, सकिएन भने सकिएन भन्नेमा रहें । आफ्नै अडानमा दौडिएर जितेँ ।’
कक्षा ६ मा पढ्दै गर्दा अरु सिर्जनात्मक प्रतियोगितासँगै दौडमा पनि नाम लेखाइन्। पछि नाम काट्न खोज्दा शिक्षकले १०० रूपैयाँ फाइन लाग्छ भनेपछि दौडेरै छोडिन् ।

आफूले पाएका अवसरमा खरो उत्रिएपछिको उपलब्धिको फिनिसिङ लाइनमा सबैभन्दा खुशी हुने र आश्चर्यमा पर्ने उनकै भाइ छन् । शिक्षक र प्राध्यापक पनि उनको निरन्तरको सफलताले पुलकित छन् । सन्तोषी यसमै सन्तोष मान्छिन् ।
‘जागिर गरेर साथीहरू अगाडि पुग्लान्, तिमी दौडमा नभुल, खेलकुदमा लागेर आफूलाई नबिगार भनेर शिक्षकहरूले ब्याचलर पढ्दा भन्नुहुन्थ्यो । मेरो पब्लिक हेल्थको विषयको लगावलाई लिएर उहाँहरूले यस्तो भन्नुभएको हो । तर, मलाई लाग्थ्यो म सबै गर्न सक्छु,’ सन्तोषी सुनाउँछिन्, ‘मेरो भाइ फुटबल खेल्थ्यो, अरू ठूल्ठूला केटी छन्, सक्दैनौ दिदी, तिमी नदौड भन्थ्यो । उसले पनि मेरो केयर गरेरै यस्तो भनेको थियो । तर आज म जित्दा फिनिसिङ लाइनमा सबैभन्दा आश्चर्यमा पर्ने र खुशी हुनेमा मेरो भाइ पर्छ ।’
सन्तोषीले २०२४ को पेरिस ओलम्पिकमा कुनै पदक प्राप्त गरिनन् । तर, पेरिसको अप्ठ्यारो मानिने म्याराथन (४२ किलोमिटर)को फिनिसिङ लाइन २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा टच गरेरै छाडिन् । पर्खेको, खोजेको सपना पूरा भएकोमा उनी सन्तुष्ट छिन् ।
‘ओलम्पिकजस्तो महाकुम्भको अनुभव पर्खिरहेको थिएँ । अनुभव लिन खोजिरहेको थिएँ । त्यही सपनामा बाँच्न पाउँदा केही कुरा पूर्ण भएको जस्तो, अझै केही गर्न प्रेरणा मिलेजस्तो भएको छ,’ उनी त्यो क्षण सम्झिँदै भन्छिन्, ‘खेल्नु थियो । लामो दुरी सकाउनु ठूलो कुरा हो, त्यो पूरा गरें, एकदमै खुशी र सन्तुष्टि मिलेको छ ।’
आफूभन्दा ३२ मिनेट ११ सेकेन्ड अगाडि दौड पूरा गरेर स्वर्ण जितेकी नेदरल्याण्ड्सकी सिफान हसन (२ घण्टा २२ मिनेट ५५ सेकेन्ड)ले आफूलाई गरेको प्रतीक्षा र स्पर्श उनका लागि अझ विशेष छ ।
‘दौड पूरा गरेकोमा म खुशी थिएँ । ओलम्पिकमा गोल्ड मेडल र अरू इभेन्ट जित्नुभएको सिफान मेरै लागि भनेर आधा घण्टासम्म कुर्नुभएको थियो । म उहाँको जीतमा खुशी थिएँ । उहाँ मैले दौड पूरा गरेकोमा खुशी हुनुभयो,’ ओलम्पिकमा फिनिसिङ लाइन टच गरेपछिका क्षणलाई ताजा बनाउँदै सन्तोषी भन्छिन्, ‘मेरो दौडमा खुशी मान्दै अंगालो हाल्दा, मलाई गरेको स्पर्श, भनेका कुरा, माया र सम्मानलाई शब्दले बयान गर्न सक्दिनँ । त्यो मेरो लागि गर्व गर्न लायक एवं जिन्दगीभर साँचेर राख्न मिल्ने सुन्दर पल थियो ।’

