![द्वन्द्व पत्रकारिकतासम्बन्धी पुस्तक विमोचन गर्दै देउवाले भने– विगतका अनुभवसहित मुलुक अघि बढिरहेको छ [तस्वीर र भिडियो]](https://lktcdn2.prixacdn.net/media/pustak_8n4kfdxg5Z.jpg)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वका क्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गरेका छन् । पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताए । ‘सबै नेपालीको मर्म र भावना अटाउने संविधानलाई समयसापेक्ष तुल्याउँदै जानुपर्छ । हामी सबै मिलेर डर–त्रास र भयबाट मुक्त समाज बनाउने कार्य गरौँ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ,’ उनले भने ।
एउटा सभ्य समाजका लागि लोकतन्त्र र मानवअधिकार सबैभन्दा ठूलो विषय रहेको बताउँदै देउवाले वर्तमान संविधान समावेशी भएकाले सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको धारणा राखे । ‘विगतमा ठूलो द्वन्द्व थियो, धेरै लडाइँ भयो । कसैले जित्ने र हार्ने विषय थिएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो । अब यसलाई दिगो व्यवस्थापन गर्दै उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता छ,’ उनले थपे ।
सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउँदै देउवाले विगतका अनुभवसहित मुलुक विकासमा अघि बढिरहेको विचार व्यक्त गरे ।

नेकपा (एमाले)का सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताए । ‘सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा चिताउँदै नचिताएका घटना भए, त्यो समय म पार्टीको सेती महाकाली इन्चार्जको जिम्मेवारीमा थिए, अझै पनि त्यस्ता घटनाका पीडितको अवस्था देख्दा मन दुख्छ,’ उनले भने ।

युद्धका क्रममा दोहोरो भिडन्तमा क्षति भए पनि व्यक्ति हत्या हुनुहुन्न भन्नेमा आफूहरू सचेत रहेको उनले दाबी गरे । सुदूरपश्चिममा त्यस्ता अप्रिय घटना नभएका स्मरण गर्दै सचिव भट्टले सुदूरपश्चिममा आफ्नै खाले राजनीतिक अभ्यासको इतिहास भएको बताए ।

कार्यक्रममा कांग्रेसका युवा नेता नैनसिंह महरले द्वन्द्वका समयमा निर्भीक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा राखे । ‘त्यसबेला आशा र कल्पना गरेको शान्तिको रुपान्तरण अझै हुन सकेको छैन, नेपालको द्वन्द्व अध्ययन गर्नेका लागि पुस्तक महत्वपूर्ण दस्तावेज साबित हुनेछ,’ उनले भने ।

पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालको शान्तिप्रक्रियालाई मौलिक रुपमा टुङ्ग्याउन पत्रकारिता क्षेत्रको पनि ठूलो योगदान रहेको बताए ।

‘पत्रकारिता हरेक घटनाको साक्षी हो तर राज्य अहिले पनि यो विधाप्रति अनुदार छ । सरकार र संसद्को प्राथमिकताको ‘एजेन्डा’मा पत्रकारिता क्षेत्र परेको देखिन्न । त्यसैले कतिपय महत्वपूर्ण कानुनसमेत बनेका छैनन्,’ उनले थपे ।

त्यस अवसरमा वरिष्ठ पत्रकारहरू कुन्द दीक्षित, बबिता बस्नेत, लेखक उपाध्यायले माओवादी सशस्त्र द्वन्द्वका समयमा पत्रकारका भोगाइ, क्रूरता, पीडा, यातना र अवस्थाको वर्णन गरिएको पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमूना रहेको बताएका थिए ।

मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको उनीहरूको भनाइ छ ।

सङ्गम बुक्स पब्लिकेसन प्रालि प्रकाशक रहेको १५४ पृष्ठका उक्त पुस्तकमा बिथोलिएको माओवादी आमसभा, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दाेष मारिएका दुई घटना, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमणलगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी घटना समेटिएका छन् ।
हेरौं भिडियो सामग्रीः