१२ असार २०८३, शुक्रबार
प्रदेश सरकारको अर्को असफल आयोजना

११ करोडका ‘रिफ्रेस सेन्टर’को बेहाल– कतै शुरू नै भएन, कहीँ बन्दाबन्दै अलपत्र

भदौ ११, २०८१
बुटवल
११ करोडका ‘रिफ्रेस सेन्टर’को बेहाल– कतै शुरू नै भएन, कहीँ बन्दाबन्दै अलपत्र

दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रुलाई सहज विश्राम केन्द्रको रूपमा विकास गर्ने गरी लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा बनाउन थालेका ‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र परेका छन् ।

कतै जग्गा अभावले बन्न सकेनन् भने कतै निर्माण अघि बढे पनि पूरा हुन सकेका छैनन् । 

पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको कर्णाली पुलदेखि पश्चिम नवलपरासीको बर्दघाटसम्म डेढ/दुई घण्टाको यात्रा दूरीमा ५ वटा रिफ्रेस सेन्टर निर्माणको अवधारणा अघि बढेको थियो । 

११ करोड रूपैयाँ लागतमा रूपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र पश्चिम नवलपरासीको बर्दघाट तथा बर्दियामा प्रदेश सरकारले ‘रिफ्रेस सेन्टर’ बनाउने योजना अघि बढाएको थियो ।

null

दुई वर्षभित्र सक्ने गरी निर्माण अघि बढेका अत्याधुनिक रिफ्रेस सेन्टर बजेट अभाव, स्थानीयको अवरोध र सञ्चालनको कार्यविधि नबन्दा अलपत्र छन् । एमाले महासचिव तथा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले लामो दुरीका चालक थाकेर हुनसक्ने सम्भावित दुर्घटना, चालक र यात्रुलाई आरामसहितको खाना/नास्ता र गुणस्तरीय सेवा दिने भनेर रिफ्रेस सेन्टर निर्माणको अवधारणा ल्याएका थिए ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लामो दूरीका यात्रुबाहक गाडी यही सडक भएर ओहोरदोहोर गर्छन् । लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव गुणनिधि पोख्रेलले बर्दिया र दाङको रिफ्रेस सेन्टर अब नबन्ने अवस्थामा पुगेको बताए । 

‘बर्दियामा जग्गा नै पाउन सकिएन,’ पोखरेल लोकान्तरसँग भन्छन्, ‘दाङको लमहीमा जग्गा पाएर टेन्डर भएपछि पनि वनले निर्माण प्रक्रियामा अवरोध गरेपछि त्यो नबन्ने भयो । चन्द्रौटा, सैनामैना र बर्दघाटमा बनेका छन् । तिनीहरूको सञ्चालनको मोडालिटी बनाउने प्रक्रियामा हामी छौं ।’ 

null

निर्माण सकिएपछि सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिनेगरी कार्यविधि बनाउने सोचमा प्रदेश सरकार रहेको छ । सरकारले शहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गत राखेर रिफ्रेस सेन्टर निर्माण अघि बढाएको थियो । 

रिफ्रेस सेन्टरमा चार्जिङ सेन्टरदेखि त्यहाँ झरेका यात्रु र चालकलाई शौचालय, स्नानगृह तथा खाजानास्ता लगायत ताजापन दिनाउने वस्तुहरू उपलब्ध गराउने अवधारणा रहेको सचिव पोख्रेलको भनाइ छ ।

सरकारले सेन्टर बनाउन पहिलो चरणका लागि ४ करोड २ लाख ६७ हजार ६६१ रूपैयाँको ठेक्का अगाडि बढाएको थियो । त्यसमा ३ करोड ५५ लाख ६५ हजार रूपैयाँ भुक्तानी भइसकेको छ । 

null

लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वस्थ्यकर खाना नास्ता र केही समय आराम गर्ने स्थान नहुँदा अहिले समस्या छ । केही बन्न नसके पनि बनिरहेका रिफ्रेस सेन्टरबाट यात्रुलाई लाभ दिलाउने मन्त्रालयका सूचना अधिकारी खगेश्वर घिमिरेले लोकान्तरलाई बताए ।