नेदरल्यान्ड्सको ग्लोबल कम्युनिकेसनमा सँगै ट्रेनिङ गर्दाको आत्मीयताले यी दुईलाई जोडेको थियो । सन्तोषी बंगलादेशको बंगबन्धु अन्तर्राष्ट्रिय म्याराथनमा आफैंले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा राखेको राष्ट्रिय कीर्तिमान तोड्न चाहन्थिन् । तर, उनले ओलम्पिकको यो महत्त्वपूर्ण प्रतियोगितामा फिनिस गर्नुलाई नै प्राथमिकता दिइन् ।
‘ओलम्पिक खेल्छु भन्ने सपना थियो । पाएपछि राम्रो प्रदर्शन गर्छु, एकदमै फास्ट कुद्छु, आफ्नै रेकर्ड ब्रेक गर्छु भन्ने थियो । महत्त्वाकांक्षा र सपना बोकेर पेरिस गएको थिएँ । तर, अघिल्लो दिनको पुरुषको म्याराथनपछिकाे स्थिति, मेरो मेनेजर, रुट नाप्ने एक्सपर्ट, ग्लोबल कम्युनिकेसनसँगको कुराकानीपछि लाग्यो, मेडल जितेको जत्तिकै खुशी स्मार्ट भएर कुद्नुमा थियो । दौड बीचमै छोडेका ११ जना साथीजस्तै हुने हो कि भन्ने लाग्यो । मनले फास्ट गर भनेको थियो, तर दिमागले स्लो गर भनिरह्यो । तर, मेरो मेन टार्गेट फिनिस गर्ने भन्ने थियो । यो मिसन सफल गरें ।’

म्याराथन पूरा गर्नुलाई उनले ‘प्राउड मोमेन्ट’ मानेकी छन् । पेरिसको उकालो–आरोलो कोर्स, ह्युमिडिटी जस्ता पक्षले चुनौती थपेको उनले बताइन् ।
तर, फाइनल टचमा मात्र होइन, ४२ किलोमिटरको बाटोभर हुने हुटिङले ऊर्जा थपेको उनी बताउँछिन् । ‘बाटोहरूमा हुटिङ थियो । उत्तिकै इनर्जीका साथ दर्शकहरूले पहिलो हुनेदेखि अन्तिम हुनेसम्म सबैलाई हौसला दिनुभएको थियो,’ उनी भन्छिन्, ‘नेपाल नेपाल, सन्तोषी नाम लिएर हुटिङ भयो । नेदरल्यान्डसदेखि मेरै गेम हेर्न दर्शक आउनुभएको थियो । ४२ किलोमिटरमा एक्लै कुद्नुपरेन । दुवैतिर शुभेच्छुक हुनुहुन्थ्यो । यो एकदमै प्राउड मोमेन्ट थियो ।’
ग्लोबल स्पोर्टस ज्वाइन गरेदेखि नै सिकेकी थिइन्– ‘इन्जोय द रेस ।’ दौड पूरा गरेपछिको ह्यापी मोमेन्टले दुखाइलाई बिर्सायो । अघिल्लो दिन पुरुष म्याराथनमा २८ किलोमिटरमा पुग्दा पुरुष खेलाडीलाई पनि गाह्रो भएको उनले बुझेकी थिइन् । तर उनले मसल्सको दुखाइ सहँदै दौड पूरा गरेरै छाडिन् ।

पेरिसमा सन्तोषीले देखेको एउटा फरक हो– सेवा, सुविधा र व्यवस्थापनको । ‘विदेशी खेलाडी र हामीबीच सेवा सुविधामा एकदमै फरक छ, बयान गर्न नै सकिँदैन । कतिपय नरमाइलो हुने पल पनि छन् । खाडल छ । मेरो देशबाट केही पाइनँ भन्ने गुनासो होइन, यसमा सन्तुष्ट छु । हाम्रो म्यानेजमेन्टले गर्न खोेजे पनि कति कुराको ज्ञान नहुने रहेछ । थाहा पनि नहुने रहेछ’ उनले भनिन् ।
दौडका क्रममा जुत्ता, लुगा, मसाज, अनि पानीलाई बाटोमा कहाँ राख्ने जस्ता कुरामा अन्य देशका खेलाडीहरूका लागि निकै राम्रो व्यवस्था भएको उनले देखिन् ।
‘बाटोमा कहाँ कुन पानी राख्ने, कहाँ जेल राख्ने, त्यो रेसकै समयमा अरू देशका खेलाडीलाई केही पनि स्ट्रेस नहुने रहेछ भन्ने अझै नजिकबाट नियाल्न पाएँ । हसनकै म्यानेजरबाट पनि सिक्न पाएँ । उनीहरुले कसरी प्रेसर र स्ट्रेसबाट मुक्त राख्छन् भन्ने देख्न पाएँ,’ उनी भन्छिन्, ‘तर हाम्रो त त्यस्तो छैन । रेसअगाडि उनीहरूको के–के हुने रहेछ । हाम्रोमा गयो, दौडियो । दौडबाहेक पनि धेरै कुरा हुने रहेछ भन्ने देख्ने र सिक्ने मौका ओलम्पिकले दियो ।’
नेपालले पनि पदक ल्याउन खेलका यस्ता पक्षलाई ख्याल गर्नुपर्ने उनको आशय छ ।
‘रेसको दिनभन्दा बाहेक खाने, बस्ने, ट्रेनिङ गर्ने जिम्मेवारी सबै फरक हुँदोरहेछ । खेलाडीको सुख, सुविधा, टेक्नोलोजी जस्ता कुरा हाम्रोभन्दा उनीहरूको धेरै नै माथि छ,’ उनी भन्छिन्, ‘उनीहरूको स्तर भेट्टाउन सहज छैन । लामो तपस्या र संघर्ष चाहिन्छ ।’
आर्थिक लगानीसँगै खेलाडीको हुटहुटी र सपनाले सफलता मिल्ने उनको अनुभव छ । ‘देश हाँक्नेले मात्रै होइन, खेलाडीले पनि उत्तिकै सपना देख्नुपर्नेरहेछ । आर्थिकबाहेक अन्य धेरै पक्षले प्रभाव पार्दो रहेछ । साना देशहरूको जितले पनि यही देखाउँछ,’ उनी भन्छिन् ।
खेलकुद परिषद, ओलम्पिक कमिटीबाट गएका अफिसियलहरूले रेकर्डभन्दा दौड पूरा गर्नुलाई प्राथमिकता दिएका थिए । यसैले उनले दौड पूरा गरेपछि परिषदका पदाधिकारी र एनओसीका महासचिव लगायतले गौरव गर्दै स्याबासी दिएका थिए । त्यो क्षणले आफूलाई प्रेरणा मिलेको सन्तोषी बताउँछिन् ।

‘मेरो वेलविसर मात्रै नभएर विदेशी खेलाडी र कोचहरूले पनि रेस हेर्नुभएको थियो । कोचहरूले मैले तिम्रो गेम हेरें, एकदमै मनपर्यो, तिमीले अझै राम्रो गर्न सक्छौ भन्नुभयो । मैले यसअघि मेडल जित्दा यस्तो म्यासेजहरू पाएको थिइनँ,’ उनी भन्छिन्, ‘ओलम्पिकमा मेरो रेसको टेक्निकहरू एक–एक रिभ्यु गरेर सामाजिक सञ्जालमा साथी नहुनुभएका कोचहरूले खोजी–खोजी म्यासेज गर्नुभयो । मेडल जित्नुभएका र रिटायर्ड खेलाडीले यस्तो गर्दा एकदमै खुशी लाग्यो ।’
नेपालको तर्फबाट थेरापिस्ट नहुँदा नरमाइलो लागे पनि अब जानेहरूका लागि राज्यले सहयोग गुर्नुपर्ने मत उनको छ ।
आर्थिक भरथेगको कमीका कारण एथलेटिक्समा टिक्न असहज भएरै धेरै खेलाडीहरू विभागीय टीमबाट आउँछन् । तर, सन्तोषी खुला रूपमा आफ्नै प्रयासमा खेल्नुको चुनौती रोजेको बताउँछिन् ।
‘खुलाबाट एथलेटिक्समा आउनु र खेल्नुमा चुनौती नै चुनौती छन् । चुनौती छ, गाह्रो छ भन्ने थाहा भएरै मैले यो रोजेको हो । यसलाई गरेर हेर्नका लागि एउटा आँट चाहिन्छ,’ आत्मविश्वास देखाउँदै उनी भन्छिन्, ‘त्यो गरेर सफल भएँ भने अरूलाई सहज हुन्छ र अझै राम्रो गर्न सकिन्छ भन्ने मलाई थियो । झन् देशबाट प्रतिनिधित्व गर्न सक्नु विभागभित्र र बाहिरका सबै खेलाडीलाई एउटा प्रेरणाको कुरा हुन्छ ।’