विदेशमा स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा रहे पनि नेपालमा यो पहिलो अभ्यास हो । बनिरहेका सेन्टर आधुनिक सुविधायुक्त हुने सूचना अधिकारी घिमिरेको भनाइ छ । 

‘रिफ्रेस सेन्टरले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुर्‍याउने हाम्रो अपेक्षा हो । राजमार्गमा लगातार गाडी चलाउँदा हुन सक्ने दुर्घटना न्यूनीकरण र यात्रुको सहजताका लागि बनाइएका हुन् । ती सबै एकदेखि २ घण्टाको दुरीमा बन्न लागेका हुन्,’ घिमिरेले भने । 

पोखरेल सरकार ढलेपछि मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रका कूलप्रसाद केसीले योजनाको बजेट कटौती गरे । त्यसपछि छोटो–छोटो अवधिमा बनेका सरकारको चासोमा यो आयोजना परेन ।

रूपन्देहीको सैनामैनास्थित रिफ्रेस सेन्टरको पहिलो चरणको भौतिक निर्माण सकिएको छ । कपिलवस्तुको चन्द्रौटाको झन्डै ७५ र बर्दघाटको ५० प्रतिशत निर्माण सकिएको मन्त्रालयको भनाइ छ ।

सैनामैना र बर्दघाटमा रिफ्रेस सेन्टरको भौतिक निर्माण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रूपन्देहीले गरिरहेको छ ।

null

पहिलो चरणमा ३ करोड ५५ लाख ७९ हजार ठेक्कामा वि.सं. २०७७ मंसिर १२ मा सैनमैनाको पिपलडाँडामा काम शुरू भएको थियो ।

दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेसन, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वाशिङ, चालक रूमलगायत काम बाँकी नै छन । सरकारले बजेट उपलब्ध नगराएपछि दोस्रो चरणको निर्माणसहित सञ्चालनको जिम्मा अब स्थानीय सरकारलाई दिनेगरी तयारी भइरहेको छ । 

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर–४ स्थित पूर्वपश्चिम राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन परिसरभित्र वि.सं. २०७७ चैतमा सम्झौता भएर ३ करोड १८ लाख २६ हजार ६१९ रूपैयाँमा निर्माण थालिएको थियो । सम्झौताअनुसार २०७९ असोज ११ मा पहिलो चरणको निर्माण सक्नुपर्ने भएपनि ठेकेदारले विभिन्न कारण देखाउँदै समयमै काम सकेन । 

null

चन्द्रौटास्थित रिफ्रेस सेन्टरमा पहिलो चरणको ठेक्काअनुसार निर्माणका धेरै काम सकिए पनि लाइट फिटिङलगायतका काम बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रूपन्देहीका प्रमुख दिनेशप्रसाद शाहले जानकारी दिए । 

दोस्रो चरणका लागि बजेट नआएपछि काम अलपत्र छ । चन्द्रौटाका लागि ४ करोड २ लाख ६७ हजार ६६१ रूपैयाँको ठेक्कामा ३ करोड ५५ लाख ६५ हजार रूपैयाँ भुक्तानी भइसकेको छ । 

शाहले सञ्चालन र रेखदेखका लागि शिवराज नगरपालिकासँग सम्झौता गरेर हस्तान्तरण गर्ने प्रक्रियामा रहेको बताए । ‘पहिलो चरणको काम हामीले सकेका छौं,’ शाह भन्छन्, ‘लामो दूरीका गाडीले यसबाट प्रत्यक्ष लाभ लिनुपर्छ । पालिका सरकारसँग ठेक्का सम्झौता गरेर हस्तान्तरण गर्ने तयारीमा छौं ।’

salt training

कमेन्ट गर्नुहोस्