बाहिरबाटै खेलेर सन्तोषीले ५ पटक राष्ट्रको प्रतिनिधित्व गरिसकेकी छिन् । २०१९ को १३ औं सागमा १० हजार मिटरमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डमा पराजित गर्दै उनले स्वर्ण जितिन् । याे साउथ एसियन गेममा मात्रै हाेइन महिलाहरूको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । यो जित्न पाउनु ठूलो कुरा थियो । यही कीर्तिमानी उपाधियता सन्तोषी ‘गोल्डेन गर्ल’का रूपमा परिचित छिन् । धेरै महिला दिदीबहिनी, पब्लिक खेलाडी र धेरै मानिस प्रेरित भएको उनी बताउँछिन् ।
दोस्रो अवसर, बंगबन्धु म्याराथनको हाफ म्याराथन कुदेर हाफ म्याराथनमा नेसनल रेकर्ड ब्रेक गरिन् । अन्तर्राष्ट्रिय गेमको सदुपयोग गर्दै तेस्रो एसियन गेमको मौका पाइन्, तर हिँड्नै नसक्ने स्थिति आउँदा प्रतियोगिता गुमाइन् । चौथो २०२४ मा बंगलादेशमा बंगबन्धु अन्तर्राष्ट्रिय म्याराथन २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । जुन राष्ट्रिय कीर्तिमान त भयो नै, यही डेब्यु म्याराथनले सन्तोषीको ओलम्पिकको टिकट पक्का गरिदियो ।
‘नेसनल रेकर्ड राख्न सके । गोल्ड मेडल जितें । अहिले देशबाट पाँचौपटक खेल्दा ओलम्पिक दौडिएर आएँ । चारवटामा पहिलाेमा ऐतिहासिक गाेल्ड मेडल, एउटामा नेसनल रेकर्ड, नेसनल रेकर्ड र गाेल्ड मेडल पाएँ । यो लेबलमा भएको खेलाडीलाई यो कम प्रतिनिधित्वको मौका हो,’ उनी भन्छिन्, ‘नेसनल च्याम्पियन एकजना हुन्छ । तर पब्लिक खेलाडी पुग्नुलाई धेरैले गर्व गरेका छन् । हामी पनि दिदीबाट प्रेरित भएका छौं भन्ने थुप्रै हुनुहुन्छ । मबाट उहाँहरू र उहाँहरूबाट म प्रेरित भएको छु । टु वे इन्स्पिरेसन लिएर अगाडि बढेका छौं ।’
भारतीय खेलाडीलाई एक मिलिसेकण्डले पछि पार्दै जितेको स्वर्ण र ओलम्पिकको फिनिसिङ लाइन टच गर्दाको खुशीलाई उनी जिन्दगीभर भुल्न सक्दिनन् ।

‘यी दुई पलको खुशी शायद जिन्दगीभरी कहिल्यै पनि बिर्सिन सक्दिनँ । मुस्कुराएर सम्झिरहन्छु । त्यो क्षण मेरो लागि एकदमै गोल्डेन थियो,’ उनले भनिन् । इतिहास रचेकी सन्तोषीले मध्यम दुरीका १० वटा प्रतियोगितामा समेत स्वर्ण जितेर आफूलाई अब्बल बनाइन् ।
नवौं राष्ट्रिय खेलकुदमा ५ हजार र १० मिटर, ४४ औं राष्ट्रिय एथलेटिक्समा १५ सय र ३ हजार मिटर, पहिलो अन्तर प्रदेश खेलकुदमा ५ हजार र १० हजार मिटरमा पनि स्वर्ण जितिन् । लुम्बिनी पिस र नेपालगञ्ज हाफ म्याराथनमा पनि उनले स्वर्ण जितिन् । नियमित यिनै प्रतियोगिता जित्दाका नगद पुरस्कारले सन्तोषी दौडलाई निरन्तरता दिन सक्षम भएकी हुन् ।
तर, उनीसँग खर्च जुटाउन नसकी कमजोर जुत्ता र किट प्रयोग गर्दा महिनौं घाइते हुनुपरेका नमिठा पलहरू पनि छन् ।
‘खर्च जुटाउन गाह्रो छ । शुरूशुरूमा खर्च जोहो गर्न महंगो किटहरूलाई अभोइड गरें । कमजोर किटहरूकै कारण म बढी घाइते भएको हुँ भन्ने मैले थाहा पाएँ । त्यतिखेर जस्तो त्यसैलाई प्रयोग गरेँ,’ उनी भन्छिन्, ‘तर जब बुझ्दै गएँ, साउथ एसियन गेमपछि बल्ल ब्रान्डेड जुत्ता र किटहरू प्रयोग गर्न थालें । एकदमै गाह्रो पनि भयो । तर, दुःख र अभावका बीच पनि देशभित्रका प्रतियोगिताहरू जितेँ । त्यहीँबाट जितेको पुरस्कार किटहरू किन्नेमा प्रयोग गरें । पुरस्कारको रकमले मलाई केही सहज भयो ।’
मध्यम वर्गीय परिवारको सदस्य भएको नाताले उनलाई आर्थिक समस्या परि नै रह्यो ।
‘मध्यमवर्गीय परिवारको सबै कुरा आफैं म्यानेज गर्नुपर्ने रहेछ । एउटै लुगाले धेरै समय पुर्याउने । दशैंमा पनि अघिल्लो वर्षदेखिको लुगा छ भने नयाँ नकिन्ने परिस्थितिबाट हुर्किएको र स्कूलिङ पाइरहेको मान्छे हुँ,’ उनी भन्छिन्, ‘एथलेटिक्समा पनि जुत्ता च्यातिएर लाउन नहुने भएसम्म बाहिरको एपिरेन्स मात्रै हेरेर जुत्ता भए हुन्छ भन्ने हेर्यौं । तर बुझ्दै जाँदा राम्रो जुत्ता चाहिने रहेछ भन्ने बुझ्दै गएँ । बुझ्दै जाँदा धेरै कुराको ज्ञान थियो । तर, आफ्नो क्षमता थिएन । चाहनाले मात्रै नपिरलोस् भनेर भएकैले पनि काम चलाइराखौं भनेर पुरानै लगाइयो । तर, जुत्ता र किटको उचित प्रयोग धेरै ठूलो कुरा रहेछ ।’

सन्तोषीमा अझै खेल्ने, इतिहास रच्ने र रेकर्ड ब्रेक गर्ने चाहना छ । साथै, बाहिरबाट पनि खेलेर एथलेटिक्समा जम्न सकिन्छ भन्ने सन्देश दिने हुटहुटी छ ।
‘छुटाएका केही कुरा पूर्ण गर्नुछ । मलाई जे–जे गर्न मन थियो, गरें । केही कुरा छुटेका छन् । पढ्दै, खेल्दै, काम गर्दै खेल्न सकिन्छ भन्ने मेसेज दिएँ । अब व्यावसायिक बन्नुपर्छ । बाहिर बसेर खेल्न सकिन्छ, सहज बनाउन सकिन्छ भन्ने सन्देश दिनुछ,’ सन्तोषी भन्छिन्, ‘कर्पोरेट लगानी गर्ने वातावरण बनाउन सक्नुपर्छ । नेसनल रेकर्ड ब्रेक गर्ने, मेडल जित्दै जाने, इतिहास रच्दै जाने । जीतभन्दा इतिहास रच्दै जानुपर्छ भन्ने लाग्छ ।’
पछिल्लो समय क्रिकेट, फुटबल र भलिबल व्यावसायिक बन्दै गएकोमा उनी खुशी छिन् । यसैले राज्यले आधारभूत तहबाट खेलकुदमा केही काम होस् भन्ने उनको अपेक्षा छ ।
‘राज्य चलाउने हामीभन्दा अनुभवी र एक्सपर्ट हुन्छन् । नेपालमा एथलेटिक्समा अन्यत्रजस्तो चार्म छैन, तर चार्म हुनुपर्छ,’ उनी भन्छिन्, ‘स्कूल लेभलदेखि नै ग्रुम गर्दै ओलम्पिक र वर्ल्ड च्याम्पियनसिपसम्म देशको फेस देख्न सक्ने वातावरण बनाउनुपर्छ । ग्रासरुट लेभलदेखि नै एउटा होलिस्टिक एप्रोच ल्याउनुपर्छ भन्ने लाग्छ ।’
हेर्नुहोस्, भिडियो : (भिडियो– विश्वास खनाल/लोकान्तर)